जब भर्ना भएका संक्रमित सपिङ गर्न र होटलमा खाना खान जान्थे, वीर अस्पताल बसाइबारे ब्लग
चार दिनसम्म लगातार ज्वरो, रुघाखोकी र गन्ध थाहा नपाउने लगायतका लक्षण देखिएपछि म ललितपुरको कुपण्डोलमा रहेको ‘विध ल्याव’मा दोस्रो पटक कोरोना परीक्षण गराउन गएको थिएँ ।
यसबारेमा घरमा कसैलाई भनेको थिइन । तर लक्षण देखिएको पहिलो दिनदेखि नै आफ्नो कोठामा ‘सेल्फ आइसोलेटेड’ भएको थिएँ ताकी अरुलाई संक्रमण नहोस् ।
मंगलबार कोठामा बसेर एक्लै खाना खाँदै गर्दा मोबाइलमा म्यासेज आयो । कम्प्युटर खोलेर लगइन गरेर हेरे । नतिजा ‘पोजिटिभ’ थियो ।
अपेक्षाभन्दा विपरीतको नतिजा पत्याउन मलाई गाह्रो भयो । त्यसैले मनलाई सान्त्वना दिँदै ‘रिचेक’ गरेँ । तर जति पटक चेक गरे पनि पोजिटिभ रिपोर्ट नेगेटिभ हुने वाला थिएन ।
पोजिटिभ रिजल्ट, त्यसमाथि सबै खाले लक्षण पनि भएकाले घरमा बस्ने अवस्था रहेन । होटल, अस्पताल कता मिल्छ खोज्न थाले ।
यसैक्रममा वीर अस्पतालमा डा. अच्युत कार्कीलाई फोन गरेर सबै लक्षणबारे जानकारी गराएँ । त्यसपछि उहाँले बोलाउनु भयो । र, असोज १३ गते मंगलबार राति ९ बजेतिर वीर अस्पतालको बेड नम्बर ३ मा भर्ना भएँ । र, लक्षण अझै बढ्यो र जोखिम भए पनि अस्पतालमा भर्ना हुन पाएँ भन्ने तर्कले ढुक्क भएँ ।
म भर्ना भइसक्दा पनि ५/७ वटा बेड अझै खाली थिए । तर त्यसपछिका दिनमा संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अपुग हुन थाल्यो र हाम्रो वार्डसँगै रहेको एचडीयूका ८ वटा बेडमा पनि संक्रमितहरु राख्न थालियो ।
यस ब्लगमा आफ्नो दैनिकी लेख्दिन । त्यसमाथि अरुको दैनिकी कसैलाई रुचिकर हुने कुरा पनि भएन । त्यसैले यस ब्लगमा अस्पताल बसाइको अनुभवसँगै राम्रा र नराम्रा दुबै पक्ष जस्ताको त्यस्तै उतार्ने प्रयास गर्नेछु ।
सबैभन्दा पहिले राम्रो पक्षबाटै शुरुवात गरौं ।
अलिकति स्वार्थी भएँ हुँला तर मैले अस्पतालमा सहजै भर्ना पाएँ । घरमा बसेर जोखिम बढाउनबाट बचेँ । यसअर्थमा मेरा लागि राम्रो भयो । यो मेरा लागि सकारात्मक पक्ष नै थियो । म जस्ता संक्रमित जाे अस्पतालको आइसोलेसनमा बस्न पाएका छन् ती सबै भाग्यमानी भए । जुन सकारात्मक पक्ष भयो ।
आफ्नै घर भए पनि आइसोलेसनमा बस्नका लागि कोठा छैन ।
तल्लो तलामा बस्ने परिवारलाई पनि जोखिम बढाउने कुरा भएन । माथिल्लो तलामा २ जना साना छोरीहरु, गत जेठमा मम्मीको अप्रेसन भएको र भाउजु पनि बिरामी नै भएपछि घरमै बसेर सबैलाई जोखिममा पार्न भएन ।
वीर अस्पतालमा अर्को राम्रो पक्ष भनेको समयमा खाना खान पाइन्छ । बिहान ७ बजे दुध र बिस्कुट, १० बजे दाल, भात, तरकारी र मासु । दिउँसो २ बजे दुध, अन्डा र चना अनि साँझ ६ बजे दाल, भात र तरकारी पाइन्छ ।
त्यसबाहेक यी चारवटै समयमा सिटामोल, जीवन जल, कफ सिरफ, भिटामिन डी, सी र बी कम्प्लेक्सका चक्कीलगायतका औषधि पनि नियमितरुपमा नर्सहरुले ल्याइदिनु हुन्छ । बिरामीका लागि अक्सिजनको पाइप सबैको बेड नजिकै छ । त्यसबाहेक अन्य रोग हुनेका लागि थप औषधिको पनि सुविधा छ ।
यस्तो जोखिम अवस्थामा पनि उपचारमा दिनरात नभनी खटिनु हुने सफाई कर्मचारीहरु, खाना पकाएर नियमित रुपमा खाना दिने सबै दाई तथा दिदीहरुलाई हार्दिक धन्यवाद । र, उत्तिकै जोखिम लिएर सेवा गर्ने नर्स, डाक्टर र अस्पताल प्रशासनलाई धेरै धेरै धन्यवाद।
यी त भए राम्रा कुरा । अब केही आलोचनासहित, अस्पतालका कमी कमजोरीलाई आफ्नो अनुभव समेतलाई जोडेर उल्लेख गर्छु । त्यो पनि सजिलो भाषामा ।
१) कोरोना संक्रमितको कुरुवा
कोरोना संक्रमित भइसकेपछि आइसोलेसनमा राख्नु भनेको अन्यको पहुँचबाट टाढा राख्नु हो । तर वीर अस्पतालमा संक्रमितसँगै मज्जाले कुरुवा बस्न पाइन्छ । त्यो पनि ३/४ जनासम्म बसेको आफैले भोगियो । कुरुवा नबस, हामी उपचार गरिहाल्छौं भन्ने र कुरुवा बस्न रोकतोक गर्ने कोही छैनन् । यसबारेमा मैले अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीलाई पनि जानकारी गराएको थिएँ । तर सुधार भने भएको छैन । आशा छ आगामी दिनमा त्यो पनि धेरै हदसम्म सुधार हुनेछ ।
२) आवतजावत
आइसोलेसनको वार्डमा भएका एकाध बिरामीहरु सामान किन्नका लागि महाबौद्य, न्यूरोड, असनसम्म पुग्थे । शरीर अलिकति तंग्रिएपछि अस्पतालको खाना मीठो हुने कुरा भएन । बिहान, साँझ होटलमै पुगेर खान्थे । फर्किएर अस्पतालको बेडमा सुत्थे । उनीहरुलाई रोक्ने कोही थिएन् ।
कतिसम्म भने किड्नी खराब भएर डायलिसिस गर्न आएको कोरोना संक्रमित बिरामी अस्पताल बाहिर गएर चुरोट खाँदा, अस्पतालको आइसोलेसन वार्डको कुनापट्टीको झ्यालबाट बाहिर हेर्दै चुरोट खाँदा समेत कसैलाई जानकारी छैन । वास्ता पनि छैन । कसैले कुनै पनि प्रकारको निगरानी, अनुगमन नगरेपछि, आवतजावतमा रोक नलगाएपछि को आयो, को गयो भन्ने रेकर्ड नै नराखेपछि यो हुनु स्वभाविक नै थियो ।
मेरो अस्पताल बसाइको अन्तिम तिर एकजना भाइ संक्रमित भइ अस्पतालको बेड भर्ना भएका थिए । उनको आमा ढोकाबाट भित्र एकपटक पनि पस्नु भएन । तर छोरा भोलिपल्ट दिउँसो साथी बोलाएर बजार घुम्न हिँडेछ । साँझपख आयो । खाना ल्याएर मैले टेबुलमा राखिदिएको थिए । तर उसले त साथीको घरमा गएर खाना खाइवरी आएको रहेछ । एकलट त झनक्क रिस उठ्यो तर के गर्नु सम्झाएर लाग्ने भए पो । अर्को दिन पनि त्यो भाई साथीसँग खोइ कता हिँड्यो दिनभरी गायब भयो ।
३) उपचार पाउन समस्या
यो वीर अस्पतालको मात्रै समस्या होइन भन्ने लाग्छ । हामी हरेक दिन कोरोना संक्रमित भइ मृत्यु भन्ने समाचार पढ्छौं । हरेक दिन बढ्ने संख्या गन्दै चिन्ताजनक भावमा समवेदना प्रकट गर्छौ । तर बिरामीले उपचार पायो कि पाएनन भन्नेतर्फ सोच्दैनौं । एकपटक त्यता पनि सोच्ने कि ।
उदाहरण हेरौं ।
मेरो बेडको दायाँपट्टीको बेडमा एकजना किड्नी खराबी भएपछि सातामा ३ पटकसम्म डायलिसिस गर्नुपर्ने बिरामी थिइन । लकडाउनका कारण डायलिसिस नियमित हुन सकेन ।
अन्य अस्पतालमा पीसीआर रिपोर्ट नेगेटिभ नआउँदासम्म छुनै नमानेपछि उनी वीर अस्पतालमा पीसीआर परीक्षण गर्दा पोजिटिभ आएपछि आइसोलेसन वार्डमा भर्ना भएकि थिइन् ।
उनको समस्या कोरोनाभन्दा बढी समयमै डायलिसिसको उपचार नियमितरुपमा समयमै नपाउनु थियो । रिपोर्ट आउँदासम्म ४/५ वटा डायलिसिस ‘मिस’ भइसकेको थियो । अस्पतालमा भर्ना भएको दोस्रो दिन डायलिसिस भयो । डायलिसिस भएको केही घण्टामै ज्यान गुमाउनु पर्यो ।
अस्पताल भर्ना भएको दोस्रो दिन, लक्षणहरु अझै बाँकी थिए । त्यसमाथि आँखै अगाडि बिरामीले श्वास फेर्न छाडेको देख्दा त्यो बेला मनमा के भयो होला भन्ने अहिले व्याख्या गर्न सदिक्न ।
यस प्रकारको घटना सबै बिरामीको हकमा उस्तै रहेछ । कोरोना संक्रमित भएपछि अर्को रोगको उपचार पाउन साह्रो गाह्रो । रोककराइ गर्दा पनि नपाइने ।
उनको मृत्यु भएको तेस्रो दिन ७ नम्बर बेडमा ७७ वर्षे आमा हुनुहुन्थ्यो । आमाको कुरुवा उहाँका छोरा हुनुहुन्थ्यो । हिजोसम्म ठमठम हिँडेर ट्वाइलेट जाने, थोरै भए पनि आफै खाना खाने उहाँ एक्कासी गम्भीररुपमा बिरामी हुनु भयो । ट्वाइलेट जान बेडबाट उठ्ने वित्तिकै भुँइमा लड्नु भयो । वान्ता पनि गर्नु भयो ।
हामी सबै जना नर्स र डाक्टर बोलाउन गयौं । एक घण्टासम्म पनि डाक्टर नआएपछि ५/७ जना गएर करायौं । नर्स आएर अक्सिजन दिनु भयो । त्यसपछि डाक्टर आएर उपचार गर्नु भयो । स्लाइन चढाएर जानु भयो । भोलिपल्टसम्म आमाको स्वास्थ्यमा सुधार हुँदै गयो । यदी समयमै डाक्टर नआएको भए, समयमै उपचार नगरेको भए के हुन्थ्यो भन्ने त यो ब्लगमा यसअघि नै लेखिसकेको छु ।
४) आईसीयू र भेन्टिलेटर
यो वीर अस्पतालको मात्रै होइन अहिले देशभरीका अस्पतालमा समस्या हो । त्यसलाई स्वीकार गर्नैपर्छ । यसमा कोरोना संक्रमण शुरु भएपछि कति आईसीयू र भेन्टिलेटर थपिए भन्ने अर्को पाटो भयो । संक्रमितले आईसीयूमा उपचार नपाएपछि अर्को रोग अझ बल्झिँदै जान्छ र उपचारको अभावमा ज्यान जान्छ । एकजना किड्नीकै बिरामी बुबालाई अस्पताल भर्ना भएकै दिन आईसीयूको जरुरी थियो । अक्सिजन लगाएर केही दिन आइसोलेसन बेडमै राखियो । पछि खोइ कुन मन्त्रालयमा हो भनसुन गरेर अथक प्रयासपछि आईसीयूमा बेड पाउनु भएछ । केही दिन आईसीयूमा उपचार गराएर फेरि वार्डमै फर्किएपछि उहाँका कुरुवा पत्नी र छोरीसँग सोधेपछि मैले थाहा पाएको थिए । मन्त्रालयमा भनसुन नगरेको भए त कसरी पाइन्थ्यो होला र दाइ भन्दै ती बहिनीले मलाई भनेकि थिइन ।
५) भर्ना भएको बिरामी झोला राखेर घर गएपछि
अस्पतालमा एकदिन साँझपख एकजना कोरोना संक्रमित भर्ना भए । उनी पनि किड्नी खराब भएपछि नियमितरुपमा डायलिसिस गर्नुपर्ने रहेछ । अस्पतालको फिमेल सर्जिकल वार्ड जो अहिले आइसोलेसन वार्ड भएको छ त्यसमा भएको बेड नम्बर १९ मा भर्ना भएका थिए । उनीसँगै आएका एकजना साथीले ‘बेड सिट’ मागेर ल्याए, बेड पनि मिलाए । आफूले ल्याएको ब्याग बेडमाथि गाडीमा सिट बुक गर्दा रुमाल राखे रिजर्भ गरे जस्तै गरेर बाहिर निस्किएँ ।
भोलिपल्ट दिउँसोसम्म पनि उनी नआएपछि ब्यागलाई छेवैमा मिल्काइयो । बेड सिट फेरेर अर्को संक्रमित त्यही बेडमा भर्ना भए । उनी भगुवाको लिस्टमा परे । ती संक्रमित साँझपख आएँ । बेड अर्कै संक्रमितले कब्जा गरिसकेको थियो । उनी पल्लो पट्टीको खाली भएको ३५ नम्बरको बेडमा गएर सुते ।
खासमा उनी अस्पतालमा के बस्नु भनेर घर गएर सुतेका रहेछन् । उनी अस्पतालमा फर्किएर आएपछि एकपटक डायलिसिस गरे अनि म यहाँ बस्न सक्दिन भनेर घरै फर्किए ।
६) शव व्यवस्थापन
कोरोना संक्रमितको मृत्यु भइसकेपछि शव व्यवस्थापन गर्न अलिक समस्या रहेछ । म संक्रमणमुक्त भएपछि निर्देशक केदार सेञ्चुरीलाई भेटेर यसबारेमा जानकारी गराएको थियो । म आफैले र अर्को साथीले कसरी शव व्यवस्थापन गर्यौ भन्ने पनि जानकारी गराएँ, यी माथि उल्लेख गरिएका सबै कुराको पनि बेलिविस्तार लगाएँ । बिस्तृतरुपमा ब्लग पनि लेखिसकेको छु ।
७) डाक्टर आउन समस्या
उपचार नपाएर बिरामीको मृत्यु भएपछि एकदिन आन्दोलन भयो । २४ घण्टामा कम्तीमा सके २ पटक नत्र एक पटक भए पनि डाक्टर आउनु पर्ने माग राखेर राति ११ बजेसम्म झगडा गरे । आक्रोशित बिरामी र कुरुवा शान्त भएपछि राति डाक्टर आउनु भयो ।
उहाँ आफै विद्यार्थी पनि भएको र एक्लैले ८० जना बिरामी हेर्नुपर्ने भएकाले भनेको समयमा र हरेक दिन बिरामी हेर्न आउन नपाएको उहाँले तर्क गर्नु भयो । साथै अर्को एकजना डाक्टर अस्पताल नै नआउने भएकाले सबै जिम्मेवारी आफूले मात्रै भोग्नु परेको बताउनु भयो । तर अबका दिनमा सकेसम्म बिरामीलाई हेर्न दिनमा एकपटक भए पनि आउने बाचा पनि गर्नु भयो । ताकी दिउँसो उपचार नपाएर मरेको बिरामीको नियती अर्को बिरामीले भोग्नु नपरोस । यस्तो अवस्थामा पनि हरेक दिन खटेर संक्रमितको सेवा गर्ने उहाँलाई हृदयदेखि नमक प्रकट गर्दछु ।
८) नियमित सरसफाई र सेनिटाइजेसन
आइसोलेसन वार्डमा काम गर्नका लागि सबैलाई गाह्रो हुन्छ । पीपीई लगाएर आफूलाई जोखिममा राख्दै उपचार गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । अझ सबैभन्दा बढी त सफाइ गर्ने कर्मचारीहरुले जे जति काम गर्नु भयो उहाँहरुलाई विशेषरुपमा हार्दिक धन्यवाद दिन चाहन्छु । यसैमा जोड्छु, तर कहिलेकाँही समयमै फोहोर नउठ्दा हुने समस्या पनि समाधान भयो भने र सेनिटाइजेसन नियमितरुपमा भयो भने राम्रो हुन्छ । त्यसैले उहाँहरुका केही कमी कमजोरीहरुलाई आलोचना गर्न उचित ठानिन । र, गर्दिन पनि ।
९) संक्रमितले नै संक्रमितको उपचार
मानवीय दृष्टिले पनि यो राम्रो काम हो । एकजना भाइको कुरा यहाँ उल्लेख गर्नैपर्छ । आफै संक्रमित भए पनि सबैभन्दा वार्डमा रहेको ४४ वटा बेडमा रहेका सबै सबैभन्दा बढी सेवा गर्ने उनी एक्ला थिए । भर्ना हुन आउनेलाई बेडसम्म पुर्याइदिने, कहिलेकाँही औषधि दिने, प्रेसर र ज्वरो नापिदिने, डाक्टर र नर्सलाई फकाएर, गाली गरेर भए पनि बोलाइदिने र जुनबेला पनि सेवा गरिहाल्ने स्वभावले अस्पतालमा भर्ना हुने सबै बिरामीलाई केही पर्यो कि उनैलाई बोलाउन आइहाल्थे । बिरामीको उपचार गर्दागर्दै कोरोना संक्रमित भए पनि स्वास्थ्यकर्मी भएका नाताले एकजना नर्सले बिरामीलाई औषधि दिन, ब्लड तान्न पनि सहयोग गरिन् । यसलाई पनि राम्रो पक्ष मान्नुपर्छ । यसले हतार हतारमा पीपीई लगाएर संक्रमितको उपचार गर्न आउनका लागि नर्स आउनु पर्ने बाध्यता पनि कम भएको थियो ।
१०) समयमै रिपोर्ट आइदिए हुन्थ्यो
संक्रमित भर्ना भएको वा पहिलो पटक स्वाव लिएर पोजिटिभ देखिएको १४ दिनमपछि वीर अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाव लिइन्छ । लक्षण कम भएर निको हुँदै गरेका बिरामीको हकमा १४ दिनपछि रिपोर्ट पोजिटिभ नै आए पनि होम आइसोलेसनमा जान पाइन्छ । धेरै जना त्यसरी पनि घर फर्किएका थिए । जसका कारणले अस्पतालमा बेड खाली पनि हुने भयो ।
अस्पतालमा भर्ना भएका बिरामीको रिपोर्ट प्राथमिकताका आधारमा भोलिपल्टै आइदियो भने सहज हुन्छ । अन्य रोग भएका बिरामीले अर्को अस्पताल वा वार्डमा गएर उपचार पाउँछन् भने निको भइसकेका संक्रमितहरु डिस्चार्ज भएर घर जान पाउँछ । अस्पतालमा बेड खाली हुन्छ ।
मैले स्वाव दिएको ४ दिनमा रिपोर्ट आएको थियो । राति ११ बजे रिपोर्ट आए पनि मलाई डिस्चार्ज हुनका लागि अर्को दिनको दिउँसो साढे ४ बजेसम्म कुर्नु पर्यो । मसँगै ८ जना डिस्चार्ज हुँदै थिए । जसमा केही लक्षण नभएका पोजिटिभ पनि थिए । अस्पतालमा हामी डिस्चार्ज भएपछि थप १४ वटा बेड खाली हुने थिए । जसमा अस्पतालको बेड कुरिरहेका संक्रमितले समयमै बेड पाउने थिए । आशा छ त्यो पनि अब सुधार होला ।
र, केही आफ्नै कुरा ।
लगातार ५ दिनपछि ज्वरो कम भयो । औषधिले छिट्टै काम गर्यो । फर्किएर आएन । तर घाँटी दुख्ने समस्या अस्पताल भर्ना भएको ९/१० दिनसम्मै चल्यो । श्वासप्रश्वासमा समस्या पनि देखियो । अलिकति हिँड्दा र फोनमा अलिक धेरै समय बोल्नु पर्दा श्वास फेर्न समस्या भएको अनुभव भयो । त्यतिञ्जेलसम्म गन्ध र स्वादको समस्या ज्यूँका त्यूँ थियो । हल्का पखला पनि लागेको थियो । केही दिन हल्का टाउको पनि दुख्यो । खोकी पनि एक साताभन्दा बढीसम्म नै चल्यो । अहिलेसम्म खोकीको अंश बाँकी नै छ ।
यसबीचमा भिटामिनका चक्की, सिटामोल र भेटे जतिका जडिबुटी, आयुर्वेदका औषधि र असाध्यै धेरै तातो पानी सेवन गरेर अन्ततः कोरोना ‘पोजेटिभ’ बाट नेगेटिभ बनाइयो ।
र, अन्त्यमा १७ दिन अस्पताल बस्दा सबै प्रकारका बिरामी र बिरामीपिच्छेका फरक-फरक लक्षणले कोरोना यही हो भन्न सकिएन । तर कोरोनासँगै अर्को रोग छ भने जोखिम असाध्यै हुने रहेछ । लक्षण सामान्य हुँदा पनि श्वासप्रश्वासमा समस्या धेरै बिरामीमा देखियो ।