अमेरिकामा सामाजिक दुरी कायम राख्ने नीति एक महिना थपियो



बाल्टिमोर । अमेरिकामा कोरोना भाइरसको संकटपछि ल्याइएको सामाजिक दुरी कायम राख्नेलगायतका केही नीतिहरुको समय अप्रिल ३० सम्मका लागि थप गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको समयमा सामाजिक दुरी तथा केही अहिलेका नीतिहरुलाई थप ३० दिन थप्ने निर्णय भएको सुनाए ।

दुई हप्ता अगाडि ह्वाईट हाउसले कोरोनाको संक्रमण फैलिन नदिन १५ दिने नीति बनाएको थियो जुन सोमबार सकिँदैछ । यस अगाडि ट्रम्पले अप्रिल १२ अर्थात इस्टर पर्वको दिनसम्ममा अमेरिकालाई सामान्य अवस्थामा फर्काइने बताएका थिए ।

तर, कोरोनाको महामारी अत्यासलाग्दो हुँदै गएपछि ट्रम्प आफ्नो अडानबाट पछि हटेका हुन् ।

ट्रम्प प्रशासनले कोरोना संक्रमण बढ्दै गएपछि हुईहप्ता अगाडि सार्वजनिक गरेको नीतिमा १० जनाभन्दा बढी भेला हुन नपाइने तथा सामाजिक दुरी (व्यक्ति व्यक्ति बीचको दुरी) करिब ६ फिटको हुनुपर्ने लगायतका नीतिसमावेस गरेर राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।

‘जति राम्ररी अमेरिकी जनताले यो नियमको पालना गर्नुहुन्छ त्यति नै छिटो हामी यो संकटबाट बाहिर आउन सक्षम हुने छौं,’ ट्रम्पले भने ।

उनले कोरोनाको विषयमा नयाँ कार्ययोजना अबको केही दिनमा तयार हुने समेत बताए । नयाँ कार्ययोजनाको विषयमा विस्तृतमा मंगलबार बताउने उनको भनाई थियो ।

यसअघि गतहप्ता मात्रै ट्रम्पले सामाजिक दुरी कायम राख्ने र धेरै नागरिक भेला हुन नपाउने नीतिले आर्थिक रुपमा ठूलो क्षति भएको भन्दै यसलाई अन्त्य गर्न चाहेको बताएका थिए ।

ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकारहरुको चेतावनीको बावजुत अमेरिकालाई सामान्य अवस्थामा फर्काउन चाहेको बताएको एक हप्तामै ट्रम्पको नयाँ नीति आएको हो ।

उनले भाइरस संक्रमण नियन्त्रणको दिशामा नरहेपनि अबको एक महिनाभित्रमा अवस्थामा सुधार आउने आसा गरे । ‘मलाई लाग्छ आगामी जुन १ बाट हामी पुन सामान्य जीवन सुरु गर्न सक्ने छौं’ उनले पत्रकार सम्मेलनमा भने ।

कोरोना संक्रमित झण्डै ढेड लाख

यसैबीच अमेरिकामा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या आइतबारसम्म १ लाख ४५ हजार नजिक पुगेको छ ।

यहाँको जोन्स हप्किन युनिभर्सीटीले आइतबारसाँझसम्म १ लाख ४२ हजार ५ सय २ जना संक्रमित रहेको र २ हजार ५ सय ६ जनाको निधन भएको उल्लेख गरेको छ । जसमध्ये न्युयोर्क राज्यमा मात्रै सबैभन्दा धेरै करिब १ हजार जनाको निधन भएको छ ।

यस्तै ४ हजार ८ सय ५६ जना निको भएर घर फर्केका छन् । संक्रमित मध्ये न्युयोर्क एकै राज्यमा करिब ६० हजार रहेका छन् ।


पुष्प दुलाल