ओलीको सपनामा भट्टचनको साथ, कन्टेनरमा हात हालेको प्रभु ग्रुपले पानीजहाज किन्ने



काठमाडौं । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा एउटा महत्वकांक्षी योजना अघि सारेका थिए –नेपालको राष्ट्रिय झण्डा पहराउँदै पानीजहाज समुन्द्रमा अब छिट्टै चल्छन् ।

प्रधानमन्त्री ओलीले उक्त भनाइलाई जोक बनाउने धेरै भए । कतिले त बाल्टीमा पानी राखेर कागजको पानीजहाज चलाए र ओलीलाई गिज्याए । सामाजिक सञ्जालमा मिम र ट्रोल बनाएकोमा ओलीले सार्वजनिक रुपमै असन्तुष्टि समेत व्यक्त गरे ।

ओली दोस्रोपटक प्रधानमन्त्री भइसकेको २ वर्ष बित्नै आँटेको छ । तर त्यो योजनामा सरकारले पानीजहाज कार्यालय औपचारिकरुपमा खोल्ने काम बाहेक केही प्रगति गरेको छैन ।

तर प्रधानमन्त्री ओलीले यो योजनामा सहयोगी बन्न आइपुगेको छ व्यावसायिक घराना प्रभु ग्रुप । जसले समुन्द्रमा पानीजहाज त होइन, सामान ओसारपसार गर्नका लागि नेपालको झण्डा फरफराउँदै सिपिङ कार्गो भने शुरुवात गरिसकेको छ ।

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन कम्पनीको शुरुवात हुनुमा प्रधानमन्त्रीको पानीजहाज सञ्चालन गर्ने भाषण प्रेरणाको स्रोत भएको बताउँछन् । ओलीकै भनाइबाट व्यवसायको सुत्रपात भएको उनको भनाइ छ ।

‘प्रधानमन्त्री भइसकेपछि ओलीज्यूले भाषणमा नेपालको झण्डा फरफराउँदै समुन्द्रमा नेपालको आफ्नै पानीजहाज सञ्चालन गर्ने योजनाले हामीलाई त्यसतर्फ व्यवसाय विस्तार गर्ने सोचतर्फ डोहोर्यायो,’ उनले भने ।

त्यसअघिसम्म पानीजहाज बारे कुनै योजना थिएन उनीहरुको । त्यतिमात्रै कहाँ हो र यसबारे थाहा पनि थिएन ।

तर जब भारतीय नागरिक मोहम्मत ए ए सरदार भेटिए । सरदारले प्रभु ग्रुपलाई पानीजहाज र कन्टेनरको बिजनेशबारे बेलिविस्तार लगाए ।

सरदारसँग १०औं वर्षदेखि भारत, चीन र बंगलादेशका विभिन्न सिपिङ कम्पनीमा काम गरेको अनुभव थियो । उनी अहिले कम्पनीको प्रबन्ध निर्देशकका रुपमा व्यवसायलाई अगाडि बढाइरहेका छन् ।

सरदारसँगको साथमा प्रभु ग्रुपले सन् २०१८ को अगस्ट २४ मा ‘नेपाल सिपिङ लाइन्स’ नामक कम्पनी स्थापना गर्यो भने सन् २०१९ को जनवरीदेखि काम पनि शुरु गर्यो । नेपालका लागि मात्रै होइन, प्रभु ग्रुपका लागि समेत यो नयाँ विजनेस भेञ्चर थियो ।

‘हामीले सेवा शुरु गरेदेखि कन्टेनरको नम्बरिङका लागि समय लाग्यो, नम्बर ल्याउँदा अन्तर्राष्ट्रियस्तर एनएसडी कोड पाउनका लागि पनि निकै समय लाग्यो,’ उनले भने ।

प्रधानमन्त्री ओलीको त्यो योजनालाई आंशिकरुपमा सिपिङ कम्पनीले समेटेपछि पूर्णरुपमा समेटेको छैन । किनभने ओलीले आफ्नै पानीजहाज सञ्चालन गर्ने भनेका थिए भने प्रभु ग्रुपले कन्टेनरको व्यवसाय शुरु गरेको हो ।

देशका लागि ५ फाइदा

अभ्यक्ष भट्टचनका अनुसार पहिलो, हालसम्म विदेशबाट नेपालमा सामान आयात हुँदा विदेशी कम्पनीका सिपिङ कार्गोबाट ल्यानु पर्दथ्यो । जसबाट वर्षेनी ५६ अर्ब रुपैयाँ विदेश जान्थ्यो । त्यसलाई केही मात्रामा कम गर्नका लागि प्रभु ग्रुपले शुरु गरेको स्वेदेशी कम्पनीमार्फत् ठूलो मात्रामा नेपाली मुद्रा विदेश जानबाट रोकिने भयो ।

दोस्रो फाइदा, नेपाली मुद्रा विदेशीन रोकिएन मात्रै, विदेशी मुद्रा पनि आम्दानी हुने भयो । किनभने प्रभु ग्रुपको कम्पनीले विदेशबाट नेपालमा मात्रै सामान ल्याउँदैन, यसले विश्वका कुनै पनि देशबाट कुनै पनि देशमा सामान ओसारपसार गर्छ । जसबाट विदेशी मुद्रा आर्जन गर्न समेत सम्भव भयो ।

तेस्रो, नेपाली व्यवसायीले आफ्नै देशको कम्पनीको कन्टेनरबाट सामान आयात तथा निर्यात गर्दा एकातिर सस्तो पर्ने भयो भने अर्कोतिर छिटो सेवा पाइने भयो । कम्पनीका अनुसार अन्य विदेशी कम्पनीका कन्टेनरले ४५ दिन लगाउने सामान प्रभु ग्रुपको कन्टेनरबाट १५ देखि २५ दिनभित्र नेपालमा ल्याइसक्छ । ल्याइ सकेको पनि छ ।

चौथो, यसले एकातिर मुलुकमा रोजागरीको सिर्जना गर्यो भने अर्कोतिर व्यवसायको नयाँ क्षेत्रका लागि सम्भावना जगाउन र अन्य कम्पनीका लागि व्यवसाय विस्तारको क्षेत्रमा ढोका समेत खोलिदिएको छ ।

पाँचौ, छिमेकी मुलुक भारतले वार्षिक ३९० मिलियन डलर सिपिङ कार्गोमा खर्च गर्छ । त्यसमध्ये नेपाली कम्पनीले २ प्रतिशत मात्रै बजार हिस्सा ओट्न सक्यो भने मात्रै पनि भारतसँगको व्यापार घाटा कम गराउन सकिने कम्पनीको विश्वास छ ।

१४० ठाउँमा प्रभुको सेवा, २४सै घन्टा बुकिङ गर्न सकिने

हाल नेपालमा वर्षेनि सामान आयात र निर्यात गर्दा २ लाख कन्टेनर प्रयोग हुन्छन् । अर्थात् २ लाख कन्टेनर नेपालमा वर्षेनी विदेशबाट सामान बोकेर आउँछन र केही सामान बोकेर जान्छन् । जसबाट नेपालले वर्षेनी ५६ अर्ब रुपैयाँ रकम विदेश पठाउँछ भने नेपालबाट सामान बोकेर २८ हजार कन्टेनर विदेशी जान्छन् त्यसमार्फत पनि रकम विदेशिँदै आएको छ ।

भट्टचनका अनुसार सेवा सञ्चालन गरेको एक वर्षको अवधिमा कम्पनीले विश्वका विभिन्न देशका १४० ठाउँमा सेवा दिनका लागि सम्झौता गरिसकेको छ भने १३६ ठाउँमा सेवा शुरुवात गरिसकेको छ । र, कम्पनीको एक वर्षको व्यवसायलाई मूल्यांकन गर्दा वृद्धिदर निकै राम्रो रहेको भट्टचनको भनाइ छ ।

कम्पनीमार्फत् नेपालबाट कारोबार हुने कुल सिपिङ कार्गोको २५ प्रतिशतसम्म बजार हिस्सा ओगट्ने कम्पनीको लक्ष्य छ ।

भट्टछन भन्छन्, ‘कुल हिस्साको १० प्रतिशतमात्रै बजार हिस्सा ओगट्न सकियो भने त्यो पनि उपलब्धि हुनेछ ।’

कम्पनीका अनुसार कम्पनीमा कुनै पनि देशबाट सामान आयात र निर्यात गर्नका लागि बुक गर्न सकिन्छ । कम्पनीले अहिले २४ घण्टामै बुकिङ लिन सकिने जनाएको छ । कम्पनीसँग हाल करिब १००० वटा आफ्नै कन्टेनर छन् १२०० वटा विदेशी कन्टेनर भाडामा ल्याउनका लागि सम्झौता गरिसकेको छ । र, आवश्यकता अनुसार कन्टेनरहरु भाडामा ल्याइने छ ।

नेपालका नदीसम्मै कन्टेनर ल्याउन बाटो कति सहज ?

प्रभु ग्रुपका अध्यक्ष भट्टचनका अनुसार समुन्द्रमा चल्ने ठूला कन्टेनर राख्ने क्षमता भएका पानीजहाज नजिक भनेको सिंगापुर, मलेसिया र दुबइमा मात्रै आउँछन् । त्यहाँसम्म २३ हजार ९०० वटा कन्टेनर बोक्ने पानीजहाज आउँछन् ।

भारतको कलकत्तासम्म त्यत्ति ठूला पानीजहाज आउन सक्दैनन् । कलकत्तासम्म १२ सय कन्टेनर बोक्ने पानीजहाज मात्रै आउन सक्छन् । नेपालमा आउने पानीजहाज पनि त्यहीबाटो हुँदै पटना र कालुघाट हुँदै आउँछन् ।

नेपाल आउनसक्छ ८० वटा कन्टेनर बोक्ने जहाज

तर कलकत्ताबाट पटाना र कालुघाट हुँदै नेपालको त्रिवेणी र कोशी नदीसम्म चल्ने पानीजहाजले ५० देखि ८० कन्टेनर बोक्ने क्षमताका हुन्छन् । त्यहाँभन्दा ठूलो क्षमताका पानीजहाज चलाउन योबाटोमा सकिँदैन ।

भट्टचन यसलाई वातावरणीय र आर्थिक हिसाबले राम्रो भएको बताउँछन् ।

‘५० वटा मात्रै कन्टेनर सानो पानीजहाजबाट नेपाल ल्याउन सकियो भने ५० वटा ट्रक कम हुनु हो भने यसले वातावरणीय र आर्थिक दृष्टिले सकरात्मक प्रभाव पर्छ,’ उनले भने ।

२ वटा साना पानीजहाज किन्छौं

भारतको कलकत्तादेखि नेपालसम्मको पानीजहाजको बाटोका लागि अहिले विश्व बैंकले ८०० मिलियन डलर खर्च गरिरहेको छ । यसको फाइदा नेपाली पानीजहाजका लागि पनि हुने उनको विश्वास छ । उक्र रुट बनेको खण्डमा २ वटासाना पानीजहाज किन्ने भट्टचनले बताए ।

११ करोडको कारोबार

सेवा सञ्चालनको एक वर्षको अवधिमा कम्पनीले मलेसियादेखि थाइल्यान्ड, मलेसियाबाट इन्डोनेसियाका लागि काम गरिसकेको छ भने अन्य देशबाट पनि काम गरिसकेको छ । जसबाट कम्पनीले एक वर्षको अवधि भएका ८०० वटा कारोबारबाट ११ करोड रुपैयाँभन्दा बढी कारोबार गरिसकेको छ । शुरुका महिनामा १/२ वटा मात्रै बुकिङ लिने कम्पनीले अहिले मासिक २०० वटा बुकिङ लिइरहेको छ ।

नेपाल ल्याण्डलक होइन, माइन्ड लक

कम्पनीले वाणिज्य विभागबाट मल्टिमोडल लाइसेन्स लिइसकेको छ । लाइसेन्स लिने यो कम्पनी नेपालमा दोस्रो हो । यसअघि १० वर्षअघि लाइसेन्स लिए पनि उक्त कम्पनीले काम गरेको थिए ।

नेपाल ल्यान्डकल कन्ट्री भएकाले पानीजहाज चलाउन नसकिने सोचलाई चुनौती दिँदै कम्पनीका प्रबन्ध निर्देशक सरदार भन्छन्, ‘नेपाल ल्यान्डलक्ड कन्ट्री भएकैले नसकिने होइन, स्वीट्जरल्यान्ड पनि ल्यान्डलक्ड कन्ट्री हो तर विश्वको दोस्रो ठूलो सिपिङ कार्गो स्वीट्जरल्यान्ड कै छ, त्यतिमात्रै होइन इथियोपिया, मंगोलिया पनि ल्यान्डलक भएर पनि विश्वकै ठूला सिपिङ कम्पनी सञ्चालन गरिरहेका छन् । त्यसैले म ल्यान्डलक कन्ट्रीभन्दा पनि ब्रेनलक कन्ट्री हो भन्न रुचाउँछु ।’

प्रभु ग्रुपले कम्पनी शुरु गरिसकेपछि नेपालमा कम्पनीकै सक्रियता र सुझावका आधारमा पानीजहाज कार्यालय स्थापना भयो । जहाँ अहिले १९ जना कर्मचारीले काम गरिसकेका छन् ।

नेपालमा पानीजहाज दर्ता गर्ने सिस्टम नै नभएको अवस्थामा प्रभु ग्रुपको यो शुरुवातले प्रधानमन्त्री ओलीको सपनालाई साकार बनाउने लक्ष्यमा कम्पनीले एककदम अगाडि सारेको छ ।


पुष्प दुलाल