दशैंको चमक बजारमा देखिएन, एलसी घट्यो, व्यवसायी भन्छन्ः कर नीतिले व्यापार गर्न सकिएन



काठमाडौं । ‘यो वर्ष दशैंको लागि सामान आयात नै गर्न सकिएन, करका झन्झटिलो व्यवस्थाले गर्दा व्यापार गर्न सक्ने अवस्था छैन,’ यो भनाई एक ठूला आयातकर्ता व्यापारीको हो ।

अघिल्ला वर्षहरुमा दशैं तिहारको लागि खपत हुने उपभोग्य सामानको वस्तुको आयात पनि भएको छैन बिक्री पनि घटेको छ । जसले अर्थतन्त्रमा उपभोगको मात्रा कम भएको संकेत गरेको छ ।

साउन महिनामा नै अघिल्लो वर्षको तुलनामा आयात घटेको छ । व्यापारघाटा उच्च भएको देशमा आयात घट्नु एक हिसाबले राम्रो नै मान्न सकिएला । तर,बजारमा उपभोगको नै क्षमता सरकारको करको नीतिको कारणले कम भएको छ ।

नेपालको माग आन्तरिक उत्पादनले भन्दा अन्तराष्ट्रिय उत्पादनले नेपालको व्यापार धानेको छ ।

तर भन्सार महशुल लगायत अन्य राजश्व नीतिमा सरकारले कडाई गरेपछि आयात घटेको छ ।

गत बर्षको साउनमा भन्दा चालु आर्थिक वर्षको साउनमा ११.५७ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

अन्तर्राष्ट्रिय व्यापार कमहँुदा आवश्यक सामानहरुको मुल्य स्वतः बढ्ने हुन्छ । जसकारण नेपालीहरुको नजिकिँदै गरेको महानचार्ड पर्वहरु महंगो हुने भएको हो ।
हुन त यो गत आर्थिक वर्षकोमा भन्दा चालु आर्थिक वर्षको पहिलो महिना आयात ११.५१ प्रतिशतले घटेको छ भने निर्यातको अवस्था भने सोही अवधीमा २७.६८ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब २० अर्ब ६१ करोड १ लाख ५२ हजार रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजार रुपैयाँको आयात भएको हो । यो गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १३ अर्ब ८८ करोड ४८ लाख ३५ हजार रुपैयाँ कम हो ।

भदौ महिनामा पनि वस्तु आयात अघिल्लो वर्षको भदौमा भन्दा घटेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

‘भदौै महिनामा पनि आयात घटेको छ, दशैंतिहार अघिको महिना पनि आयात बढी हुने गरेको थियो, यो पटक घटेको छ,’उनले भने ।

निर्यातको तुलनामा आयात बढी भएर बर्षेनी अर्बौको व्यापार घाटा खेपिरहेको नेपालमा यो आर्थिक वर्षको पहिलो महिना आयात घट्दा स्वागत गर्न सक्ने अवस्था भने छैन ।

तर घट्दो आयातका कारण नजिकिँदै गरेको दशँै तिहारमा आवश्यक सामानहरु अभाव तथा महंगो हुने देखिएको छ । नेपालमा ठूलो मात्रामा अर्थतन्त्र चलायमान दशैं र तिहारको बेला हुने गरेको छ । कुल उपभोगमा ३० प्रतिशत उपभोग दशैं र तिहारको बेला हुने गरेको छ ।

सरकारले राजश्व नीतिमा परिवर्तत गरि भन्सार महशुल बढाएपछि व्यापारीहरुले बजारको माग अनुसारको वस्तु आयात गर्न नसेको नेपाल चेम्बर अफ कर्मशका उपाध्यक्ष कमलेश अग्रवाल बताउँछन् ।

‘सरकारी नीति तथा नियमनका कारण मुलुकको अर्थतन्त्र खस्किँदै गएको छ’ अग्रवालले क्लिकमाण्डूसँग भने ‘सरकारले निर्यात बढाई आयात घटाउने उद्देश्य राखी सोही अनुरुपको नियमन गर्दा नेपालको अन्तर्राष्ट्रियस्तरका व्यापारमा असर परेको हो ।’

सरकारले ढुवानी भ्याट बढाएको, प्यान अनिवार्य गरेको कारण खर्च बढेको कारण पनि व्यापार बढाउन व्यापारीहरु उत्साहित भएका छैनन् । बजारमा माग अनुसारको आपुर्ति हुन नसक्दाँ वस्तुको मुल्य आकासिने हुँदा यो वर्षको दशैँ महंगो पर्ने देखिन्छ ।

अन्तर्राष्ट्रिय व्यापारको अधिकांश हिस्सा आयातले ओगटेको नेपालजस्तो देशको व्यापारमा एकैपटक यसरी अर्बौ रुपैयाँको आयातको हिस्सा घट्नु भनेको अर्थतन्त्रमा नकारात्मक असर परेको प्रमाण भएको उनले बताए ।

दशैँ–तिहार र छट पर्वमा लत्ता–कपडा, खाद्यान्न तथा सवारी साधानहरु र त्यसको पाटपुर्जाहरु सबैभन्दा बढी भारत लगायत तेस्रो मुलुकहरुबाट आयात हुन्छ । तर
गत वर्ष साउन र भदौमा व्यापारीहरुले बैंकहरुबाट लिने लेटर अफ क्रेडिट (एलसी) खोल्नेको संख्यामा पनि कमी आएको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । सबैभन्दा धेरै सवारीसाधनतर्फको एलसी घटेको उनले जानकारी दिए ।

तर आन्तरिक बजार माग अनुसारको आपुर्ति हुन नसकेको वर्तमान अवस्थामा निर्यातमा भएको झिनो वृद्धिले खुशी हुने अवस्था भने देखिँदैन ।


क्लिकमान्डु