होन्डाका मोटरसाइकल र स्कुटरको मूल्य १ हजारदेखि २ लाख ६५ हजारसम्म बढ्यो, कुन मोडलको कति पर्छ ?



काठमाडौं । नेपाली बजारमा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) को मूल्य बढेको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण उत्पादनमा कमी आएको र नयाँ उत्पादनको लागत बढेकाले मोटरसाइकल र स्कुटरको मूल्य बढेको हो ।

कोरोना भाइरस महामारीको संक्रमणको जोखिम बढेसँगै निजी सवारी साधन किन्ने मानिसको संख्या बढ्दो छ । लामो समयको बन्दाबन्दीले बजारमा मोटरसाइकल तथा स्कटुटरको व्यापार नहुने अनुमान गरेको थियो । तर, बजार खुला हुने वित्तिकै दुई पाङ्ग्रे सवारी साधनको व्यापार उल्लेखनीय भएको व्यापारीहरू बताउँछन् ।

त्यस्तै, नेपालमा अत्यधिक बिक्री हुने मोटरसाइकल तथा स्कुटरको ब्राण्ड हो होन्डा । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले नेपाली बजारमा सबैभन्दा बढी प्रकारका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ । साथै, होन्डाको क्रेज पनि धेरै नै रहेको छ ।

तर, पछिल्लो समय होन्डाको दुई पाङ्ग्रे सवारी साधनको मूल्य बढाएको छ । लामो समयको बन्दाबन्दीले साउनयता चलायमान हुन थालेको व्यवसायले राम्रै व्यापार गर्न सफल भएको थियो । साथै, दशैं तिहारमा अफर सार्वजनिक भएसँगै अपेक्षाभन्दा बढी व्यापार गर्न सफल भएको कम्पनीले जनाएको थियो ।

कम्पनीले साउन यता ९ वटा मोडलका सवारी साधनमा मूल्य बढाएको छैन् भने अन्य १४ वटा मोडलको मूल्य बढाएको छ ।

कम्पनीले १ हजारदेखि अधिकतम ४ हजारसम्म मूल्य बढाएको छ भने चीनबाट आयातित मोटरसाइकलमा १० हजार मूल्य बढाएको छ । त्यसैगरी थाइल्यान्डबाट आयात भएको मोटरसाइकलमा भने २ लाख ६५ हजारसम्म मूल्य बढाएको छ ।

होन्डाको एभिएटर एलइडी ११० स्कुटरको मूल्य १ हजार रुपैयाँले बढेर २ लाख १५ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी सीडी ड्रिम डीएलएक्स ११० को मूल्य ४ हजारले बढेर १ लाख ८८ हजार ९ सय रुपैयाँ, एक्टिभा एसटीडी १२५ को मूल्य ४ हजार रुपैयाँले बढेर २ लाख १८ हजार ९ सय रुपैयाँ, एक्टिभा डीएलएक्स १२५ को मूल्इ ४ हजार रुपैयाँले बढेर २ लाख ३१ हजार ९ सय रुपैयाँ पुगेको छ । त्यसैगरी ग्राजिया एसटीडी १२५ को मूल्य २ हजार रुपैयाँले बढेर २ लाख २१ हजार ९ सय रुपैयाँ र ग्राजिया डीएलएक्स १२५ को मूल्य २ हजारले बढेर २ लाख ४१ हजार ९ सय रुपैयाँ पुगेको छ ।

होन्डाको मोटरसाइकलतर्फ सीबी साइन डीएसएस १२५ को मूल्य ४ हजारले बढेर २ लाख २३ हजार ९ सय, सीबी साइन एसपी डीएसएस १२५ को मूल्य ३ हजारले बढेर २ लाख ४२ हजार ९ सय रुपैयाँ पुगेको छ भने सीबी युनिकर्न १५० को मूल्इ २ हजारले बढेर २ लाख ६३ हजार ९ सय रुपैयाँ र सीबी होर्नेट १६० ५ आइडी एलइडीको मूल्य ४ हजार रुपैयाँले बढेर ३ लाख १० हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी एक्स ब्लेड एसटीडी १६० को मूल्य ४ हजारले बढेर २ लाख ९८ हजार ९ सय रुपैयाँ, एक्सआर १५० एलको मूल्य १५ हजार रुपैयाँले बढेर ५ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ भने एक्स १९० एलएच १९० को मूल्इ १५ हजार रुपैयाँले बढेर ६ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ । साथै सीआरएफ २५० आरएलएएच इडी रेली २५० को मूल्य २ लाख ६५ हजार रुपैयाँले बढेर १५ लाख ९० हजार ९ सय रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु