डेपुटी गभर्नर श्रेष्ठलाई कारवाही गर्ने पत्र राष्ट्र बैंकको बोर्ड मिटिङमा प्रस्तुत नै भएन



काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई कारवाही गर्न भनिएको मन्त्रीपरिषद्को निर्देशन सहितको पत्र संचालक समितिमा प्रस्तुत भएन ।

गभर्नरले ‘तपाईंको विषयमा छलफल गरौं’ भनेपछि डेपुटी गभर्नर श्रेष्ठ बोर्ड मिटिङबाट निस्किए

आइतबार अपरान्न बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा डेपुटी गभर्नर श्रेष्ठमाथि सरकारले छाबिन गर्नु भन्ने पत्रमाथि छलफल हुने बताइएको थियो ।

सरकारले गरेको निर्णय अहिलेसम्म औपचारिकरुपमा राष्ट्र बैंकलाई जानकारी गराएको छैन ।

‘आइतबार बस्ने सञ्चालक समितिको बैठकमा अर्थसचिव राजन खनालले सरकारको निर्देशनसहितको पत्र पेश गर्नुहुन्छ भन्ने सोचेका थियौं तर उहाँले पत्र पनि प्रस्तुत गर्नु भएन र यो विषयमा कुरा पनि गर्नु भएन,’ बैठकमा सहभागी एक सञ्चालकले क्लिकमाण्डूसँग भने- ‘गभर्नरसाबले कुरा कोट्याउनु भयो, अनौपचारिकरुपमा छलफल मात्रै भयो ।’

मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपालले डेपुटी गभर्नर शिवराज श्रेष्ठको विषयमा छलफल गर्ने भनेपछि श्रेष्ठ बैठकबाट बाहिरिएका थिए । श्रेष्ठ बाहिरिएपछि राष्ट्र बैंकका संचालक समेत रहेका अर्थसचिव राजन खनालले मन्त्रीपरिषद्को पत्र प्रस्तुत गर्ने उल्लेख थियो ।

राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा

राष्ट्र बैंकका एक संचालकका अनुसार बैठकमा अर्थसचिव खनालले कुनै पत्र पेश गरेनन् । र, साढे ६ बजे बैठक सकियो ।

अपरान्न सवा ४ बजेदेखि बसेको बैठकमा सञ्चालक समेत रहेको डेपुटी गभर्नर श्रेष्ठ पनि ५ः५० बजेसम्म सहभागी भएका थिए । गभर्नर डा. नेपालले उहाँ (शिबराज श्रेष्ठ)को विषयमा मिडियामा यस्ता समाचारहरु आइरहेका छन्, अब छलफल शुरु गरौं भनेपछि श्रेष्ठ बैठक छाडेर बाहिरिएका थिए ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था

सरकारको औपचारिक पत्र आएपछि मात्रै राष्ट्र बैंकले यस विषयमाथि गंभीर छलफल गर्ने ती सञ्चालकले जानकारी दिए ।

‘सरकारी प्रक्रियाअनुसार पत्र आउँदै होला, आएपछि तत्कालै गंभीर छलफल हुन्छ,’ उनले भने ।

श्रेष्ठलाई आफूलाई गभर्नर बन्नबाट रोक्नका लागि षड्यन्त्र रचिएको प्रतिक्रिया दिएका छन्।


पुष्प दुलाल