डिजिटल प्लेटफर्ममा घरजग्गाको कारोबार, घरमै बसीबसी घर छान्ने सुविधा



काठमाडौं । १० वर्षअघि घरजग्गा खरिद बिक्री गर्ने व्यवसायीले विभिन्न सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेट तथा पत्रपत्रिकामा आएको विज्ञापन बटुल्दै सार्वजनिक स्थानमा टाँस्दै हिँड्नुपर्थ्यो।

आफन्त तथा साथीसँग सहकार्य गरेर जग्गाको खरिद बिक्रि गर्नुपर्ने अवस्था थियो । तर, अहिले प्रविधिको विकाससँगै त्यसको अन्त्य भएको छ ।

अहिले विभिन्न सञ्चार माध्यम र डिजिटल प्लेटफर्मले गर्दा मानिसलाई धेरै सजिलो बनाएको छ ।

घरमै बस्यो, विभिन्न वेवसाइट र सामाजिक सञ्जालमा उपलब्ध घर जग्गाका तस्बिर नियाल्यो, मूल्य पनि त्यही सोध्यो, म्यापबाट नक्सा र लोकेसन हेर्यो मन परे घर किन्यो ।

यसले मानिसलाई भौतिकरुपमा सोही स्थानमा उपस्थित भइ समय खर्चनु पर्ने अवस्थाको अन्त्य गरिदिएको छ । साथै घर जग्गाका बारेमा जानकारी पनि धेरैभन्दा धेरै मानिसको पहुँचमा पुगेको छ ।

घरजग्गाको कारोबार च्यानल बिजनेश भएका कारण डिजिटल प्लेटफर्म आउनुभन्दा अगाडि विभिन्न स्थानमा रहेका साथीहरूको कन्ट्याकमार्फत् कारोबार गरेको प्रकाश छतकुली बताउँछन् ।

विगत १३ वर्षदेखि निरन्तर घरजग्गा कारोबार गर्दै आएका छतकुली घरजग्गा कारोबार नेपालका संस्थापक हुन् । उनका अनुसार २०६४ सालमा जग्गाको कारोबार शुरू गर्दा पत्रपत्रिका तथा सार्वजनिक स्थानमा पोस्टर, पम्प्लेटहरूको विज्ञापन गरी कारोबार गर्नुपर्ने अवस्था थियो ।

उनले साथीभाइ र पत्रपत्रिकाको सहयोगमा करिब दुई वर्ष कारोबार गरेको अनुभव सुनाउँदै भने, ‘त्यसबेलामा विभिन्न पोस्टर, पम्प्लेट तथा पत्रपत्रिकाको सहयोगमा कारोबार गर्दा जो मानिसले ठ्याक्क दिमाग लगाउन सक्यो उसले फ्याट्ट ग्राहक मिलाउँथ्यो । साथै, पोस्टर र पत्रपत्रिकाबाट आएका ग्राहकलाई पायक परेको स्थानमा साथीभाइसँग सम्पर्क गरेर घरजग्गाको कारोबार गरेको थिए ।’

यस्तै, विगत लामो समयदेखि घरजग्गाको कारोबार गर्दै आएको लक्ष्मण विस्टको अनुभव पनि उस्तै छ । उनका अनुसार पत्रपत्रिका विज्ञापनका लागि खर्च नगरे पनि साथीभाइको सहयोगबाट धेरै कारोबार भएको बताए । साथै, त्यसबेला चिनेको मानिसबाहेक नयाँ ग्राहक भेट्टाउन निकै गाह्रो हुने गरेको उनको अनुभव छ ।

अहिले इन्टरनेट तथा प्रविधिको विकाससँगै विभिन्न स्थानमा रहेको घरजग्गाको कारोबार अनलाइनमार्फत् भएका कारण निकै सहज भएको व्यवसायीहरूको भनाइ छ ।

विभिन्न समस्याको बाबजुद घरजग्गा कारोबार गर्न सहज बनाउनका लागि घरजग्गा कारोबार नेपालले पहिलोपटक डिजिटल प्लेटफर्ममार्फत् घरजग्गा कारोबार शुरु गरेको कारोबार नेपालका संस्थापक छतकुली बताउँछन् ।

अहिले डिजिटल प्लेटफर्मले गर्दा कुनै पोस्टर तथा पत्रपत्रिकाको प्रयोग निकै कम भएको छ । साथै, घरजग्गाको विज्ञापन तथा ग्राहकहरू अनलाइनमार्फत नै आउने भएकाले पत्रपत्रिकाका लागि कुनै विज्ञापनको लागि छुट्याउन नपरेको व्यवसायीहरू बताउँछन ।

साथै, विभिन्न प्रकारको माध्यम अपनाउने र विभिन्न आइडियाका साथ काम गर्नुपर्ने थियो तर, अहिले एउटा वेवसाइट पेजले नै सबै काम समेटेको व्यवसायीहरूको भनाइ छ ।

सहज बन्दै डिजिटल प्लेटफर्म
लामो समयदेखि घर जग्गाको कारोबार गर्दै आएका व्यवसायीका अनुसार डिजिटल अर्थात अनलाइनमार्फत काम गर्न निकै सहज भएको बताए ।

अनलाइन प्लेटफर्मले घरजग्गा किन्न चाहने सम्पूर्ण मानिसले एक क्लिक गर्ने वित्तिकै आफूलाई मन परेको वा पायक पर्ने स्थानमा विज्ञापनको सहायताले स्थान, जग्गाको फोटोलगायत सम्पूर्ण हेरेर सिधै कुरा गर्न सकिन्छ ।

प्रविधिको युगसँगै अहिले फेसबुक, मेसेन्जर, इन्ष्टाग्रामलगायत अन्य वेवसाइटमा इच्छुक सबै मानिसले बिक्री गर्ने जग्गा तथा घरको विज्ञापन पोस्ट गर्न सकिन्छ । साथै, त्यहीबाट इच्छुक ग्राहकले त्यही पोस्ट हेरेर फोनमार्फत सम्पूर्ण विवरणको जानकारी पाउन सकिन्छ ।

अनलाइनमा चुनौतीसँगै भ्रामक सूचना पोस्ट गर्ने प्रवृत्ति
सबै कुराको सकारात्मक र नकारात्मक पक्ष दुबै हुने गर्दछ । यस्तै पछिल्लो समय विभिन्न काम तथा कारोबार भएसँगै विभिन्न विकृत्ति फैलिन थालेको व्यवसायीहरूको गुनासो छ ।

व्यवसायीहरूका अनुसार विगतको दिनमा जग्गा खरिद वा बिक्री गर्न इच्छुक व्यक्तिहरूले सिधै प्रस्ताव राखेर कारोबार हुन्थ्यो । तर, अहिले विभिन्न अनलाइन तथा वेवसाइटमा बिक्री भइसकेको घरजग्गा पनि पोस्ट गर्ने भएकाले ग्राहकहरू भड्किने बढी भएको उनीहरू बुझाइ छ ।

यसका साथै बजारमा वेवसाइटहरू बढी भएकाले ग्राहकले सोधपुछ बढी र कारोबार कम हुने गरेका छन् । त्यस्तै, घरजग्गा बिक्रि केन्द्रका संस्थापक सुजन खड्काका अनुसार घरजग्गा बिक्री गर्नेले सिधै कम्पनीमा सम्पर्क गरेर विज्ञापन दिने र इच्छुक ग्राहकले त्यही वेवसाइटको माध्यमबाट सम्पर्क गरेर कारोबार गरिरहेको बताउँछन् ।

यसले गर्दा, व्यवसायी र ग्राहकलाई सजिलै डिजिटलमार्फत जोडिदिने हुँदा अफिसमै बसीबसी काम गर्न सहज भएको उनको भनाइ छ । एकातिर घरजग्गाको कारोबार गर्न सहज भएको छ भने अर्कोतिर विज्ञापनबाट पनि केही सहयोग हुने व्यवसायीको बुझाइ छ ।


क्लिकमान्डु