घाँस नहाली दूध दिएन भन्दै गाई कुट्ने अर्थमन्त्री खतिवडा



काठमाडौं । मंगलबार बिहानै आन्तरिक राजस्व विभागले एउटा सूचना निकालेर भन्यो, ‘फागुन, चैत र बैशाखका सबै प्रकारका कर जेठ २५ गतेभित्र दाखिला गर्नु । नत्र कानूनअनुसार जरिवाना तिराइने छ ।’

राजस्व विभागको यो सूचनाले व्यावसायिक जगतमा खैलाबैला मच्चायो ।

‘गाईलाई घाँस खान नदिइ दाम्लोले बाँधेर राख्ने अनि दुध दिएन भन्दै भन्दै कुट्ने, गाईधनी अपराधी हो,’ एक व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘अर्थमन्त्री युवराज खतिवडाले त्यस्तै काम गरे ।’

लकडाउनका कारण ठप्प भएका व्यापार व्यवसाय उकास्न ठोस राहत प्याकेज नल्याएका अर्थमन्त्री खतिवडाले किन लकडाउनकै बीच कर बुझाउन उर्दी जारी गरे ?

उद्योगी/व्यवसायीहरु भन्छन्- ‘मन्त्री खतिवडासँग कमन सेन्स पनि छैन । व्यवसायीलाई हेर्ने दृष्टिकोण नै गलत छ । जसकारण उहाँ अर्थमन्त्री भएपछि लगानीको वातावरण बन्न सकेन ।’

करदाताप्रति कठोर बने अर्थमन्त्री खतिवडा: लकडाउनमै नतिरे जरिवाना, व्यवसायी आतंकित

कोरोना रोकथामका गर्न सरकारले लकडाउन गरेको ७१ दिन पूरा भयो । यो अवधिमा उद्योग व्यवसाय ठप्प छन् । जेठ ३२ गतेसम्म लकडाउन नै छ । लकडाउन भनेको शून्य अवस्था हो ।

यसरी व्यवसायीलाई थुनेर राखेको सरकारले उनै व्ययसायीलाई कर तिर्न ताकेता गरेको हो । कतिपय उद्योग व्यवसाय सदाका लागि बन्द हुने अवस्थामा पुगिसकेका छन् भने कतिपय नगदको अभाव भएर छटपटाइरहेका छन् ।

सर्वसाधारण जनता के खाउँ के लाउँ भनेर बसिरहेका छन् । रोइरहेका छन् । तर, सरकार भने कताबाट कमिशन पाइन्छ ? कताबाट पोलिसी करप्सन गर्न पाइन्छ भनेर दाउ हेर्दाहेर्दै लकडाउनको ७१ दिन वितिसकेको छ । लकडाउनका बेला सरकारले कोरोना नियन्त्रण गर्नका लागि गर्नुपर्ने काम गरेको छैन । जनतालाई गुमराहमा राखेर सरकार भने सुतेर बसेको छ ।

अर्थमन्त्रालयलाई उद्योग वाणिज्य महासंघको पत्रः जेठ २५ मा कर तिर्न सकिँदैन, असारसम्म पुर्याउनू

आफू काम नगर्ने, लाचारी बन्ने अनि जनतालाई दास ठानेर हुकुम दिने यो कस्तो लोकतन्त्र ? लोकतन्त्रान्त्रिक सरकारले जनताको पीरव्यथा बुझ्नुपर्ने होइन र ?

कसैका केही सुझाब सुन्ने धैर्यता नराख्ने अर्थमन्त्री खतिवडा आफैंले यस्ता निर्णय गर्छन् कि पृष्ठभूमिमा कोही छ ? यो आशंका पैदा भएको छ- कतै नयाँ तानाशाह त जन्मिँदै छैन ?

अर्थमन्त्री खतिवडाले किताबमा, कृषि उपकरणमा र विद्युतीय गाडीमा भन्सार लगाए अनि सत्तासँग निकट रहेको कुनै एक व्यापारिक घरानाले आयात गर्ने गुलियो चक्लेटमा भन्सार घटाएपछि खतिवडाको इन्टिग्रिटीमाथि प्रश्न उठेको हो । चक्लेटमा भन्सार शूल्क घटाएर मन्त्री खतिवडाले नीतिगत भ्रष्टाचार त गरेनन् ?

विद्युतीय गाडीमा भन्सार बढ्ने सूचना चुहाएर अर्थमन्त्री खतिवडा वा उनका ज्वाईं रामशरण खरेल, राजस्व सचिव वा अन्य कुनै कोर टिमका सदस्यले कुनै एक प्यापारिक घरानाबाट फाइदा लिएनन् होला त ? होइन भने मन्त्रीलाई समेत थाहा नभएको बजेट व्यापारीलाई कसरी थाहा भयो र भन्सारबाट बजेट आउनुअघि नै सयौं गाडी जाँचपास गरि भित्र्याइयो ? अख्तियारले छानविन गर्नुपर्ने विषय होइन र यो ?

यसबारे अर्थमन्त्रीले संसदमा दिएको जवाफ चित्त बुझ्दो र प्रष्ट छैन । यसले उनी कति गैरजिम्मेवार छन् भन्ने प्रष्ट पारेको छ ।

हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्

एकातिर सरकारले लकडाउनका बेला पनि कर्मचारीलाई पूरा तलब दिन व्यवसायीलाई उर्दी जारी गर्छ । तर, तिमीलाई के अफ्ठ्यारो परेको छ ? सरकारले के सहयोग गर्नुपर्छ भनेर सोध्दैन । यसको अर्थ के हो भने उद्योगी व्यवसायी भनेका साहू महाजन हुन् यीनीहरुबाट जसरी भएपनि धुत्नुपर्छ । मन्त्रीभन्दा धनी बन्ने ? मन्त्रीभन्दा राम्रो लुगा लगाउने ? मन्त्री र नेताका भन्दा राम्रो घर बनाउने ? गाडी चढ्ने ? अर्थमन्त्री खतिवडा यस्तो सोचबाट ग्रसित छन् ।

अर्थमन्त्रीले हेक्का राक्नुपर्ने विषय के हो भने उनै व्यवसायीले तिरेको करले तपाईंले ३० वर्ष सरकारी जागिर खानुभयो । अहिले मन्त्री बन्दा पनि तलबभत्ता लिइरहनु भएको छ र करोडमाथिको गाडी चढिरहनुभएको छ ।

राज्यले निचोर्दा निचोर्दै कोलमा पेलेको उखुको खोस्टाजस्ता बनेका उद्योगीलाई अझै चुसेर रस निकाल्न खोज्ने अर्थमन्त्रीको नीतिले देशलाई कहाँ पुर्याउँछ ? सुखी नेपाली सम्मृद्ध नेपाल बन्छ त ?

मै जान्ने हूँ मलाई कसैले सिकाउनु पर्दैन भन्ने पीएचडीधारी अर्थमन्त्रीलाई यति सामान्य विषय पनि थाहा रहेनछ । फागुनमा काटेको बिलको भुक्तानी लकडाउनका कारण अहिलेसम्म भएको छैन । यस्तो अवस्थामा कसरी कर तिर्न सकिन्छ । कर तिर भनेर भन्न नै लाजन लाग्नुपर्ने होइन र ?

हेक्का होस् अर्थमन्त्रीज्यू, घाँस नहाली दाम्लोले बाँधेको गाई दुन खोज्दा दूध होइन लात्तिले दिन्छ । र, पिट्दा दाम्लो चुँडाएर सिंगले हान्छ ।

मन्त्रीलाई सल्लाह दिने सल्लाहकारहरुले पनि यस्ता कुरा हेक्का राख्नुपर्छ । लोकसेवा पास गरेर सचिव उपसचिव भएकाहरुले पनि यस्ता कुरामा अडान राख्नुसक्नुपर्छ । होइन भने तपाईंहरु तानाशाह जन्माउँदै हुनुहुन्छ ।

जसरी जंगबहादुर राणाले बसालेको सासन व्यवस्थामा उनका छोरानातिहरु नै सुरक्षित रहेनन् । त्यसरी नै युवराज खतिवडाहरुले बसाल्न लागेको व्यवस्थाले उनी र उनका सन्तान मात्रै होइन नेकपा र देश नै सुरक्षित रहँदैन ।

इनफ, युवराज सर, इनफ ।


पुष्प दुलाल