प्रभु ग्रुपले २३ हजार फिटसम्म उड्न सक्ने नयाँ हेलिकप्टर ल्याउँदै



काठमाडौं । प्रभु ग्रुप अन्तर्गतको प्रभु हेलिकप्टर प्रालिले २३ हजार फिटसम्म उडान भर्न सक्ने नयाँ हेलिकप्टर ल्याउने भएको छ । प्रभु हेलिकप्टरले ३० करोड रुपैयाँ लगानी गरेर एयरबस कम्पनीको हेलिकप्टर ल्याउने भएको हो ।

यही फेब्रुअरी महिनाभित्र आइसक्ने नयाँ हेलिकप्टर २३ हजार मिटर उचाइमा उडान गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीसँग अहिले सञ्चालनमा रहेका ५ वटा हेलिकप्टरहरु बढीमा १४ हजार फिट उचाइमा मात्रै उडान गर्ने क्षमता राख्छन् ।

‘हामीसँग अहिले १४ हजार फिटमा उडान क्षमताका ५ वटा हेलिकप्टर छन्, नयाँ हेलिकप्टर २३ हजार फिट उचाइमा उडान भर्न सक्छ,’ प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले क्लिकमाण्डूसँग भने ।

ओलीको सपनामा भट्टचनको साथ, कन्टेनरमा हात हालेको प्रभु ग्रुपले पानीजहाज किन्ने

नयाँ हेलिकप्टर उच्च उचाइ रहेका गोसाईँकुन्ड, दामोदरकुण्ड, हिल्सा, लुक्ला र एभरेस्ट जस्ता गन्तव्यमा जाने यात्रुका लागि लक्षित गरिएको भट्टचनले जानकारी दिए ।

कम्पनीसँग हाल ३ जना यात्रु र १ जना पाइलट सिट क्षमताको एउटा, ४ जना यात्रु र एक जना पाइलट सिट क्षमताका ४ वटा गरी ५ वटा हेलिकप्टर सञ्चालनमा छन् भने नयाँ हेलिकप्टरले ५ जना यात्रु र एक जना पाइलट गरी ६ सिट क्षमताको हो ।

अध्यक्ष भट्टचनका अनुसार यसअघि १० करोड रुपैयाँ लागतमा हेलिकप्टर गरिएको थियो भने नयाँ हेलिकप्टरको मूल्य ३० करोड रुपैयाँ पर्छ ।

गत वर्ष पर्यटनमन्त्री रविन्द्र अधिकारीलगायतका सवार हेलिकप्टर दुर्घटना प्राधिकरणले थोरै सिट क्षमता र धेरै उचाइमा उडान गर्न सकिने हेलिकप्टर सञ्चालन गर्न सकुर्लर नै जारी गरेको थियो । सोही अनुसार कम्पनीले नयाँ हेलिकप्टर ल्याउन लागेको हो ।

प्रभु ग्रुपले प्रधानमन्त्री ओलीको सपना साकार पार्न समुद्रमा नेपालको झन्डा भएको पानीजहाज चलाउने तयारीसमेत गरिरहेको छ । त्यसको पूर्वतयारी स्वरुप १ वर्षदेखि कन्टेनर बिजनेशमा हात हालेको छ । यो समूहले हाल आफ्नै करीब १ हजार कन्टेनरहरु सञ्चालन गरिरहेको छ ।

कमाएको पैसा कसरी बचत गर्ने ? प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले दिए यस्तो टिप्स

‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सपना साकार पार्न हामीले नेपालको झन्डा भएको पानी जहाज समुद्रमा चलाउने योजना बनाएका छौं,’ अध्यक्ष भट्टचनले भने ।

यो समूहले बैंक, बीमा, मनि ट्रान्सफर, डिजिटल पेमेन्ट गेट-वे, टिभी, कन्टेनर, हेलिकप्टरलगायतका विभिन्न व्यवसायहरु सञ्चालन गर्दै आएको छ । पछिल्ला दुई दशकमा प्रभु ग्रुपले व्यवसायमा उल्लेख्य सफलता हासिल गरेको छ ।


पुष्प दुलाल