
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि प्रतिनिधिसभा निर्वाचन भाँड्न खोजेको आरोप लगाएको छ।
शनिबार विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण सिर्जना भइरहेको जनाएको छ।
एमालेले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी सरकारको भए पनि शान्ति–सुरक्षाको अवस्था भरोसायोग्य बन्न नसकेको दाबी गरेको छ।
देशका विभिन्न स्थानमा आफ्नो चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाउने, नेतृत्वप्रति घृणा फैलाउने तथा अशान्ति निम्त्याउने गतिविधि बढेको आरोप विज्ञप्तिमा उल्लेख छ।
एमालेले यस्ता गतिविधिलाई मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने गम्भीर षड्यन्त्रको संज्ञा दिएको छ। सरकार र सम्बन्धित निकायलाई शान्ति–सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्दै दोषीमाथि कारबाही गर्न माग गरिएको छ।
फागुन २१ को निर्वाचनलाई ‘देश बनाउने र जलाउनेबीचको जनमत संग्रह’ का रूपमा व्याख्या गर्दै एमालेले ‘भोट फर चेन्ज’ जस्ता नारामार्फत जनमत प्रभावित पार्न खोजिएको आरोप लगाएको छ। सर्वेक्षणको नाममा नक्कली नतिजा सार्वजनिक गरी मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको पनि उसले दाबी गरेको छ।
निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने आकलनपछि रास्वपाले विभिन्न जिल्लामा दलका झण्डा र चुनाव चिन्ह जलाउने, समुदायबीच द्वन्द्व सिर्जना गर्ने र हिंसा भड्काउने काम थालेको एमालेको आरोप छ। गौरमा जारी अनिश्चितकालीन कर्फ्युको उदाहरण दिँदै एमालेले यस्ता घटनाले मतदाताको सुरक्षित मतदान अधिकार प्रभावित हुने जनाएको छ।
यसैबीच, निर्वाचन आचारसंहिताको उल्लंघनका घटनामा निर्वाचन आयोग उदासीन बनेको आरोप पनि एमालेले लगाएको छ। विशेषगरी होली पर्वको अवसर पारेर पार्टी चिन्ह अंकित सामग्री वितरण गरिएकोप्रति आयोगले प्रभावकारी अनुगमन नगरेको भन्दै एमालेले गम्भीर ध्यानाकर्षण गराएको छ।
एमालेले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गरी निर्वाचनका लागि सहज वातावरण निर्माण गर्न सरकारसँग पुनः माग गरेको छ।








प्रतिक्रिया