अमेरिकामा बस्ने अवधी सकियो ? यसरी थप्न सकिन्छ म्याद



बाल्टिमोर । कोरोना भाइरसका कारण अन्य देशभन्दा अहिले अमेरिका धेरै प्रभावित छ । संसारमा सबै देशकोभन्दा अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख बढी गुगिसकेको छ भने झन्डै १२ हजार व्यक्तिको मृत्यू भइसकेको छ ।
कोरोना भाइरसकै संक्रमणको कारण ३ नेपालीको पनि निधन भइसकेको छ ।

खासगरी अमेरिकामा कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिबाट स्थायी बसोबास गर्ने भन्दा पर्यटक तथा विद्यार्थीकोरुपमा अमेरिका पुगेका विदेशी नागरिक प्रभावित भएका छन् ।

परिवार भेट्न आउने, घुमफिरको लागि आउने, छोराछोरीको दिक्षान्त समारोहको लागि वा अन्य उत्सवको लागि अमेरिका आउने नेपालीलगायतका विदेशीहरु अहिले लकडाउन तथा हवाई प्रतिवन्धको कारण प्रभावित भएका छन् ।

किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण

अमेरिकाले युरोपका देशहरुमा हवाई प्रतिबन्धको घोषणा गरेको छ भने चीनलगायतका देशमा पनि आंशिकरुपमा प्रतिबन्धहरु लगाएको छ । नेपालको हकमा भने अमेरिकाले प्रतिबन्ध नलगाए पनि नेपालको तर्फबाट अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको कारण अमेरिका वा विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन समस्या हुँदै आइरहेको छ ।

यता अमेरिकामा रहेका तर कानूनीरुपमा बस्ने अवधी सकिन लागेका धेरै नेपालीलाई भने अब के हुने भन्ने अन्यौलता देखिएको छ । नेपाल जान नमिल्ने तथा नपाउने र यहाँ बस्न समेत भिषा सकिन लागेका व्यक्तिको हकमा अन्यौलता बढेसँंगै यहाँको सरकारले समेत त्यस्ता व्यक्तिको लागि स्पष्ट नीति लिइसकेको छैन ।

कोरोनाको महामारीमा यस्तो छ अमेरिकामा नेपालीको व्यथा, नर्स भन्छिन्- अस्पताल नआउनू

कानूनविदहरुले भने तत्कालको लागि नेपाल जाने अवस्था नभए यहाँ वस्ने अवधी थप्न निवेदन दिन आग्रह गरेका छन् । अमेरिकामा भ्रमणको लागि आएका व्यक्तिहरुले यहाँ वस्नुपर्ने समय लम्ब्याउन परे यहाँको गैरआप्रवासी कानून अनुसार कानूनी रुपमा बसोबार लम्ब्याउनुपर्ने कारण सहित यहाँको नागरिकता तथा आप्रवासी सेवा दिने निकायमा निवदेन दिनुपर्ने हुन्छ ।

अमेरिकाको युएससिआइएस https://www.uscis.gov/visit-united-states/extend-your-stay को लिंकमा गएर यहाँ वस्नुपर्ने कारण सहित अवधी थप्न विज्ञहरुले सुझाव दिएका छन् ।

न्यूयोर्कमा लामो समयदेखि कानूनी परामर्स दिँदै आएका अभिवक्ता वासु फुलाराले नेपाल फर्कन तत्काल संभव नभएर बसोबास अवधी थप्ने निवेदन दिन सम्बन्धित नेपालीहरुलाई आग्रह गरेका छन् ।

‘पछि के हुन्छ भन्ने निर्णय भइसकेको छैन तर भिषाको समय सकिँदै वा वसोवास गर्न पाउने कानूनी समयसीमा सकिँदै छ भने अनलाइनबाटै वसाई लम्ब्याउन आवेदन दिन सकिन्छ,’ उनले भने ‘यति मात्रै गरेपनि पछि यहाँ गैरकानूनी हुने संभावना कम हुन्छ ।’

अमेरिकामा ‘लकडाउन’ हुनुभयो ? यसरी घरमै बसेर पनि कमाउन सकिन्छ पैसा

अमेरिकाले पर्यटकहरुलाई एक पटकमा बढीमा ६ महिना (विना कारण) मात्रै अमेरिका वस्ने अनुमति दिन्छ । अर्थात् तपाईको ५ वर्षे भिषा भएपनि अमेरिका आएको ६ महिनामा फर्किनु पर्ने हुन्छ ।

तर केही कारण देखाएर अर्को ६ महिनासम्म वसाई अवधी थप गर्न सकिन्छ । त्यसको लागि निश्कित शुल्क तिरेर अनलनाइन फाराम भर्ने व्यवस्था मिलाईएको छ । निश्चित मापदण्ड पुरा भएको खण्डमा शुल्क समेत तिर्नु पर्दैन ।

कस्ता व्यक्तिले थप्न सक्छन् अवधी ?

युएससिआइएसका अनुसार कानूनीरुपमा गैरआप्रवासी भिषामा अमेरिका प्रवेश गरेका व्यक्तिले गैरआप्रवासी भिषाको अवधी नसकिँदै बसाई अवधी लम्ब्याउन आवेदन दिन सक्नेछन् ।

त्यस्तै अमेरिका आएर कुनै आपराधिक क्रियाकलापमा संलग्न नभएको, कुनै कानूनको उलंघन नगरेको र आफ्नो समय थप अवधीसम्ममा मान्य समय भएको पासपोर्ट हुनुपर्ने उल्लेख गरिएको छ । यूएससिआइएसले यहाँ वस्नुपर्ने कारण र अवस्था हेरेर अवधी थप्ने वा नथप्ने भन्ने निर्णय गर्ने छ ।

कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

अहिलेको अवस्थामा कोरोनालाई नै कारण देखाएर अवधी थप गर्न सक्ने कानूनविदहरु बताउँछन् । यूएससिआईएसले अमेरिका वस्ने अवधी सकिन कम्तीमा ४५ दिन बाँकी रहँदै अवधी थपको लागि निवदेन दिन आग्रह गर्दै आएको छ ।

अवधी थपको लागि प्रतिव्यक्ति ३ सय ७० डलर शुल्क तिर्नुपर्छ । प्राप्त समाचार अनुसार उक्त शुल्कमा छुटको लागि हाल अमेरिकी सरकारले छलफल गरिरहेको छ भने ४५ दिने समयसीमा पनि हटाउन लागिएको छ ।

दुतावास भन्छ- ‘पहल गरिरहेका छौं’

यता वासिंटन डिसीमा रहेको नेपाली दुतावास स्रोतले दिएको जानकारी अनुसार दुतावासले यहाँको विदेश मन्त्रालयमार्फत गैर आप्रवासी पर्यटकको विषयमा केही समयमै नयाँ नीति आउने जानकारी पाएको बताएको छ ।

‘यहाँको सरकारले विदेश मन्त्रालयलाई आवश्यक कार्ययोजना ल्याउन भनेको बुझिएको छ । त्यही अनुसार विदेश मन्त्रालयले कार्ययोजना बनाईरहेको हुनुपर्छ,’ दुतावास स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

दुतावासले भिषा र वसाई अवधी सकिन लागेको गैरआप्रवासीको विषयमा छलफल भइरहेकोले नआत्तिन र यथास्थानमा सुरक्षित रहन नेपाली समुदायलाई आग्रह गरेको छ ।

लचकता अपनाउने पक्षमा युएससीआईएस

यसैबीच अमेरिकाको भिषा तथा आप्रवासन सम्बन्धी अधिकारप्राप्त निकाय यूएससिआइएसले पर्यटक लगायतका भिषामा आएर कोरोनाको कारण आफ्नो देश फर्कन नपाउनेहरुको विषयमा सकेसम्मको लचकता अपनाउने संकेत गरेको छ ।

प्रवक्ता शारोन ई साइडहावरले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार अहिलेको अवस्था पर्यटकको नियन्त्रण भन्दा बाहिरको रहेको र यस्तो अप्राकृतिक प्रकारको कारणबाट प्रभावित कोही कसैलाई पनि अमेरिकाले समस्यामा पर्न नदिने योजनामा यूएससीआइएस रहेको छ ।

युएससीआईएसले आवेदन दिन लाग्ने समयसीमा हटाउने विषयमा समेत छलफल गरिरहेको जनाएको छ । तोकिएको समयअवधीमा अमेरिका नछोडे यहाँ गैरकानूनी हुने र अर्को पटक अमेरिका आउन नपाउने डरको कारण पर्यटकको रुपमा आएका नेपालीहरु चिन्तित छन् ।

अमेरिकाले फर्कायो आफ्ना नागरिक

उता कोरोना भाइरसको कारण नेपाल बन्दको चपेटामा परेका आफ्नो तीन सय नागरिकलाई अमेरिका फर्काएको छ । नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारीअनुसार अमेरिकाले चार्टर फ्लाईट मार्फत गत हप्ता आफ्ना नागरिक फर्काएको हो भने अन्य नागरिक फर्काउन अर्को तयारी भईरहेको छ ।

पहिलो चरणमा अमेरिकाले बृद्धबुद्धा, बालबच्चा तथा विरामीहरुलाई प्राथमिकतामा राखेको बताएको छ । दुतावासले नेपालमा ३ देखि ४ हजार अमेरिकीहरु रहेको अनुमान गरेको छ । जसमध्ये केही मात्रै अमेरिका फर्कन ईच्छुक रहेका जनाईएको छ ।

तुलनात्मकरुपमा कोरोना भाईरसको सन्दर्भमा अमेरिका भन्दा नेपाल अहिलेसम्म सुरक्षित देखिएको भन्दै अमेरिकी पर्यटकहरु अमेरिका फर्कन इच्छुक नरहेको बताईएको छ । केहीले भने दुतावासले चार्टर फ्लाईट महंगो भएको भन्दै आफ्नो टिकटअनुसार फर्कने सुचना दुतावासमा पठाएका बुझिएको छ ।


पुष्प दुलाल