राष्ट बैंकमा खैलाबैला, डेपुटी गर्भनर श्रेष्ठको पद धरापमा



काठमाडौं । आइतबार बिहानदेखि नै राष्ट्र बैंकमा ठूलो खैलाबैला मच्चिएको छ ।

कान्तिपुर दैनिकमा प्रकाशित राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बन हुन लागेको समाचार छ । समाचारमा श्रेष्ठमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग,अख्तियार तथा प्रधानमन्त्री कार्यालयमा उजुरी रहेको भनिएको छ ।

श्रेष्ठले कर विवाद टुंगो नलाग्दै लाभांश लैजान दिएको,बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाएको जस्ता गम्भिर आरोप लागेको छ ।
कान्तिपुरमा उल्लेख भएको समाचार अनुसार मन्त्रीपरिषद्को बैठकले डेपुटी गभर्नर श्रेष्ठलाई स्पष्टिकरण सोध्ने उल्लेख छ । जसको लागि राष्ट्र बैंकको संचालक समितिको बैठकले समिति गठन गर्ने छ । संचालक समितिको बैठक आइतबारको लागि बोलाइएको छ ।

राष्ट्र बैंकमा चैत ६ देखि हालका गभर्नर डा चिरन्जिवी नेपालको कार्यकाल सकिन लागेको छ । डेपुटी गभर्नर श्रेष्ठ समेत गभर्नरको दौडमा थिए ।

डेपुटी गभर्नर श्रेष्ठसँग गभर्नर नेपालले समेत असन्तुष्टी भएर बैंक तथा वित्तीय संस्था नियमन विभागको जिम्मेवारी श्रेष्ठबाट हटाएर अर्का डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिएका थिए ।

श्रेष्ठ २०७२ सालमा केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा डेपुटी गभर्नर बनेका थिए । त्यो बेला उनलाई डेपुटी गभर्नर बनाउनको लागि प्रधानमन्त्री पत्नी राधिका शाक्यको पनि समर्थन थियो ।

श्रेष्ठले भने आफुलाई लगाएको आरोपमात्र भएको र गभर्नर पदको रेसबाट पछाडि पार्ने खेल भएको टिप्पणी गरेका छन् ।


क्लिकमान्डु