एटीएमबाट पैसा निकाल्न पाउने सीमा सँधैका लागि घटाइएको होइनः राष्ट्र बैंक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एटीएमहरुबाट निकाल्न पाउने सीमा केही समयका लागि मात्रै भएको जनाएको छ ।

चिनियाँ ह्याकरहरुले एटीएम प्रयोग गरी साढे ३ करोड रुपैयाँ चोरी गरेपछि राष्ट्र बैंकले एटीएमबाट झिक्न पाउने रकमको सीमा घटाएको थियो ।

बिहीबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले एटीएमबाट निकाल्न मिल्ने रकमको सीमा घटायो, अब कति रकम निकाल्न पाइन्छ ?

यसअघि एटीएमबाट एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइन्थ्यो । राष्ट्र बैंकले करिब २ बर्षअघि एटीएमबाट अघिकतम १ लाख रुपैयाँसम्म पैसा झिक्न मिल्नेगरि सीमा लगाएको थियो ।

हाल एटीएम ह्याक प्रकरणपछि तत्कालिन समस्याको आंशिक समाधानका लागि सीमा घटाइएको राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागको कार्यकारी निर्देशक बम बहादुर मिश्रले बताए ।

कार्यकारी निर्देशक मिश्र

एटीएम ह्याकिङ प्रकरणबारे छानबिन गरि निष्र्कश निस्किए पश्चात सामान्य अवस्थामाझैं एटीएमबाट पैसा निकाल्न सकिने उनको भनाई थियो ।

एटीएम ह्याकिङ प्रकरणको विषयमा राष्ट्र बैंकले ५ सदस्यीय टोली गठन समेत गरेको थियो । उक्त टोलीले सो विषयमा अध्यान गरि राष्ट्र बैंकका गभर्नरलाई प्रतिवेदन समेत बुझाइसकेको छ ।

टोलीले एटीएमहरु असुरक्षित बन्दै गएको उल्लेख गर्दै बैंकहरुलाई अल्पकाल र दीर्घकालका लागि अबलम्बन गर्नुपर्ने १७ सुझाबहरु दिएको छ ।

यस्तै १८ वटा बैंकको स्वीच उपलब्ध गराउने संस्था नेपाल इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले पनि एटीएम प्रकरणको प्राविधिक तथ्य पत्ता लगाउन सिंगापुरको भेरी जोन कम्पनीबाट प्राविधिक बोलाईसकेको छ ।

बुधबार साँझ २ जना प्राविधिक फरेन्सिक टेस्टका लागि काठमाडौं आइसकेका छन् । उनीहरुले बिहीबारदेखि नै काम थालेका छन् ।

गत शनिबार बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म चिनियाँ ह्याकरहरुले विभिन्न बैंकबाट नक्कली भिसा कार्डको प्रयोग गरी ३ करोड ५८ लाख रुपैयाँ चोरी गरेका थिए ।


पुष्प दुलाल