
काठमाडौं । प्रभु बैंक घाटामा गएको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले करिब ५ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) थप गरिदिएपछि प्रभु बैंक सञ्चित घाटामा गएको हो । राष्ट्र बैंकले प्रभु बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन स्वीकृत गर्दा ४ अर्ब ९१ करोड रुपैयाँ प्रोभिजन थपेको हो ।
गत आर्थिक वर्ष २०८१ ८२ मा प्रभु बैंकले अपरिस्कृत अर्थात् बाह्य लेखापरीक्षण अघि ५ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । बाह्य लेखापरीक्षणपछि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाएको विवरणमा राष्ट्र बैंकले भारी मात्रामा प्रोभिजन थपेपछि प्रभु बैंकको नाफा खुम्चिएर ८७ करोड रुपैयाँमा झरेको हो ।
अपरिस्कृत वित्तीय विवरणमा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ सञ्चित नाफासहित ४.४४ प्रतिशत लाभांश क्षमता देखाएको प्रभु बैंक बाह्य लेखापरिक्षणपछि भने साढे २ अर्ब रुपैयाँभन्दा बढीले सञ्चित नोक्सानी अर्थात् घाटामा पुगेको छ ।
गत असारमा प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणको तुलनामा बाह्य लेखापरिक्षणपछि वार्षिक साधारणसभाका लागि प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा ४ अर्ब ९१ करोड रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गरेको उल्लेख छ ।
बैंकहले प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्ला आर्थिक वर्षहरुमा कर्जा नोक्सानी व्यवस्थाको लागि गरेको प्रोभिजनबाट २ अर्ब ५१ करोड १५ लाख रुपैयाँ फिर्ता भएको उल्लेख गरेको थियो । तर, राष्ट्र बैंकबाट स्वीकृत भएर सार्वजनिक गरेको बैंकको बाह्य लेखापरिक्षणपछिको वित्तीय विवरणमा २ अर्ब ४० करोड २९ लाख रुपैयाँ थप कर्जा नोक्सानी व्यवस्था गरेको उल्लेख छ ।
२०८१ असार मसान्तमा ३ अर्ब २ करोड ५५ लाख रुपैयाँ सञ्चित घाटामा रहेको प्रभु बैंक आर्थिक वर्ष २०८१/८२ मा केही घटेर २ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षमा मात्रै नभएर पछिल्लो ३ आर्थिक वर्षमा लगातार प्रभु बैंकको अपरिस्कृत वित्तीय विवरण र बाह्य लेखापरिक्षपछिको नाफा र कर्जा नोक्सानी व्यवस्था भारी अन्तर देखिएको छ । यसले बैंकमा सुशासनको अवस्था निकै कमजोर रहेको प्रष्ट पार्छ ।
आर्थिक वर्ष २०८०/८१ मा पनि प्रभु बैंकको अपरिस्कृत वित्तीय विवरण र लेखापरिक्षणपछिको वित्तीय विवरणमा कर्जा नोक्सानी व्यवस्थामा ४ अर्ब १६ करोड रुपैयाँको फरक देखिएको थियो । बैंकले अपरिस्कृत वित्तीय विवरणमा ५५ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरी ४ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको रिपोर्ट प्रकाशित गरेको थियो । बाह्य लेखापरिक्षणपछि बैंकको कर्जा नोक्सानी व्यवस्था ४ अर्ब १६ करोड रुपैयाँ थप भएर ४ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ पुगेको थियो । यस्तै बैंकको नाफा ३ अर्ब ९७ करोड रुपैयाँले घटेर ५१ करोड रुपैयाँमा सिमित भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा पनि बैंकले अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दा २ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गर्दा २ अर्ब ९२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको थियो । बाह्य लेखापरिक्षणपछि उक्त आर्थिक वर्षमा बैंकको कर्जा नोक्सानी व्यवस्था ५ अर्ब २१ करोड २ लाख रुपैयाँ पुग्यो भने नाफा २८ करोड २ लाख रुपैयाँमा सिमित भएको थियो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गर्दा भारी मात्रामा प्रोभिजन थप गर्दा अपरिस्कृत र लेखापरिक्षाण्पछिको वित्तीय विवरणमा भारित अन्तर देखिएको छ । प्रारम्भिक वित्तीय विवरणमा १६ करोड रुपैयाँ सञ्चित नाफा भएकोमा बाह्य लेखापरिक्षणपछि २ अर्ब २३ करोड ६४ लाख रुपैयाँ सञ्चित नोक्सानी पुगेको थियो ।








प्रतिक्रिया