कोरोनाले निम्न वर्गमा पार्ने असर समाधानमा थोक लघुकर्जा संस्थाको भूमिका: अनन्त सदाबहारको लेख

अनन्त सदाबहार २०७७ वैशाख ७ गते ११:२७ मा प्रकाशित

चीनको वुहानवाट शुरु भएको कोरोनाको संक्रमणले आजको दिनसम्म आइपुग्दा सारा विश्व नै आक्रान्त पारिसकेको छ। कोरोनाले गर्दा स्थानीय तथा वैश्विक अर्थतन्त्रमा पर्नसक्ने सम्भावित नकारात्मक प्रभाव तथा सोको न्यूनीकरण सम्बन्धमा विभिन्न अनुमान तथा उपायहरु सार्वजनिक भइरहेका छन् ।

त्यस्तै कोरोनाले बैंकङ क्षेत्र, लघुवित्त क्षेत्र, तथा सहकारी क्षेत्रमा (मुख्यतया वित्तीय सेवा प्रदायक क्षेत्रमा) श्रृजना गरेको अवसर तथा चुनौतिका सम्बन्धमा पनि फरक फरक कोणवाट विश्लेषण भएका छन् ।

तर पनि हालसम्म यि तीन वटै प्रकारका वित्तीय सेवा प्रदायकबीच समन्वय तथा सामञ्जसस्यता कायम गर्ने प्रमुख सेतुको रुपमा रहेको ‘थोक लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्था’मा कोरोनाले पार्ने प्रभावबारे कुनै चर्चा भएको सुनिएको छैन । त्यस्तै यस संकट पश्चात समग्र अर्थतन्त्र उकास्नका लागि उक्त संस्थाहरुले गर्न सक्ने योगदानबारे पनि कतै चर्चा भएको देखिदैन।

नेपालमा सञ्चालनमा रहेका ‘क’, ‘ख’, ‘ग’, र ‘घ’ वर्गका गरी ४ प्रकारका वित्तीय संस्थामध्ये लघुवित्त वित्तीय संस्थाहरु ‘घ’ वर्गमा पर्दछन् । त्यस्तै ‘घ’ वर्गका संस्थाहरु ‘थोक लघुकर्जा प्रदायक’ र ‘खुद्रा लघुकर्जा प्रदायक’ गरी २ प्रकारका छन् ।

मुख्यतया विपन्नवर्गका आफ्ना सदस्यहरुलाई समूह जमानतमा बिना धितो लघुकर्जालगायत अन्य लघुवित्त सेवा प्रदान गर्ने (खुद्रा लघुकर्जा प्रदायक) संस्थालाई हामी लघुकर्जा प्रदायक संस्थाहरुका रुपमा बुझ्ने गर्छौं ।

यसका अलावा वित्तीय सहकारी संस्थाहरुले पनि लघुवित्त सेवा प्रदान गर्ने गर्छन् । यी संस्थाहरुले आफ्ना सदस्यको घरदैलोमै गइ कर्जा लगानी तथा बचत संकलन जस्ता वित्तीय सेवा प्रदान गर्दछन् । यिनिहरुको मुख्य कारोबारको क्षेत्र भनेकै समूहमा आबद्ध आफ्ना सदस्यहरु हुन् ।

तर यसको ठीक विपरीत ‘थोक लघुकर्जा प्रदायक’ वित्तीय संस्थाहरुको कुनै पनि प्राकृतिक व्यक्तिसँग प्रत्यक्षरुपमा कुनै प्रकाको कारोबार हुँदैन । थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाहरुको एकमात्र कार्य भनेकै बैंङ्क/वित्तीय संस्था वा दातृ निकायबाट ऋण लिएर खुद्रा लघुकर्जा प्रदायक लघुवित्त वित्तीय संस्था तथा वित्तीय सहकारी संस्थाहरुलाइ थोक लघुकर्जा दिनु हो ।

जुन रकम उक्त संस्थाहरुले पुनः आफ्ना सदस्यमा लघुकर्जाको रुपमा लगानी गर्छन् । अर्को शब्दमा भन्नु पर्दा सबै वित्तीय सेवा प्रदायक संस्थाहरुले मुख्यतयाः प्राकृतिक व्यक्तिलाई वित्तीय सेवा प्रदान गर्छन् ।

तर थोक लघुकर्जा प्रदायक संस्थामात्र यस्ता वित्तीय सेवा प्रदायक संस्था हुने जसले व्यक्ति प्रत्यक्षरुपमा कुनै पनि प्रकारको वित्तीय सेवा प्रदान गर्दैन् । हाल नेपालमा थोक लघुकर्जा प्रदान गर्ने ४ वटा राष्ट्रियस्तरका वित्तीय संस्थाहरु सञ्चालनमा छन् ।

थोक लघुकर्जा प्रदायक संस्थाहरुले निक्षेप संकलन गर्न नपाउने हुनाले, एकमात्र वित्तीय श्रोत भनेकै बाह्य ऋण हो । तसर्थ थोक लघुकर्जा प्रदायक संस्थाहरुले ऋण लिएर खुद्रा लघुकर्जा प्रदायक वित्तीय संस्था तथा वित्तीय सहकारी संस्थालाई थोक लघुकर्जा प्रदान गर्छन् ।

यस अर्थमा बैंकमा संकलित निक्षेप वा पूँजी थोक लघुकर्जा प्रदायक संस्थाहुँदै खुद्रा लघुकर्जा प्रदायक वा वित्तीय सहकारीद्वारा अन्त्यमा लघुकर्जाको रुपमा विपन्न वर्गले प्राप्त गर्दछन् । तसर्थ थोक लघुकर्जा प्रदायक संस्थाहरु बैक तथा खुद्रा लघुकर्जा प्रदायक संस्थाहरुको बीचमा एक महत्वपूर्ण कडीको रुपमा रहेका छन् ।

यसका अलावा थोक लघुकर्जा प्रदायक संस्थाहरुले आफ्ना ऋणि संस्थाको संस्थागत क्षमता अभिबृद्धि गर्नका लागि विभिन्न प्रकारका तालिम तथा परामर्श सेवा समेत प्रदान गर्दै आइरहेका छन् । त्यस्तै नेपालको समग्र लघुवित्त क्षेत्रको विकासक्रममा थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

खुद्रा लघुकर्जा प्रदायक वित्तीय संस्थाहरुले पनि सिधै बैंक तथा अन्य निकायवाट ऋण लिन पाउँछन्, भने सहकारी संस्थालाई आवश्यक कर्जा प्रदान गर्नका लागि सहकारी बैंक तथा संघहरु पनि कृयाशिल छन् । यति हुँदाहुदै पनि थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाको महत्व तथा भूमिका खुम्चिएको छैन ।

निश्चितरुपमा आगामी दिनमा सरकारले कोरोनाले शिथिल पारेको अर्थतन्त्र उकास्नका लागि विभिन्न कार्यक्रमहरु ल्याउने नै छ । जसमध्ये सरकारी खर्च बढाउने, बैंकिङ प्रणालीमा पर्याप्त तरलता प्रवाह गर्ने, बैङ्कको कर्जा लगानी क्षमता बढाउने, ठूला तथा मझौला उद्योगलगायत कृषि, पशुपालन र लघुउद्यम क्षेत्रको उत्पादकत्व बृद्धि गर्ने जस्ता उपायहरु पनि हुनेछन् ।

नेपालको समग्र अर्थतन्त्रको अवस्थाको आधारमा सरकार प्रभावकारी रुपमा राहत तथा अनुदान दिन सक्ने अवस्थामा रहेको देखिदैन । तसर्थ आगामी दिनमा उपलब्ध सीमित श्रोत तथा साधनको प्रभावकारी वितरण तथा उपयोग नै सरकारको कार्यदिशा हुने अनुमान गर्न सकिन्छ ।

यस अवस्थामा ठूला तथा मझौला उद्योग र व्यवसायले बैंकबाट सहजै आवश्यक कर्जा सुविधा पाउन सक्ने सम्भावना रहन्छ । तर ग्रामीण भेगमा अवस्थित कृषि, पशुपालन तथा लघुउद्यम क्षेत्रका लागि आवश्यक कर्जा प्राप्त गर्नु फेरि पनि चुनौतीपूर्ण हुनेछ ।

एकातिर बैंकहरु साना कर्जा लगानी गर्न अनिच्छुक हुन्छन् भने अर्कोतिर लघुकर्जा प्रवाह गर्ने वित्तीय सहकारी तथा खुद्रा लघुवित्त वित्तीय संस्थामा पर्याप्त तरलताको अभाव हुनेछ । अझ तुलनात्मक रुपमा सहकारी क्षेत्रमा तरलताको अभाव अत्यधिक हुने सम्भावना देखिन्छ।

कोरोनाको प्रभाव वैश्विक अर्थतन्त्रमा पर्ने र विश्वले हालसम्मकै ठूलो आर्थिक मन्दिको सामना गर्नुपर्ने देखिन्छ । चालु आर्थिक वर्षमै विप्रेषण आप्रवाह १० प्रतिशतले कमी हुने नेपाल राष्ट्र बैंकको अनुमान छ भने अधिकांश देशहरुले श्रमिक कटौतीको नीति लिइसकेकाले गर्दा आगामी दिनमा स्थिति अझ भयावह हुने देखिन्छ ।

वैदेशिक रोजगारमा गएका करिब ५० लाख नेपाली युवाहरु देश फर्किएमा हाम्रो कृषि उत्पादनले खान पनि पुग्दैन । विप्रेषणले धानेको अर्थतन्त्रमा विप्रेषण आउने बाटो नै बन्द भएपछि खाद्यान्नलगायत अन्य अत्यावश्यक सामग्री आयात गर्न सक्ने अवस्था पनि रहदैन ।

देशमा गरिबी, भोकमरी र बेरोजगारीको समस्या अझ भयावह हुन सक्छ । हाम्रो उद्योग तथा सेवा क्षेत्रले तत्काल थप रोजगारी श्रृजना गर्नसक्ने अवस्था नरहेकोले  विदेशवाट फर्कने युवालाई कृषि क्षेत्रमै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ र बैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु ग्रामीण क्षेत्रकै हुन् ।

युवाहरुले विदेशमा सिकेको सीपको उपयोग गरी उनीलाई आत्मनिर्भर र स्वाभलम्बी बनाउन पनि थप पूँजी आवश्यक पर्नेछ । नेपालको समग्र ग्रामीण अर्थतन्त्रलाई गतिशिल बनाइराख्नमा सहकारी क्षेत्रको अतुलनीय योगदान छ ।

कृषि, पशुपालन, तथा लघुउद्यम जस्ता क्षेत्रमा सहकारी संस्थाहरुले ठूलो परिमाणमा कर्जा लगानी गरेका छन् । आगामी दिनमा कर्जाको माग अझ बढ्नेछ । विदेशवाट लाखौको संख्यामा फर्कने युवाहरुको व्यवस्थापन गर्न तथा नेपालको ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाइराख्नको लागि सहकारी संस्थाहरुको कर्जा परिचालन क्षमता बृद्धि गर्नुको विकल्प छैन ।

सहकारी संस्थाहरुको वित्तीय श्रोत सीमित भएकाले उनीहरुलाई आवश्यक बाह्य ऋण सजिलै प्राप्त गर्नसक्ने वातावरण निर्माण गर्नु आवश्यक छ । यस सन्दर्भमा थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । जसले सहकारी संस्थाहरुलाई आवश्यक वित्तीय श्रोत बिना धितो छिटो छरितो रुपमा प्रदान गर्ने गर्छन् ।

तथापि उक्त संस्थासंग पनि सीमित वित्तीय श्रोत भएकाले, उनीहरुको पनि क्षमता अभिबृद्धि गर्नुपर्ने देखिन्छ । यसको लागि बैंकहरुले प्रदान गर्नुपर्ने विपन्नवर्ग कर्जाको निश्चित अंश थोक लघुकर्जा प्रदायक संस्थालाई प्रदान गर्नुपर्ने व्यवस्था मात्र गर्न सके पनि पर्याप्त हुन्छ ।

त्यस्तै थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाले पनि आफ्नो कुल कर्जा लगानीको निश्चित अंश सहकारी संस्थालाइ प्रवाह गर्नुपर्ने व्यवस्था गर्न सकिन्छ । कुनैपनि महामारीको सबभन्दा चर्को मार झेल्ने भनेकै तल्लो वर्ग हो ।

तसर्थ तल्लोवर्गको पुनरुत्थान गर्नका लागि सहकारी तथा खुद्रा लघुवित्त वित्तीय संस्थामार्फत ग्रामीण भेगमा पर्याप्त पूँजी परिचालन गर्नु आवश्यक छ र यस काममा थोक लघुकर्जा प्रदायक वित्तीय संस्थाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

अन्त्यमा, सरकारले आगामी दिनमा अर्थतन्त्रलाई गतिदिने कार्यक्रम ल्याउँदा सबै प्रकारका वित्तीय सेवा प्रदायक संस्थाहरुले निर्वाह गर्न सक्ने भूमिकाको विश्लेषण गरी, ग्रामीण तथा शहरी अर्थतन्त्रका सबै क्षेत्रको सन्तुलित विकासको सुनिश्चितता गर्नु आजको आवश्यकता हो।

(लेखक रूपन्देहीस्थित आरएसडीसी लघुवित्त वित्तीय संस्थाका कर्जा विभाग प्रमुख हुन् ।)

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स