किन लकडाउन हुँदैन अमेरिका ? यस्ता छन् ४ कारण



बाल्टिमोर । कोरोना भाइरसको कारण विश्व चिन्तित छ । संसारको सबै देशभन्दा अमेरिकाको तथ्यांकले त झन् सबैलाई झस्काइरहेको छ । यहाँ दिन दुइ गुणा रात चार गुणाको दरले संक्रमित र मृत्यूदर उच्च भइरहेको छ ।

संसारमा कोरोना संक्रमित दक्षिण कोरिया र केही दक्षिण अमेरिकी देशबाहेक धेरैजसो देशले कोरोना रोकथामको लागि भन्दै देशै लकडाउन (पुरै देश बन्द) गरिरहँदा करिब १ लाख ५० हजारको हाराहारीमा संक्रिमित पुगिसक्दा र २ हजार ५ सय माथिको मृत्यू भइसक्दा पनि अमेरिकामा भने केही सामाजिक दुरी कायम गर्ने नीति बाहेक देशव्यापी लकडाउन गरिएको छैन ।

आखिर किन अमेरिका अरु देशको जस्तो कठोर नीति लिएर देशै बन्द गर्दैन् । के अमेरिका आफ्ना अरु नागरिक मरुन् भन्ने चाहन्छ ? के यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक कदम नचालेरै महामारी फैलिरहेको छ वा उनमा जनताको माया छैन ? यस्ता प्रश्न पछिल्लो समय ह्वाइट हाउसले लगातार सामना गरिरहेको छ ।

अमेरिकामा सामाजिक दुरी कायम राख्ने नीति एक महिना थपियो

नेपाल सरकारले देशमा एक दुई कोरोना भाइरस संक्रमित भटिनासाथ पुरै देश पूर्णरुपमा बन्द ‘लकडाउन’ गर्ने निर्णय गर्यो । उक्त निर्णयको सबैतिरबाट राम्रै प्रशंसा समेत भइरहेको छ । उता १ अर्ब ३५ करोड जनसंख्या रहेको भारतले पनि केही सय कोरोना संक्रमितको पहिचान हुने वित्तिकै देशै पुरै बन्द गरेको छ । यता संसारमै धेरै कोरोना भाइरस संक्रमित भेटिएको देश अमेरिकामा भने आंशिकरुपमा मात्रै कडाइ गरिएको छ । यहाँको केही राज्य बाहेक धेरैजसो राज्यमा संक्रिमित बढ्दै गएपनि दैनिक जनजीवन उतिसारो प्रभावित भएको छैन ।

कोरोना भाइरसले अमेरिका जस्तो शक्तिशाली देशलाई कसरी घुँडा टेक्न बाध्य बनायो ?

लकडाउन नै भएका केही राज्यहरुमा पनि सपिङ्ग सेन्टर तथा मनोरन्जलस्थलहरु बन्द गरिए र भीडभाडमा कडाइ गरिएको छ । केही राज्यले स्टे एट होम (घरमै बस्न निर्देशन) दिएका छन् । तर नेपाल र भारतमा जस्तो प्रहरी नै परिचालन गरिएको छैन । कोरोना भारइरसको जन्मस्थलको रुपमा मानिएको चीनले पनि कठोर लकडाउनबाटै कोरोना नियान्त्रणमा लिएको उदाहरण हुँदाहुँदै अमेरिका किन यो कठोर बाटो अपनाउन तयार छैन ? आज संसार यही प्रश्नको जवाफ खोजिरहेको छ ।

अखिर किन अमेरिका नेपाल, भारत वा चीन जस्तै पुरै देश लकडाउन गर्न सक्दैन ? मुलतः अज हामीले त्यसको जवाफ खोतल्ने प्रयास गरेका छौं ।

कारण नम्बर १ः ट्रम्पको चुनावी स्वार्थ

आजभन्दा ठाक्कै एक हप्ता अगाडि यहाँका डाक्टरहरुको एक समुहले अमेरिकामा कोरोना भाइरसको संक्रमण रोक्न दुई हप्ता वा सो भन्दा बढी लकडाउन गर्न सुझाव दिएका थिए । तर, प्रतिउत्तरमा ट्रम्पले अमेरिका बन्द गर्न नबनेको जवाफ दिए ।

ट्रम्पको यो कठोर शैलीको सबैतिर आलोचना भइरहंदा विश्लेषकहरु भने यही नोभेम्बरमा हुुने राष्ट्रपति चुनावको तयारीको लागि पनि ट्रम्प बन्द तथा सामाजिक दुरी कायम राख्नुपर्ने नियम अरु लम्ब्याउन चाहँदैनन् । उनी जसरी पनि आउने इस्टर पर्व अगाडि नै अमेरिकालाई सामान्य बनाउन चाहन्छन् र आफ्नो राजनीतिक कार्यक्रमहरु सुचारु गर्न चाहन्छन् ।

यसअगाडि यहाँको तल्लो सदनका २० डेमोक्राटिक सांसदले ट्रम्पलाई बन्दको लागि गरेको आग्रहलाई समेत ट्रम्पले नकारेका थिए । धेरैजसोले ट्रम्पको राजनीतिक स्वार्थले नै कोरोना अमेरिकामा फैलिएको आरोप लगाउने गरेका छन् ।

कारण नम्बर २ः केन्द्र भन्दा बलियो राज्य

कोरोनाको तीब्र दबाव र चौतर्फी प्रश्न उब्जिरहेको बेला शनिबार राष्ट्रपति ट्रम्पले न्यूर्योक, न्यूजर्सी र कनेक्टिकट तीन राज्यलाई नै क्वारेन्टाइनमा राख्ने विषयमा छलफल भइरहेको भन्दै एउटा ट्विट गरे । उक्त ट्विट आएको केही समयमै न्यूयोर्कका गभर्नर एन्ड्रू क्योमोले कडा प्रतिवाद गर्दै युद्धको बेला जस्तो व्यवहार नगर्न ट्रम्पलाई चेतावनी दिए ।

यतिमात्रै होइन उनले न्यूयोर्कले आवश्यकता अनुसारको काम गरिरहेको भन्दै फरक व्यवहार नगर्न चेतावनी पनि दिए । अमेरिकाभरीकै सबैभन्दा धेरै लगभग ६० हजार विरामी भेटिएको राज्यका गभर्नरको चेतावनी र कोरोना भाइरस टाक्स फोर्सको सल्लाहपछि ट्रम्प ३ राज्यलाई क्वारेन्टाइनमा राख्ने विचारबाट पछि मात्रै हटेनन् ।

उक्त ३ राज्यमा यात्रा गर्दा सावधानी अपनाउन निर्देशन जारी गर्ने सम्मको निर्णय मात्र लिए । यो एउटा उदाहरण मात्रै हो । यहाँ निकै ठूलै राष्ट्रिय संकट बाहेक राज्यहरुका गर्भनर नै आफ्नो निर्णय लिन आफैं लिन स्वतन्त्र हुन्छन् । र, कोरोना प्रभावित धेरै राज्यहरुले यसैगरी व्यवस्थापन गर्दै आइरहेका छन् ।

कारण नम्बर ३ः गम्भीर आर्थिक संकट

कोरोनाको महामारी सुरु भएको पछिल्लो १५ दिनमै यहाँको अर्थतन्त्रले ठूलो नोक्सानी व्यहोरिसकेको छ । सेयर बजारको १० देखि १५ ट्रिलियन डलर बजार पुँजीकरणमा नोक्सानीको अनुमान गरिएको छ भने सरकारले केही दिन अगाडि मात्रै करिब २ ट्रिलियन डलरको राहतको योजना ल्याएको छ ।

आंशिक बन्दले मात्रै पनि केन्द्रीय सरकारमा करिब २५ लाख वेरोजगारी भत्ताको लागि निवेदन परेको छ । वेरोजगारी दर बढेर ४० लाख नाघेको अनुमान गरिएको छ । यो क्रम दिनानूदिन बढिरहेको छ ।

कानूनीरुपमा अमेरिकाको नियमअनुसार यसरी कर्मचारी/कामदारको गल्तीबाहेक बाह्य कारणले वेरोजगार हुनुपरे सरकारले भत्ता वा अर्को रोजगार नमिलेसम्मको लागि आवश्यक खर्च प्रदान गर्नुपर्ने हुन्छ ।

वेरोजगारी मात्रै नभएर कल–कारखाना तथा उद्योग व्यवसाय सबैतिरको भार सरकारमाथि थुप्रिन्छ भने सरकारको दैनिक आम्दानीमा समेत ठूलो नोक्सानी हुन जान्छ । यही कारण पनि राष्ट्रपतिका सल्लाहकारहरुले तत्काल लकडाउनको बाटो नसमात्न सुझाव दिएको अनुमान गरिन्छ ।

कारण नम्बर ४ः नागरिक स्वतन्त्रता

केही महिना अगाडि चीनको वुहान शहर कोरोना भाइरसको कारण बन्द हुँदा नागरिक अधिकार हनन् गरेको भन्नेमा अमेरिका पनि अगाडि थियो । सामान्यतया नागरिक स्वतन्त्रताको विषयमा वकालत गर्नेमा अग्रपंतीमा अमेरिका देखिन्छ ।

व्यक्तिगत स्वतन्त्रताको हिसाबमा अमेरिका मजबुत राष्ट्र भएको कारण यहाँ नागरिकलाई अन्य देशको जस्तो कठोर परिबन्दमा पार्न संभवत अमेरिका चाहँदैन वा अहिलेनै त्यो अवस्था आइनसकेको ह्वाइट हाउसको विश्लेषण हुनसक्छ ।


पुष्प दुलाल