गभर्नरले ‘तपाईंको विषयमा छलफल गरौं’ भनेपछि डेपुटी गभर्नर श्रेष्ठ बोर्ड मिटिङबाट निस्किए



काठमाडौं । डेपुटी गभर्नर शिवराज श्रेष्ठ राष्ट्र बैंकको संचालक समितिको बैठकबाट बाहिरएका छन् । राष्ट्र बैंकले आइतबार अपरान्न ४ बजे मर्जर अन्य नियमित कामका लागि संचालक समितिको बैठक बोलाएको थियो ।

संचालक समितिको सदस्य समेत रहेका डेपुटी गभर्नर श्रेष्ठ बैठकमा सहभागी थिए । बैठकको सुरुवातमा मर्जर तथा नियमित विषयमा छलफल भएको थियो ।

मलाई गभर्नर बन्न नदिन ठूलो षड्यन्त्र भयो, गल्ती गरेको छैन: डेपुटी गभर्नर शिवराज श्रेष्ठको अन्तर्वार्ता

सो विषयको छलफल सकिएपछि संचालक समितिका अध्यक्ष समेत रहेका गभर्नर नेपालले अब सरकारले डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्नु भनेर दिएको निर्देशनको विषयमा छलफल सुरु गर्ने बताएपछि श्रेष्ठ बैठक छाडेर बाहिरिएका हुन् ।

डेपुटी गभर्नर श्रेष्ठले आफु ५ बजेर ५० मिनेट जादा संचालक समितिको बैठकबाट बाहिरिएर कार्यालयमा बसिरहेको जानकारी दिए ।

‘सञ्चालकका हैसियतले म पनि बैठकमा सहभागी थिएँ, अपरान्न सवा ४ बजे बैठक शुरु भयो, ४ वटा संस्थालाई मर्जरको स्वीकृति दियो, विभागीय फाइलमाथि छलफल भयो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘त्यसपछि गभर्नरसाबले शिबराजजीको विषयमा मिडियामा विभिन्न किसिमका समाचारहरु आएका छन्, छानविन गर्नु भन्दै सरकारको पत्र आएको छ, अब यस विषयमा छलफल शुरु गरौं भन्नुभयो, त्यसपछि म निस्किएँ ।’

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा पर्ने, यस्तो छ कानूनी व्यवस्था

आफ्नो विषयमा हुने छलफलमा आफू बस्नु हुँदैन भन्ने नैतिकताका आधारमा बैठकबाट बाहिरिएको उनले बताए ।

‘मेरो विषयमा छलफल हुने भएपछि मैले नैतिकताका आधारमा त्यहाँ बस्नु हुँदैन, त्यसैले निस्किएँ,’ उनले भने, ‘अब उहाँहरुले निर्णय गर्नुहुन्छ ।’

राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा

डेपुटी गभर्नर श्रेष्ठमाथि वित्तीय स्थायित्वमा असर पार्ने काम गरेको, विभिन्न बैंकको खराब कर्जा लुकाउन सहयोग गरेको, पदको दुरुपयोग गरी काम गरेको लगायतका आरोप लगाउँदै गत साता बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्र बैंकको सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो ।


पुष्प दुलाल