अमेरिकामा ‘लकडाउन’ हुनुभयो ? यसरी घरमै बसेर पनि कमाउन सकिन्छ पैसा



बाल्टिमोर । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको कारण अमेरिका पनि आक्रन्त छ । शुक्रबारदेखि राष्ट्रिय संकटकाल घोषणा गरिएको अमेरिकामा समेत ३४ सय माथिका विरामी भेटिएका छन् भने यो आलेख तयार पार्दासम्म ६५ जनाको निधन भइसकेको छ ।

उता युरोपतिर यही रोगको कारण पुरै देशै लकडाउन (देश बन्द, वा नागरिकलाई घरबाहिर निस्कनबाट रोकावट) भएको समाचार आइरहेका छन् । अमेरिकामा पनि न्यूर्योक तथा क्यालिफोर्नियाका केही शहरहरु आंशिक लकडाउन गर्न शुरु भइसकेको छ ।

संकटकाल घोषणा गरिएको अमेरिकामा पनि केही राज्यमा अध्याधिक संक्रमणको कारण सार्वजनिक स्कूलहरु बन्द गरिएको छ भने सरकारी कार्यालयहरुमा सिमितको मात्रै पहुँच निर्धारण गरिएको छ ।

शनिबार मात्रै न्यूजर्सीको एउटा शहरका स्थानीयलाई बाहिर ननिस्कन निर्देशन दिईएको थियो भने आइतबार न्यूर्योकका केही शहरहरुमा थप कडाई गरिएको छ । आखिर अमेरिकामा यही गतिमा भाइरसको संक्रमण बढ्दै गएमा कुनै दिन यहाँ पनि पुरै देश लकडाउन नहोला भन्न सकिँदैन ।

शनिबारदेखि संसारकै ठूलो कम्पनीको रुपमा चिनिएको एप्पलले चिनबाहेकका आफ्नो सबै स्टोरहरु बन्द गर्ने घोषणा गरिसकेको छ भने नाइकीले पनि मार्च २७ सम्म स्टोरहरु बन्द गर्न घोषणा गरेको छ । यता गुगल तथा अमेजोनले कर्मचारीहरुलाई घरबाटै काम गर्न प्रोत्साहन गरिरहेका छन् ।

कम्पनीहरुले मात्रै नभएर सरकारी निकायले पनि घरबाट काम गर्न मिल्नेहरुलाई घरबाटै काम गर्न आग्रह गर्दै आएको छ ।

सरकारी निकाय र कम्पनीहरुले यस्तो आपतको समयमा कार्यालय बन्द गर्नुपरेपनि कर्मचारीलाई तलब रोक्न मिल्दैन तर दिनको १२ देखि १७ घण्टासम्म स्टोरमा काम गर्ने बानी भएका र घरबाट काम गर्न नमिल्ने धेरैको हकमा भने कोरोनासंगै अमेरिकामा बेरोजगार बन्नुपर्ने अवस्था समेत आउनसक्छ ।

लामो समय बन्द अवस्थामा घरमै रहनुपर्ने अवस्था आए मानसिक तथा आर्थिक समस्या थपिन सक्छ । घरमा बसेको समयमा कसरी क्रियटिभ हुने वा केही पैसा समेत आम्दानी गर्न सक्ने उपयाहरुको विषयमा जानकारी भए समय व्यतित गर्नको साथ साथै आम्दानी पनि गर्न सकिन्छ ।

कसरी सम्भव हुन्छ कार्यालयको काम घरबाट ?

नेपालमा सरकारी कार्यालयबाटै त समयमा नहुने काम कर्मचारीले घरमै परिवारसंग बसेर कसरी गर्न सक्छन् ? यो प्रश्न सबैको मनमा उब्जिन सक्छ । फेरी घरमा कार्यालयको काम गरिरहेको छु भनेर कर्मचारी खेत जोत्न गए भने वा भट्टीतिर गए कसरी अनुगमन गर्ने ? भन्ने प्रश्न पनि उब्जिन सक्छ । सुचना प्रविधिमा काम गर्नेहरुलाई सामान्य लागेपनि आम मानिसमा भने यो विषय नयाँ हुनसक्छ ।

रिमोट वर्करको रुपमा चिनिने कर्मचारीहरुलाई कम्पनी वा सरकारी कार्यलयले भीपीएन नामक निजी नेटवर्क ट्र्याक गर्ने सिस्टम बनाएको हुन्छ । यो सिस्टमले कार्यालय बाहिरबाट रिमोट वर्करका लागि कार्यालयको नेटवर्कको पहुँच बनाईदिने काम गर्दछ ।

कार्यालयले दिएको राउटरमा मात्र उपलब्ध हुने यो सुविधा कार्यालयले नै दिएको वा प्रमाणित गरेको कम्पूटरमा मात्र जोड्न सकिन्छ जसबाट कार्यालयको पुरै नेटवर्क घरमा स्थापित हुन्छ ।

जोखिम र संवेदनशिलको साथै यस्ता काम गर्नेहरु कार्यालयको निगरानीमा हुने भएको कारण पुरै कार्यालय समयभर सम्पर्कमै रहनुपर्ने हुन्छ । कार्यालयका सुचना प्रविधि प्राविधिकको नियन्त्रण हुने भएकोले कार्यालयमा काम गर्नु र घरबाट काम गर्नुमा कुनै फरक नहुने यस्तो काममा पोख्त नेपालीहरुकै अनुभव रहेको छ ।

‘संगै काम गर्ने साथीभाइहरुसँग व्यक्तिगत भेटघाट नहुनु मात्र वेफाइदा हो । कार्यालयको कामहरु सबै समयमै कम्प्युटरमै गर्नुपर्ने भएकोले घर र कार्यालयमा केही फरम हुँदैन ।’

सरकारी कार्यलयमा काम गर्ने एक नेपालीको अनुभव रहेको छ । अमेरिकामा अहिले मात्रै होईन धेरै समय अगाडि देखि अत्यावश्यक बाहेकका सरकारी र कम्पनीहरुको जागिर खान कार्यालय नै गईरहनु पर्दैन ।

सरकारी जागिर नहुने र कार्यालयले घरबाट काम गर्ने वातावरण नमिलाएकाहरुलाई भने अनिश्चितकालिन लकडाउन पट्यारलाग्दो हुनसक्छ । त्यसको लागि केही क्रियटिभ उपायहरु भने प्रसस्त छन् ।

युट्युवर

सामान्यतया युवट्युबर बन्नको लागि कुनै योग्यता तथा सर्टिफिकेट चाहिँदैन । मात्र तपाईसंग केही नयाँ सीप र योजना हुनुपर्ने छ । आफूले जानेको नयाँ कुराहरुको विषयमा युट्युबमा भिडियो बनाएर अपलोड गर्नसक्नुभयो भने पनि तपाईले राम्रो आम्दानी गर्न सक्नुहुने छ ।

नेपालमा युट्युबर भन्ने वित्तिकै सञ्चारकर्मीको रुपमा मात्रै हेर्ने गरिन्छ । तर अमेरिकामा आफ्नो सीप क्षमता भिडियो मार्फत प्रस्तुत गरेर पनि राम्रो चर्चा र रकम समेत कमाउन सकिन्ट ।

जस्तो तपाईलाई कम्प्युटरको विषयमा राम्रो जानकारी छ भने आफ्नो ज्ञान अरुलाई भिडियो मार्फत सिकाएर पनि समय विताउनुको साथै केही राम्रो आम्दानी गर्न सक्नुहुने छ ।

यूट्युबमा आज भिडियो अपलोड गरेर भोली पैसा कमाईने नभई निश्चित मापदण्ड पुरा गरेको हुनुपर्ने छ । तर अहिले युट्युब बुस्ट गर्ने सुविधा समेत भएको कारण केही समयमै मापदण्ड पुरा हुनसक्ने अवस्था हुन्छ । यस्ता सृजनसिल कार्यले पनि तपाईको घरको बसाई थोरै कम पत्यारलाग्दो हुनसक्छ ।

कम्पनीको प्रतिनिधि बन्नुहोस्

अमेरिकामा रहेका नेपालीमध्ये कमै मात्रैलाई जानकारी हुनसक्छ हामीले दैनिक अनलाईनबाट सामाग्री खरिद गर्ने अमेजोन, वालमार्ट, बेस्टवाई, इवेलगायतका कम्पनीहरुले स्वतन्त्र अनलाईन मार्केटिंग प्रतिनिधि राखेका हुन्छन् ।

यस्ता कम्पनीहरु सामाग्री अनलाईन विक्री गराईदिए वापत आफूले निश्चित रकम कमिशनको रुपमा आम्दानी गर्न सकिन्छ । जस्तो अमेजोनले बढीमा १० प्रतिशतसम्म कमिशन दिने गर्दछ भने वालमार्ट र वेस्टवाईले पनि सोही हाराहारीमा कमिशन दिने गर्दछ ।

तपाईको काम भनेको घरमा कम्पूटरमा बसेर ग्राहक खोज्ने हो । यसरी खोजेको ग्राहकले किन्ने सामानमा कुनै अतिरिक्त शुल्क तिर्नुपर्दैन तर तपाईले पाउने कमिशन रोकिँदैन । आफ्नो सामाजिक सञ्जाल तथा वेभसाइडमार्फत प्रचार प्रसार गर्दै यी कम्पनीहरुको प्रतिनिधि बनेर समेत राम्रो रकम आम्दानी गर्न सकिन्छ ।

त्यसमा तपाईले आफ्ना साथीभाई तथा सामाजिक सञ्जालमा रहेका व्यक्तिहरुलाई आवश्यक परेको सामान आफ्नो माध्ययमबाट खरिद गर्न प्रोत्साहन गरेर कमिशन वापतको रकम आम्दानी गर्न सक्नुहुने छ । पछिल्लो समयमा यस्तो स्वरोजगारी पेसामा नेपालीहरुको पनि उल्लेख्य सहभागिता रहँदै आएको छ ।

सेयर कारोबार सिक्नुहोस्

नेपालमा सामान्य जानकारी भएको व्यक्तिलाई सेयर बजार अर्थात स्टक मार्केट भन्नेवित्तिकै निकै प्राविधिक विषय लाग्न सक्छ । तर अमेरिकामा सेयर कारोबार एकदमै सजिलो र सबैको पहुँचमा रहेको छ । घरबाटै मोबाइल एपमा अनलाईन कारोबार गर्न सकिन्छ ।

अहिले अमेरिकी सेयर बजार संवेदनशिल अवस्थामा रहेको छ तै पनि सानो रकमबाट कारोबार गर्न सिक्नु भयो भने यसले भविष्यमा लाभ हुने छ । कम्पनीको प्राविधिक पक्ष बुझेर सेयर बजारमा लगानी गर्ने हो भने त्यसले प्रसस्तै आम्दानी हुन सक्छ । उक्त काम गर्न घरबाहिर निस्कनु पर्दैन ।

डेलिभरी सेवा सुरु गर्नुहोस्

अमेरिकामा जति जति इ-कमर्स व्यवसाय बढ्दै छ त्यति नै ग्राहकको घरघरमा सामान डेलिभरी गर्ने व्यक्तिको अभाव समेत बढ्दै छ । अहिले कोरोना भाइरसको जोखिम बडिरहेको समयमा व्यक्तिसंग सम्पर्क नगरिकनै पनि यस्ता डेलिभरी व्यवसाय सुरु गर्न सकिन्छ । यसको लागि पनि कुनै योग्यता तथा सीपको आवश्यकता पर्दैन । तपाईले आज एप्लाई गरेर भोलीबाटै पैसा आम्दानी गर्न सक्नुहुने छ ।

अमेजोन फ्लेक्सको साथै अन्य खाना घर घरमा पु¥याउने डोरड्यास, उबर ईटजस्ता कम्पनीको काम गरेर पनि राम्रो आम्दानी गर्न सकिन्छ । यि सबै कम्पनीहरुले हाल कुनै व्यक्तिसंग सम्पर्कविना नै सामान डेलिभरी गराउन मिल्ने व्यवस्था गरेका छन् ।

अनलाइन विजनेस सुरु गर्नुहोस्

भनिन्छ अमेरिकामा अवसर खोज्नेलाई केही कुराको कमी छैन । अहिलेको परिस्थितीले यो कुरालाई थप बल पुर्याएको छ । हाल अमेरिकामा कोरोना भाइरसको कारण सपिङ्ग सेन्टर तथा सुपरमार्केटको व्यवसाय तहसनहस भएको समयमा अनलाईन व्यवसाय भने ३ सय प्रतिशतसम्म बढेको पाईएको छ ।

मुख्यगरी अमेजोन तथा इवे अहिलेका मुख्य अनलाईन व्यापार गर्ने कम्पनी हुन् जसले तपाई हामी जस्ता तेस्रो पक्षका व्यक्तिको सामान विक्री गर्ने अनुकुल वातावरण पैदा गराईदिन्छन् । अमेजोनमा तपाईले व्यापार गर्न मासिक रुपमा निश्चित रकम भुक्तानी गर्नुपर्ने हुन्छ भने ईवेमा कमिशन मात्र तिरे पुग्छ ।

अमेरिकाले हालसम्म आयात निर्यातमा कुनै असर नपरेको बताईरहेका बेला तपाई पनि होलसेलरसंग ठूलो परिमाणमा सस्तोमा सामान किनेर यि अनलाईनहरुमा विक्री गर्न सक्नुहुने छ । यसको लागि पनि कुनै योग्यता चाहिँदैन भने हुलाक बाहेक घरबाहिर निस्कनु पर्दैन ।

यो बाहेक हातमा सिप भएका जस्तै सुचना प्रविधिमा राम्रो ज्ञान भएका तथा कुनै न कुनै सिप भएका व्यक्तिले घरमा बसेर अनलाईबाटै राम्रो काम र आम्दानी गर्न सक्छन् ।

प्रविधिमा राम्रो ज्ञान हुनेले डाटा ईन्ट्री, वेभ तथा मोबाइल एप डिजानबाट पनि रकम आम्दानी गर्नसक्छन् भने नेपाली अंग्रेजी भाषामा राम्रो ज्ञान हुनेले ट्रान्सलेटरको रुपमा पनि काम गरेर रकम आम्दानी गर्न सकिन्छ । जसरी हुन्छ आफूलाई सक्रिय बनाउन सकियो भने यो अनिश्चतकालिन संकटमा राहतको महसुस हुने देखिन्छ ।


पुष्प दुलाल