
काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति निजी क्षेत्रको मात्रै नभएर राष्ट्रको सम्पत्ति भएको बताएका छन् ।
देशको अर्थतन्त्र उकास्ने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा मन्त्री खनालले यस्तो बताएका हुन् ।
‘निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति लगानीकर्ताको मात्रै होइन, राष्ट्रको सम्पत्ति हो । त्यो क्षति हुनु भनेको राज्यको क्षति हुनु हो । निजी क्षेत्रले कमाएको नाफा पनि सबैतिर वितरण हुने गर्दछ । जुन कुरा सबैले राख्नु भएको छ,’ खनालले भने, ‘तर, पनि हरेक पटकको आन्दोलनमा निजी क्षेत्र निसानामा पर्ने गर्दछ ।’ उनले, यसर्थ नागरिक, सरकार र निजी क्षेत्र सबै यस विषयमा एक ठाउँमा उभिन आवश्यक भएको बताए ।
‘यस बीचमा कतिपय अर्थतन्त्रका सूचकहरु सकारात्मक अवस्थामा छन् । न्यून मूल्यवृद्धि, पर्याप्त तरलता, न्यून ब्याजदर र विदेशी मुद्राको सञ्चिति सकारात्मक अवस्थामा छन्,’ खनालले भने, ‘तर, लगानी वृद्धिको दर भने एकदमै कमजोर छ । निजी क्षेत्रले खरानीबाट फेरि उठ्छौं भन्दा पनि मनोबल भने अझै बढ्न सकेको देखिँदैन ।’
उनले यो पाटोमा काम गर्नुपर्ने आवश्यक्ता रहेको र सरकारले सोही प्रयास गरिरहेको बताए ।
भदौ २३ र २४ गतेको जनेजी प्रदर्शनले निजी क्षेत्रमा क्षति गरेपछि सरकारले पटकपटक यस विषयमा संवाद गर्दै आएको उनले उल्लेख गरे । निजी क्षेत्रले पनि निरन्तर रुपमा हामी फेरि उठ्छौं भनेर प्रतिबद्धता देखाउँदै आएको खनालले बताए ।










प्रतिक्रिया