महिनाको १८ लाख तलब खाने जागिरबाट सुवेदी आउट पुडासैनी इन



काठमाडौं । महिनाको १८ लाख तलब सुविधा हुने जागिरबाट पूर्व मुख्यसचिव डा सोमलाल सुवेदीलाई हटाउने निर्णय सरकारले गरेको छ ।

बिहीबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले एशियाली विकास बैंकको बैकल्पिक निर्देशकमा सुवेदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनको ठाउँमा सरकारले अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई पठाउने निर्णय गरेको छ ।

एशियाली विकास बैंकका सदस्यहरुमा पालै पालो बैकल्पिक कार्यकारी निर्देशकको पद आउने गर्छ । २ वर्ष कार्यकाल हुने सो पदमा मासिक तलब १८ हजार अमेरिकी डलरभन्दा बढी हुन्छ ।

यो भनेको महिनाको १८ लाखभन्दा बढी हो । सुवेदीले एक वर्ष काम गरिसकेका छन् । अब एकवर्ष पुडासैनीले काम गर्ने छन् ।

सामान्यतया सहसचिव जाने पदमा मुख्यसचिव सुवेदीले मुख्यसचिवको कार्यकाल पुरा नगरेर गएका थिए । यसले प्रशासन संरचनामा भने ठूलो असर गरेको थियो ।

अर्थमन्त्रालयमा राजस्व प्रशासन महाशाखा प्रमुख रहेका पुडासैनी अर्थमन्त्री डा युवराज खतिवडा निकट मान्छिन् । उनी सचिव हुने लाइनमा रहेका छन् ।

सरकारले सिफारिसमा पठाउने हुँदा फिर्ता गर्ने अधिकार सरकारसँग रहेको हुन्छ ।
यसरी एडिबी बाहेक पालै पालो आउने पदमा विश्व बैंकमा पनि यस्तै खालको सुविधा आउने गर्छ ।

अन्तराष्ट्रिय मुद्रा कोषमा पनि यस्तै खालको सुविधा आउने गर्छ । विश्व बैंक र एडिबीमा निजामति कर्मचारी र आइएमएफमा राष्ट्र बैंकबाट प्रतिनिधित्व हुन्छ । हालका अर्थमन्त्री डा खतिवडाले आफु गभर्नर हुँदा आइएमएफमा निर्देशक तहको कर्मचारी पठाउने प्रचलन विपरित आफ्ना छोरी ज्वाई डा रामशरण खरेललाई आइएमएफ पठाएका थिए । जसको चर्को आलोचना भएको थियो ।


क्लिकमान्डु