भदौ महिनामा ५५ हजार वटा घरजग्गाको कारोबार हुँदा १ अर्ब राजस्व संकलन



काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समय बन्द भइ खुलेको मालपोत कार्यालयले भदौ महिनामा ५५ हजार १ सय ५७ वटा घरजग्गाको कारोबार गरेको छ ।

यस अवधिमा मालपोत कार्यालयहरुबाट लिखत, पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा प्रतिलिपी जस्ता कुल ५५ हजार १ सय ५७ वटा कारोबार गरेको हो ।

साउन २४ गते मालापोत कार्यालय बन्द गर्ने निर्णय गरेको थियो । जसमा अति संक्रमित धेरै भएका जिल्लाहरुमा कारोबार भएको थिएन भने केही जिल्लाहरूमा भने कारोबार भएको भूमि, व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

त्यसैगरी, सरकारले भदौ २५ गतेबाट देशभरीको सबै मालपोत कार्यलयबाट आफ्नो कारोबार शुरु गरेको थियो ।

कार्यालयले भदौ २५ र २६ गते अत्यावश्यक परेका सेवाग्राहीको घरजग्गाको रोक्का र फुकुवाको काम गरिने र २८ गतेबाट पूर्णरुपमा कारोबार तथा सबै कामा गर्न पाउने जनाएको थियो । त्यही अनुसार देशभरका विभिन्न कार्यालयले कारोबार गरिरहेको विभागले जनाएको छ ।

३० हजारभन्दा बढी रोक्का, फुकुवा
महिनाको अन्तिममा साताबाट मालपोत कार्यालयबाट कारोबार शुरू गरे पनि उक्त अवधिमा ३० हजार ३ सय ७८ रोक्का, फुकुवा गरेको छ । जसमा देशभरका मालपोत कार्यालयबाट १८ हजार ७ सय ७९ को रोक्का गरेको छ भने ११ हजार ५ सय ९९ फकुवा गरेको छ ।

त्यसैगरी १४ हजार ९ सय ८५ जनाको लिखितपारित गरेको छ । लिखितपारित कारोबारमा सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले गरेको छ । उक्त कार्यालयले १४ सय ८६ लिखितपारित गरेको छ ।

त्यसैगरी, भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज बाँकेले एक हजार ९५, इनरुवा सुनसरीले ९ सय ९५, बेलबारी मोरङले ८ सय ६७, जनकपुरधा धनुषाले ५ सय ३५ लिखित पारित गरेको छ । साथै, नामसारी ६ सय ६०, संशोधन १ हजार ४ सय ७९, दाखिला खारेज ४ सय ५४ गरेको विभागको तथ्याङ्कले देखाउँदछ । यही भदौ महिनामा २ अपार्टमेन्टको लिखित पारित पनि भएको छ ।

सबैभन्दा बढी कारोबार गर्ने कार्यालय
हालसम्म नेपालभरको १ सय २६ कार्यालयमध्ये १०८ वटा कार्यालयले मात्रै अनलाइन प्रणलीमा कारोबार गरिरहेका छन् भने १८ वटा कार्यालले भने अझै अनलाइन कारोबार गरेको छैन । अनलाइन प्रणालीबाट कारोबार नगर्ने मालपोत कार्यालयको तथ्याङ्क भने यसमा समावेश गरेको छैन ।

त्यसैगरी, भदौ महिनामा सबैभन्दा बढी कारोबार गर्नेमा भद्रपुर झापाले गरेको छ । उक्त कार्यालयले मात्रै रोक्का, फुकुवालगायत सम्पूर्ण गरेर ४ हजार ९ सय ७९ कारोबार गरेको छ । त्यसैगरी, इनरुवा–सुनसरीले २ हजार ६ सय ३१, नेपालगञ्ज बाँकेले २ हजार ६ सय २९, बेलवारी मोरङले २ हजार ३ सय १९, कास्कीले १७ सय १७, सुर्खेतले १६ सय ५६ कारोबार गरेको छ ।

१ अर्ब राजस्व संकलन
भदौ महिनामा देशभरका १ सय ८ वटा कार्यालयबाट १ अर्ब १७ करोड ६३ लाख ८ हजार राजस्व संकलन गरेको छ ।

उक्त राजस्व संकलनमध्ये सेवा करवापत ११ करोड ५९ लाख ४२ हजार, बागमतीबाट २ करोड २१ लाख २६ हजार, रजिष्ट्रेशन दस्तुरबाट ६४ करोड ९१ लाख ५ हजार र पूँजीगत लाभ करबाट २८ करोड ६८ लाख १२ हजार राजस्व संकलन गरेको छ ।

देशभरका कार्यालयमध्ये सबैभन्दा बढी राजस्व संकलन गर्नेमा मालपोत कार्यालय चावहिल छ । चावहिल कार्यालयले मात्रै १२ करोड ४० लाख ३७ हजार राजस्व संकलन गरेको छ । त्यसैगरी, कास्कीले ६ करोड ५७ लाख ८३ हजार, भद्रपुर झापाले ५ करोड ९९ लाख १९ हजार, लगनखेल ललितपुरले ५ करोड ७४ लाख ३ हजार, इनरुवा सुनसरीले ३ करोड ७६ लाख ९९ हजार र नेपालगञ्ज बाँकेले ३ करोड ५९ लाख ४८ हजार राजस्व संकलन गरेको छ ।

हाल मालपोत कार्यालय सबै खुल्ला भए पनि भिड हुन नदिने हिसाबले आलोपालो गरेर सतर्कता अपनाउँदै कारोबार भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार सबै स्थानीय तह तथा वडामा उच्च सतर्कता साथ स्वास्थ्य सामग्रीको प्रयोग गरेर सेवा प्रवाह गर्ने र भिड हुन नदिने बताए ।


क्लिकमान्डु