गत वर्ष निर्यात १९ % ले बढ्यो, भारतमा ३४ % ले बढ्दा चीनमा साढे १३ % ले घट्यो

28
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आर्थिक वर्ष २०७५-७६ मा वस्तु निर्यात १९.४ प्रतिशतले वृद्धि भई ९७ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ११.४ प्रतिशतले वृद्धि भएको थियो ।

गत आवमा गन्तव्यका आधारमा भारततर्फ ३४.३ प्रतिशत र अन्य मुलुकतर्फ ०.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै चीनतर्फको निर्यातमा १३.५ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पाम आयल, पोलिष्टर यार्न, जुटका सामान, दाल, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, तयारी पोशाक, पश्मिना, जुत्ता तथा चप्पल, छाला लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७५-७६ मा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आयात २५.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२.८ प्रतिशत, चीनबाट भएको आयात २८.५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ८.९ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोशाक, विद्युतीय सामान,अन्य मेसिनरी पार्टपुर्जा, एम.एस. बिलेट लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दाना लगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय वाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालय वाहेक अन्य
मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७५-७६ मा कुल वस्तु व्यापार घाटा १३.५ प्रतिशतले विस्तार भई १३ खर्ब २१ अर्ब ४३ करोड पुगेको छ । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८.१ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात-आयात अनुपात ६.८ प्रतिशत छ । अघिल्लो वर्ष सो अनुपात ६.५ प्रतिशत रहेको थियो ।

२०७६ असार महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.८ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २.३ प्रतिशतले घटेको छ । २०७५ असार महिनामा वार्षिक बिन्दुगत आधारमा २ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ असार महिनामा ३.२ प्रतिशतले बढेको छ ।

यस्तै सेवा तर्फ आव २०७५-७६ मा खुद सेवा आय १६ अर्ब ५२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय २ अर्ब २७ करोडले बचतमा रहेको थियो । आर्थिक वर्ष २०७५-७६ मा सेवा खाता अन्तर्गत भ्रमण आय ९.७ प्रतिशतले वृद्धि भई ७३ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६७ अर्ब ९ करोड रहेको थियो ।

आव २०७५-७६ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय १२.५ प्रतिशतले वृद्धि भई ८९ अर्ब ५८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ४६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय ७९ अर्ब ६० करोड रहेको थियो ।