बजाजका १३ वटा मोटरसाइकलको मूल्य रु. ७ देखि ३२ हजारसम्म बढ्यो, कुन मोडलको कति ?



काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एचएच नेपालले मोटरसाइकलहरूको नयाँ मूल्य तोकेको छ । लामो समयको लकडाउनपछि कम्पनीले साउनदेखि पूर्णरुपमा व्यवसाय सञ्चालनमा ल्याएको थियो । व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएसँगै व्यापार उल्लेखनीय भएको कम्पनीले जनाएको छ ।

लामो समयको लकडाउनको अवधिले उत्पादन तथा आयातमा निकै समस्या हुँदा उक्त समयमा मोटरसाइकल अभाव हुन थालेको थियो । कम्पनीले लकडाउनपछि अफरसहित सञ्चालनमा ल्याएको व्यवसायले उल्लेखनीय व्यापार गरेसँगै पहिलो चरणमा कम्पनीले करिब १० हजारसम्म मूल्य बढाएको थियो ।

साथै, कम्पनीले साउनपछि हालसम्म आइपुग्दा दुई पटकसम्म मूल्य बढाएको छ । त्यससँगै दोस्रो चरणमा हालै पनि कम्पनीले आयात गरेको नयाँ सामग्री तथा सवारी साधनमा मूल्य बढाएको कम्पनीको प्रबन्धक पुनम सिंहले जानकारी दिइन् ।

होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य १ हजारदेखि २ लाख ६५ हजारसम्म बढ्यो, कुन मोडलको कति पर्छ ?

उनका अनुसार दोस्रो चरणमा कम्पनीले न्यूनतम ३ हजार अधिकतम ७ हजारसम्म मूल्य वृद्धि भएको बताइन् । तर, कम्पनीले साउनयता दुई चरणमा मूल्य बढाउँदा न्यूनतम ७ हजारदेखि ३२ हजारसम्म मूल्य बढाएको छ ।

कम्पनीले साउनदेखि हालसम्ममा प्लाटिनो १०० इस मोटरसाइकलमा १२ हजार रुपैयाँ मूल्य बढेर १ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ । त्यस्तै, पल्सर १२५ सीसीकोमा ९ हजार मूल्य बढेर २ लाख ३३ हजार ९०० रुपैयाँ, पल्सर १५० सीसीमा ८ हजार मूल्य बढेर २ लाख ६५ हजार ९०० रुपैयाँ, पल्सर १५० टीडिमा ७ हजार बढेर २ लाख ७५ हजार ९०० रुपैयाँ तोकेको छ ।

टिभिएसको मोटरसाइकल किन्दै हुनुहुन्छ, मूल्य बढेपछि कुन मोडललाई कति पर्छ ? (सूचीसहित)

सातै पल्सर १६० एनएस डीडीमा १० हजार मूल्य बढेर २ लाख ९९ हजार ९००, पल्सर २०० एनएस एबीएसमा ११ हजार मूल्य बढेर ३ लाख ४७ हजार ९०० रुपैयाँ, पल्सर २०० एनएस एफआई एबीएसमा ११ हजार बढेर ३ लाख ६७ हजार ९०० रुपैयाँ र पल्सर २२० एफ एबीएसमा १२ हजार मूल्य बढेर ३ लाख ४४ हजार ९०० रुपैयाँ मूल्य रहेको छ ।

त्यस्तै, बजाज कम्पनीको डिस्कभर १२५ ड्रममा ८ हजार मूल्य बढेर १ लाख ९७ हजार ९०० रुपैयाँ, डिस्कभर १२५ एसटीमा ९ हजार मूल्य बढेर २ लाख १५ हजार ९०० र डिस्कभर १२५ डिस्कमा १० हजार मूल्य बढेर ३ लाख ५१ हजार ९०० रुपैयाँ मूल्य रहेको छ । साथै, बजाजकै डोमिनार ४०० एबीएसमा ३२ हजार मूल्य बढेर ५ लाख ६१ हजार ९०० रुपैयाँ मूल्य पुगेको छ ।


क्लिकमान्डु