निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठको भाग्य फैसला गर्ने राष्ट्र बैंकको कोठा नं. ४६१ !



काठमाडौं । डेपुटी गभर्नर शिवराज श्रेष्ठले पदको दुरुपयोग गर्दै अनियमितता गरेको र वित्तीय स्थायित्वमा आँच पुर्याएको भन्दै सरकारले उनीमाथि छानविन गर्न राष्ट्र बैंकको सञ्चालक समतिलाई निर्देशन दियो ।

सरकारको निर्देशनसहितको पत्र पाएकै दिन राष्ट्र बैंकको सञ्चालक समितिको बैठक बस्यो । र, सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय छानविन कमिटि गठन गर्यो । कमिटिमा राष्ट्र बैंकका सञ्चालकद्धय रामजी रेग्मी र सुवोधलाल कर्ण छन् ।

यस्तो छ डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न सरकारले काटेको पत्र (पत्रसहित)

छानविन कमिटि गठन भएसँगै डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा परेका छन् । यद्यपि अर्थ मन्त्रालयले आज मात्रै श्रेष्ठलाई निलम्बन गरेको पत्र पठाएको छ ।

कोठा नं. ४६१ मा छानविन समितिको सचिवालय बनाइँदैछ

डेपुटी गभर्नर अहिले अभियुक्त मात्रै हुन् । राष्ट्र बैंकले गठन गरेको छानविन कमिटिलाई समिति गठन भएको ३० कार्यदिन भित्र प्रतिवेदन बुझाउनू भन्ने सरकारको निर्देशन छ ।

गठन भएकै दिनदेखि समितिले काम शुरु गरिसकेको छ । समितिको पहिलो बैठकले सम्पत्ति शुद्धिकरण लगायतका विभिन्न निकायबाट श्रेष्ठसँग सम्बन्धित कागजात मगाउने निर्णय गरिसकेको छ ।

कहाँ चुके डेपुटी गभर्नर शिवराज श्रेष्ठ ? प्रधानमन्त्रीसँग नजिक छु भन्दा भन्दै यसरी फसे

छानविन कमिटिले डेपुटी गभर्नर हुँदा शिबराज श्रेष्ठ बस्ने कोठा अगाडिको कोठामा आफ्नो सचिवालय स्थापना गर्ने भएको छ । त्यसका लागि उक्त कोठामा रहेका सामानहरु धमाधम हटाइँदैछ । त्यो कोठाको नम्बर हो ४६१ । उक्त कमिटिले सचिवालयका लागि केही कर्मचारी र ड्राइभर पनि माग गरेको छ ।

मंगलबार ३ बजे क्लिकमाण्डूकर्मी राष्ट्र बैंक पुग्दा उक्त कोठामा भएका ब्याट्री र अन्य सामानहरु धमाधम हटाइँदै थियो । कोठाभित्रै रहेका कर्मचारीलाई किन सामान हटाइएको भनेर सोध्दा ती कर्मचारीले निलम्बित डेपुटी गभर्नर श्रेष्ठमाथि छानविन गर्न गठन भएको कमिटिको सचिवालय राख्नका लागि भन्ने जवाफ दिए ।

मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

छानविन कमिटिले तयार पारेको रिपोर्ट र सिफारिसका आधारमा सरकाले डेपुटी गभर्नर श्रेष्ठलाई बर्खास्त गर्ने वा नगर्ने भन्ने निर्णय गर्छ । त्यसैले आफ्नै अघि रहेको र सँधै आफूले देखिरहेको कोठा नं. ४६१ ले शिवराज श्रेष्ठको भाग्यको फैसला गर्नेछ ।

रित्तो कोठा रुँघ्दै श्रेष्ठको सचिवालयका कर्मचारी

डेपुटी गभर्नर श्रेष्ठलाई सचिवालय र कर्मचारीको सुविधा पनि दिइएको थियो । श्रेष्ठ निलम्बनमा परेपछि सचिवालयमा रहेका कर्मचारी अन्यौलमा परेका थिए । उनले गभर्नर कार्यालयमा मलाई अब कहाँ पठाउने भनेर सोधेका थिए ।

तर गभर्नर कार्यालयले ती कर्मचारीलाई तपाईं त्यहीँ बस्नू भन्ने निर्देशन दिएको छ ।

‘श्रेष्ठ निलम्बनमा परे पनि विभिन्न ठाउँबाट उनको सचिवालयमा फोनहरु आउने भएकाले सचिवालयका कर्मचारीलाई त्यहीँ बस्नू, फोन उठाउनू भनेर निर्देशन दिएका छौं,’ गभर्नर कार्यालयका एक कर्मचारीले भने ।

यस्तो छ मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानविन गर्न राष्ट्र बैंकलाई पठाएको निर्देशनात्मक पत्र


पुष्प दुलाल