जब म आफैंले वीर अस्पतालमा कोरोना संक्रमितको शव प्याक गरेँ…

कमलकुमार बस्नेत २०७७ असोज ३० गते १५:०१ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमित भई वीर अस्पतालमा भर्ना भएको १६ दिन पुगेको थियो ।

पछिल्लो ४ दिनयता मलाई कुनै पनि लक्षण थिएन । शरीरमा स्फुर्ति बढ्दै थियो । अझ भनौं मैले कोरोनालाई जितिरहेको थिएँ ।

पीसीआर परीक्षणका लागि स्वाव दिएको ३ दिन भइसकेको थियो । भोलिपल्ट रिपोर्ट पनि आउँदै थियो ।

जे जस्तो रिपोर्ट आएपनि अब होम आइसोलेसनमा जान्छु भनेर डाक्टर र नर्सलाई भनिसकेको थिएँ । मनस्थिति पनि त्यस्तै बनाएको थिएँ । त्यसैले भोलि घर जाने कुरा सोच्दै बसिरहेको थिएँ ।

यत्तिकैमा मभन्दा ठ्याक्कै विपरीतको बेडमा भएकी ४५ वर्षे कोरोना संक्रमितलाई अचानक श्वासप्रश्वासमा समस्या देखियो ।

त्यसपछि सबैतिर हल्ला भयो । बिरामी र बिरामीका कुरुवाहरु एकजुट हुँदा केही समय वार्ड गुञ्जियो । म बेडबाट जुरुक्क उठेँ ।

संक्रमितका छोरा (जो संक्रमित भई निको भइसकेका थिए) नर्स र डाक्टर बोलाउन गइसकेका थिए । लामो समयसम्म प्रयास गर्दा पनि कुनै पनि डाक्टर आएनन् ।

मैले अस्पतालका डाक्टर अच्यूत कार्कीलाई फोन गरेँ । उठेन । साथी नारायण पौडेलले अस्पतालका निर्देशक केदार सेञ्चुरीलाई म्यासेज गरे । त्यताबाट पनि केही रिप्लाइ आएन ।

त्यसपछि संक्रमितका छोरा सेञ्चुरीलाई भेट्न उनकै कक्षमा पुगे । त्यहाँबाट डाक्टर पठाइदिने आश्वासनमा फर्किए । यति धेरै प्रयास गर्दा पनि कुनै पनि डाक्टर आएनन् ।

संक्रमित कोरोना संक्रमितसँगै ट्युमरबाट पनि पीडित थिइन । उनी रौतहटबाट ट्युमरको उपचार गराउनका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा आएकी थिइन् । तर उपचारअघि नै कोरोना संक्रमण पुष्टि भएपनि उनी कोरोनाको आइसोलेसन वार्डमा भर्ना भएकी थिइन ।

असोज ३ गते भर्ना भएकी उनको स्वास्थ्य अवस्था त्ययता सामान्य थियो । नियमित जसो खाना खाइरहेकी थिइन । औषधि सेवन पनि गरिरहेकी थिइन् ।

तर मंगलबार दिउँसोदेखि अवस्था गम्भीर हुन थालिसकेको थियो । रातिदेखि नै डाक्टर बोलाउन थालिसकेका थिए । तर उनले उपचार भने पाउन सकेकी थिइनन् ।

यत्तिकैमा न्यूरोबाट २ जना डाक्टर आए । बिरामीलाई परैबाट हेरे । र, कोरोनाको विरामी भएकाले आफूले नहेर्ने भन्दै फर्किए । त्यसपछि नर्सले अक्सिजन दिनु बाहेक अर्को उपचार गरेनन् ।

लेखक बस्नेत

दिउँसो ४ बजे आसपासमा उनको ज्यान गयो । लामो समयसम्म प्रयास गर्दा पनि उपचार नपाउँदा उनले ज्यान गुमाउँदै गर्दाका साक्षी बिरामी र कुरुवाहरु थिए । उनीहरु बिरामीले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै आक्रोशित बने ।

मृत्यु भएको जानकारी दिँदै नर्स आफ्नो वार्डमा फर्किइन् । ५/७ मिनेटमा डाक्टरसहित फेरि फर्किइन् । डाक्टरले बिरामी नजिकै के पुगेका थिए ।

मृतकका छोरा विजय यादवले भने, ‘अघिसम्म तपाईंलाई ५ मिनेट पनि समय थिएन, अहिले किन आउनु पर्यो ?’

उनको कुरामा त्यहाँ रहेका अधिकांशले समर्थन जनाए । केही मानिस आक्रोशित बने । केहीले मौन समर्थन जनाए । करिब १० मिनेटको तनाव उत्पन्न भयो ।

डाक्टरले आफू आउन नसकेको तर्क पेश गर्ने प्रयास गरे ।

‘म एक्लैले ८० जना बिरामी हेर्नुपर्छ । म आफै पनि विद्यार्थी नै हुँ । हामी यस वार्डमा २ जना डाक्टर छौं । एक जना डाक्टर आउनु हुन्न । म एक्लैले कता कता भ्याउन सक्छु र ?’

यति भनेर डाक्टर बिरामी नछोइ फर्किए । यता अन्य संक्रमित बिरामी र कुरुवाहरु अझ बढी आक्रोशित हुन थाले ।

केही समयपछि नर्स फेरि आइन् । डाक्टर पनि आए । र, संक्रमित भनिएको बिरामीको मृत्यु भएको आधिकारिक रुपमा घोषणा गरे र फर्किए ।

यतिबेलासम्म साँझको ५ बजिसकेको थियो ।

धेरैको अनुमान थियो । अब शव प्याक हुन्छ र सेनाले लगेर अन्त्येष्टी गर्छ । तर त्यसो भएन ।

करिब साढे ७ बजेतिर खबर आयो । आज लाश उठ्दैन । भोलिमात्रै उठ्छ । त्यसपछि अन्य बिरामी र कुरुवाहरु अझ बढी आक्रोशित बने । रातभरी छेवैमा शव राखेर कसरी सुत्नु ? नर्सको वार्डमै गएर सबैजना कराएपछि शव आजै प्याक गरेर लैजाने कुरा भयो ।

त्यसको ४५ मिनेटपछि एकजना महिला सफाई कर्मचारीले शव प्याक गर्नका लागि प्लास्टिक र ब्याग बोकेर आइन । र, त्यही राखेर फर्किइन् । १५ मिनेटसम्म पनि उनी फर्किएन नआएपछि म आफैं अग्रसर बने । मृतकका छोरालाई ग्लब्स लगाउन भने । मैले पनि लगाएँ । अन्य दुई जना कुरुवा महिलाले पनि लगाए । र, शव प्याक गर्यौं । शव प्याक त भयो त अर्को आधा घण्टासम्म पनि कोही लिन आएनन् ।

त्यसपछि तनाब शुरु भयो ।

शव प्याक गरिसकेपछि म कपडा चेञ्ज गर्न र हात मुख धुन बाथरुम छिरेको थिए । त्यहाँबाट निस्कँदा बाहिर ठूलो हल्ला चलिसकेको थियो । मृतकको प्याक गरेको शवलाई नर्स बस्ने वार्डसम्म लगेर मानिसहरु नारा लगाउँदै थिए ।

होहल्ला भएपछि सेक्युरिटी र प्रहरी आए । नारा अझ चर्कँदो भयो ।

सबैको माग डाक्टर एकपटक पनि किन नआउने भन्नेमा केन्द्रित भयो । सबै जना अस्पताल प्रशासनको अस्थव्यस्तता र डाक्टर नआउने बानीले उपचार नपाएर बिरामीले ज्यान गुमाउनेमा केन्द्रित भयो ।

यत्तिकैमा मृतकको ४ दिनअघि लिएको स्वावको पीसीआर परीक्षणको नतिजा आयो । नेगेटिभ देखियो । यदी समयमै रिपोर्ट आएको भए उनले ट्रमामा गएर उपचार गराउन पाउने थिइन् ।

तर रिपोर्ट नआएकाले कोरोना संक्रमणकै कारणले ज्यान गएको बाहना यहाँनिर फ्ल्प भयो ।

डाक्टर हरेक २४ घण्टामा कम्तीमा एक पटक बिरामी हेर्न आउने कुरा भयो । त्यसपछि रातको करिब साढे ११ बजेतिर आक्रोशित भिड केही शान्त भयो ।

म अस्पतालमा भर्ना भइसकेपछिको यो पहिलो घटना थिएन ।

अस्पताल भर्ना भएको दोस्रो दिन बुधबार मलाई १०० डिग्रीको ज्वरो थियो । खोकी पनि उत्तिकै थियो । ४ दिनदेखि दुखेको घाँटी निको भएको थिएन । त्यसमाथि पखला लाग्न शुरु गरेको थियो ।

अस्पताल भर्ना भएको राति छेउको बेडमा नयाँ बिरामी आएकी थिइन् । उनी किड्नीको बिरामीसँगै कोरोना संक्रमित पनि थिइन् । लामो समयदेखि डायलिसिस नभएकाले उनी सुत्न सक्ने अवस्था थिएन । कुरुवा छोरा र छोरीले सम्झाइ बुझाइ गरेर भए पनि रात कटाएका थिए ।

अर्को दिन दिउँसो सवा ४ बजेतिर बिरामीलाई डायलिसिस गरेर ल्याएँ । नर्सले सबै जाँचोपाँजो मिलाएर फर्किइन् । नर्स फर्केको ५ मिनेट नपुग्दै बिरामी अचेत बनिन् । छेवैको बेडमा म औषधि खाएर सुतिरहेको थिए ।

एक्कासी छोरी चिच्चाएपछि म जुरुक्कै उठे र हतार गर्दै नर्स बोलाउन गएँ । पीपीई सेट लगाएर आउन नर्सलाई केही समय लाग्यो । नर्स आइपुग्दा उनको ज्यान गइसकेको थिए ।

त्यसको केही समयपछि डाक्टर आए । डेथ भएको कन्फर्म गरे र फर्किए । दिउँसो साढे ४ बजे मृत्यु भएको बिरामीको शव उठाउन साढे ७ बजेसम्म पनि कोही आएन ।

अस्पतालको नियमितरुपमा साँझ ६ बजे खाना आयो । खाना खाने अवस्था कसैको भएन् । छेवैको बेडमा शवलाई टुलुहुटुलुहु हेरेर कस्को मनले खाना खान मान्ला र ? केही कुरुवाले बाहिर प्यासेजमा गएर बल्ल बल्ल त खाए ।

रातिको ८ बज्नै लाग्दा शव प्याक गर्न २ जना सफाइ कर्मचारी आए । तर शव प्याक गर्न उनीहरुले मात्रै सक्ने कुरा थिएन । एक जना बिरामीले पीपीई लगाए र उनीहरुसँगै मिलेर शव प्याक गरे ।

(वीर अस्पतालमा १७ दिन आइसोलेसन बस्दाका बाँकी अनुभव अर्को ब्लगमा लेख्ने छु ।)

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स