कालोबजारी गर्दागर्दै पक्राउ परेका सुलभ अग्रवालको मुद्दा ‘सफ्ट कर्नर’ले हेर्न दबाब दिने को हुन् ?



काठमाडौं । देश कोरोना भाइरसको संन्त्रासमा थियो । कोरोना नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि लगाएका लकडाउनका कारण जनताहरु सडकमा निस्कन सकेका थिएनन् । घरभित्रै बसेका थिए ।

थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

तर राज्यले अवैतानिक महावाणिज्यदूतका लागि दिएको सुविधाको दुरुपयोग गर्दै व्यवसायी सुलभ अग्रवालले भने कालोबजारी गरेर मालामाल पैसा कमाउने रणनीति बनाए ।

र, किर्गिस्तानका अवैतानिक महावाणिज्यदूत रहेका अग्रवाल निलो नम्बरप्लेट भएको कुटनीतिक गाडी कुदाउँदै कालोबजारी गर्न खुलेआम सडकमा निस्किए ।

२५ सय ३ हजार रुपैयाँमा किनेको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै गत चैत २५ गते प्रहरीले अग्रवाललाई रंगेहात पक्राउ गर्यो । र, त्यसपछि खुल्यो शंकर ग्रुपको पैसा कमाउने धन्धा ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित

यो व्यापारिक समूहले पछिल्ला दुई दशकमा अर्बौं कमाएको छ । पैसा कमाउन जे पनि गर्न पछि नपर्ने यो समूहले देश संकटमा परेका बेला कालोबजारी गर्न किन पछि पर्थ्यो र ?

समग्र निजी क्षेत्रलाई लज्जित बनाउने यो घटनालाई सरकारले गंभीरताका साथ छानविन अघि बढाएको छ ।

प्रहरीले अग्रवाललाई काठमाडौं जिल्ला अदालतमा पेश गर्यो । र, अदालतले २५ लाख २५ हजार रुपैयाँ धरौटी लिएर अग्रवाललाई तारेखमा छाडेको थियो ।

सुलभका भाई साहिल पैसाको बिटो बोकेर काठमाडौं जिल्ला अदालत पुगेका थिए ।

‘पैसाले सबैकुरा किन्न सकिन्छ त्यसैले जसरी भएपनि पैसा कमाउनुपर्छ भन्ने उहाँहरुको सोच हो,’ अग्रवाल निकट एक व्यवसायीले भने, ‘हामीले थर्मल गनमा हात नहाल फस्छौ भन्दा ओम्नीले लुट्न हुने मैले किन नहुने भन्थे उनीहरु ।’

अग्रवाललाई पक्राउ गर्ने प्रहरी अधिकृत भन्छन्- ‘उहाँहरुले हामीलाई पनि प्रभावमा पार्न खोज्नुभएको थियो । तर, सिधै इग्नोर गर्यौं ।’

कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल

अदालतले छाडेलगत्तै प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अग्रवाललाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

किनभने प्रहरीले पक्राउ गरेपछि अग्रवालमाथि अनुसन्धान गर्दा उनले आफ्नो सम्पत्तिको स्रोत देखाउन सकेका थिएनन् ।

विभागले एक घन्टाभन्दा बढी बयान लिएर अग्रवाललाई उसैदिन छाडेको थियो । लकडाउन सकिएपछि अनुसन्धान गर्ने गरी विभागले छाड्यो ।

यसबीचमा विभागले अग्रवाललाई इमेलमार्फत् विभिन्न विवरणहरु मागेको छ ।

‘प्रहरीको प्रारम्भिक रिपोर्ट हेर्दा अग्रवाल र शंकर ग्रुपले सम्पत्तिको स्रोत देखाउन सकेको अवस्था छैन,’ विभाग स्रोतले भन्यो, ‘अब हामी गंभीररुपले अनुसन्धान गर्छौं र सत्यतथ्य पत्ता लगाउँछौं ।’

संकटका बेला ‘फिलांथ्रोपिस्ट’ बन्नुपर्ने अर्बपति सुलभ अग्रवालले कालोबजारी गरेर इज्जत गुमाए

व्यापार व्यवसायको आडमा कानूनी लुपहोल्समा खेलेर अग्रवालजस्तै नेपालका धेरै व्यवसायीहरु रातारात अर्बपति बनेको र उनीहरु विभागको नजरमा रहेको ती अधिकारीले बताए ।

‘गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरी त्यसलाई व्यापारका माध्यमबाट बैधानिकता दिनेहरुमाथि हाम्रो निगरानी छ,’ ती अधिकारीले भने, ‘सुलभको अनुसन्धानले हामी त्यस्ता धेरै व्यक्तिहरु भेट्छौं ।’

गलत कम नगर्ने व्यवसायीहरु विभागसँग डराउनु नपर्ने ती अधिकारीले प्रष्ट पारे ।

‘असल काम गर्नेलाई हामी केही पनि गर्दैनौं तर राज्यको आँखा छलेर गलत काम गर्नेलाई हामी छाड्दैनौं,’ उनले भने, ‘यदि सुलभले गलत गरेका रहेनछन् भने उनले सफाइ पाउँछन् ।’

तर व्यवसायीदेखि नेता र कर्मचारीसमेतले सुलभको केशलाई सफ्ट कर्नरबाट हेर्न लबिङ गरिरहेका छन् ।

कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यवसायी अग्रवालको मुद्दालाई निस्तेज पार्न विभिन्न व्यक्ति, संस्था तथा निकायहरु सक्रिय भइरहेको विभागका ती अधिकारीले जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका केही पदाधिकारीले सुलभ अग्रवाललाई बचाउन सक्रिय भूमिका खेल्दै आएका थिए ।  व्यवसायीले व्यवसायीलाई नै बचाउन लबिङ गर्नु त स्वभाविकै हो ।

तर, अर्थमन्त्री निकट व्यक्तिहरुले अर्थमन्त्रीको हवला दिँदै सुलभ अग्रवालको मुद्दालाई सफ्ट कर्नरले हेरिदिन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अधिकरीहरुलाई दबाब दिइरहेका छन् ।

‘व्यापारीहरु त हामीसम्म आइपुग्न सकेका छैनन् तर अर्थमन्त्री निकट  केही व्यक्तिले भने सुलभको केसलाई सफ्ट कर्नरले हेरिदिनुपर्यो भनेर पटक दबाब दिइरहेका छन्,’ विभाग स्रोतले भन्यो, ‘हामीले ती दबाब दिनेहरुको सूचि तयार गरिरहेका छौं ।’

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून अन्तर्राष्ट्रिय भएकाले आफूहरु कसैको दबाबको सामना नगरी नियम कानूनले दिएको अधिकार प्रयोग गर्न प्रतिवद्ध रहेको ती अधिकारीले बताए ।

‘अर्थमन्त्रीको हवला दिँदै उहाँनिकट व्यक्तिहरु यस्ता क्रियाकलापमा सक्रिय छन्, दिन आएपछि उनीहरु को को हुन् पनि भनौंला,’ स्रोतले भन्यो, ‘ हामीलाई प्रधानमन्त्रीज्यूको साथ छ । हामी स्वतन्त्र भएर काम गर्छौं ।’

अनुसन्धान प्रक्रिया अघि बढेपछि अग्रवाललाई बयानका लागि बोलाइने ती अधिकारीले जानकारी दिए ।

‘लकडाउनका कारण अहिले धेरै काम गर्न सकिरहेका छैनौं, लकडाउन पूर्णरुपमा खुल्नासाथ हामी आक्रमकरुपमा काम गर्छौं,’ उनले भने ।  


पुष्प दुलाल