११ वर्षीय विद्यार्थी अविक गौतमद्वारा लिखित पहिलो उपन्यास सार्वजनिक

0
Shares

काठमाडौं । काठमाडौंस्थित निसर्ग बाटिका स्कूलमा अध्ययनरत ११ वर्षीय कक्षा ५ का विद्यार्थी अविक गौतमको पहिलो उपन्यास द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्यान्ड शनिबार विशेष समारोहका बीच सार्वजनिक गरिएको छ ।

करिब १०० जना विशिष्ट अतिथि, लेखकका विद्यालयका साथीहरू, उनीहरूका अभिभावक तथा परिवारजनको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रमको अध्यक्षता भुँडीपुराण प्रकाशनका निर्देशक केशव पराजुलीले गरेका थिए । प्रमुख अतिथिका रूपमा स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ उपस्थित थिए । विशेष अतिथि तथा पुस्तकका समीक्षक प्रमोद प्रधान (बाल साहित्य समाजका निवर्तमान अध्यक्ष) थिए ।

साथै, समीक्षक तथा पत्रकार विन्देश दहालले पुस्तकबारे आफ्नो धारणा व्यक्त गरे । कार्यक्रममा निसर्ग बाटिका स्कूलका प्रधानाध्यापक अतिथि वक्ताका रूपमा उपस्थित थिइन् । सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवाल र बालअधिकार अभियन्ता कृष्ण सुवेदीले पनि मन्तव्य राखेका थिए ।

लेखकका अभिभावक रबिन्द्र गौतम र सबिना थापा तथा हजुरबुवा रामकुमार थापाको समेत उपस्थिति रहेको थियो ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित उक्त उपन्यास अविकले ९ वर्षको उमेरदेखि लेख्न सुरु गरेका थिए । सन् २०२५ जुनमा उनले प्रारम्भिक पाण्डुलिपि तयार पारेका थिए ।

साहसिक तथा कल्पनाशील कथामा आधारित यस कृतिले जिज्ञासा, साहस र अनपेक्षित यात्रामार्फत जीवन रूपान्तरणका विषयलाई उजागर गरेको छ ।

कार्यक्रममा वक्ताहरूले कम उमेरमै देखिएको अविकको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुतिको प्रशंसा गर्दै बालबालिकामा पठन संस्कृति र सिर्जनशीलताको प्रवर्धनका लागि यस्तो पहल प्रेरणादायी रहेको उल्लेख गरे ।