नेकपा सरकारले पत्याएका रामशरण पुडासैनी, महिनाको १८ लाखको जागिरदेखि कामु सचिवको जिम्मा



काठमाडौं । मन्त्रीपरिषद्को बैठकले अर्थमन्त्रालयमा रिक्त रहेको राजस्व सचिवको जिम्मा मन्त्रालयमा सहसचिव रामशरण पुडासैनीलाई कामु सचिव बनाएर दिने निर्णय गरेको छ । पुडासैनी अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुख थिए ।

अर्थमन्त्रालयमा दुईवटा सचिव रहने व्यवस्था छ । अर्थसचिव राजन खनाल अवकास भएसँगै राजस्व सचिव शिशिर ढुंगाना अर्थसचिव बनेका थिए । त्यसपछि राजस्व सचिवको पद खाली थियो । सरकारले यसमा मन्त्रालयका सहसचिव पुडासिनीलाई कामुसचिव बनाएर जिम्मा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले सचिवहरुको सरुवाको निर्णय गरेको थियो । जसमा अर्थमन्त्रालयमा खाली रहेको राजस्व सचिवमा कामु बनाएर पुडासैनीलाई जिम्मा दिने निर्णय गरेको हो ।

पुडासैनीलाई कामु सचिव बनेपछि काठमाडौं बाहिर नगएर नै सचिव बन्ने बाटो सरकारले खोलिदिएको छ । सरकारले सहसचिवबाट सचिवमा बढुवा गर्दा प्रदेशको मुख्यसचिवको रुपमा सचिवलाई खटाएर काठमाडौंमा भित्राउने गर्छ । तर,सबैको हकमा यो व्यवस्था लागु हुँदैन ।

महिनाको १८ लाख तलब खाने जागिरबाट सुवेदी आउट पुडासैनी इन

पुडासैनी वर्तमान केपी शर्मा ओलीको सरकारले निकै नै पत्याएका निजामति कर्मचारी हुन् । यसअघि एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई हटाएर बाँकी ८ महिनाको लागि पुडासैनीलाई पठाउने निर्णय केपी शर्मा ओलीको सरकारले गरेको थियो ।

सोमलाल सुवेदीले एशियाली विकास बैंकको बैकल्पिक कार्यकारी निर्देशकमा कार्यकाल बाँकी रहदै राजीनामा दिएर जाने निर्णय लिएपछि निजामति कर्मचारीको संरचनामा परिवर्तन भएको थियो । शेरबहादुर देउवाको सरकारले सुवेदीलाई पठाएपनि ओली सरकार बनेको चार महिनापछि पुडासैनीलाई पठाउने निर्णय गरेको थियो । एशियाली विकास बैंकबाट फर्केपछि पुडासैनी अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुख रुपमा कार्यरत थिए ।

यस्तै मन्त्रीपरिषद्को बैठकले विभिन्न मन्त्रालयको सचिव सरुवा गरेको छ ।

जसमा भूमिसुधारबाट सुर्यप्रसाद गौतमलाई संघीय मामला,संघीयका यादव कोइरालालाई स्वास्थ्य,उद्योग वाणिज्यको यामकुमारी खतिवडालाई महिला,महिला मन्त्रालयका चन्द्र घिमिरेलाई उद्योग वाणिज्य तथा स्वास्थ्यका खगराज बराललाई उपराष्ट्रपति कार्यालय,काठमाडौं महानगरका प्रमुख प्रशासियक अधिकृत केदार न्यौपानलेलाई भूमि सुधार तथा सहसचिव एकनारायण अर्याललाई बढुवा गरेर काठमाडौं महानगर पालिकाको प्रमुख प्रशासयिक अधिकृतको जिम्मेवारी दिएको छ ।


क्लिकमान्डु