नेपाल र भारतबाट ५ घन्टामा १७०० पटक कार्ड घोटेर ह्याकरले चोरे बैंकहरुको साढे ३ करोड



काठमाडौं । चिनियाँ ह्याकरहरुले ५ वटा नेपाली बैंकको डाटा ह्याक गरेर ५ घन्टामै ३ करोड ४५ लाख रुपैयाँ चोरेका छन् । शुक्रबार मात्रै चीनबाट काठमाडौं आएका ह्याकरहरुले शनिबार दरबारमार्ग र ठमेल क्षेत्रका एटीएम बुथबाट ७०० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ७६ लाख रुपैयाँ चोरी गरेका छन् ।

निक्षेपकर्ताको निक्षेप सुरक्षित छ, व्यक्तिको खाताबाट ह्याकरले पैसा झिक्न पाएनन्: राष्ट्र बैंक

त्यसैगरी, भारतका विभिन्न ठाउँबाट १००० पटक एटीएम कार्डको प्रयोग गरेर १ करोड ५ लाख भारतीय रुपैयाँ चोरी गरेका छन् ।

‘नेपाल र भारतमा गरी १७ सय पटक कार्डको प्रयोग गरेर साढे ३ करोड रुपैयाँ चोरी भएको पाइएको छ,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले क्लिकमाण्डूसँग भने, ‘नविल बैंकका कर्मचारीहरुको चलाखीका कारण समयमै प्रहरीलाई खबर हुँदा ठूलो क्षति हुन पाएन ।’

डाटा ह्याक गरी एटीएमबाट पैसा चोर्ने ह्याकर लिफ्टबाट भाग्दै गर्दा प्रहरीको फन्दामा

२/४ घन्टा मात्रै थाहा नभएको भए अर्ब बढी रकम चोरी हुनसक्ने अनुमान गरिएको छ ।

‘ह्याकरहरुको गिरोह ठूलो संख्यामा चोर परिचालन गरेको देखिन्छ,’ मिश्रले भने, ‘कम्तिमा पनि १०० जनाभन्दा बढी चोर परिचालन भएको अनुमान छ ।’

चीनमा योजना बनाएर चोरहरु नेपाल र भारत गएका थिए ।

‘चीनमै बसेर नेपाली बैंक लुट्ने योजना बनाएको देखिन्छ,’ महानगरीय अपराध परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले भने ।

ह्याकरहरुले प्रभु, एनआइसी एसिया, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको एटीएम कार्ड र नबिल, नेपाल एसबिआइ र इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरेका छन् ।

एटीएम ह्याक प्रकरण अध्ययन गर्न राष्ट्र बैंकले ५ सदस्यीय कमिटि गठन गर्यो, २ दिनमा प्रतिवेदन बुझाउने

यस विषयमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ भने नेपाल राष्ट्र बैंकले पनि ५ सदस्यी अध्ययन समिति गठन गरिसकेको छ । व्यक्तिको खाताबाट पैसा झिकेको पाइएको छैन । बैंकको एटीएम बुथमा रहेको रकम मात्रै चोरी भएको हो ।

शनिवार दिउँसो करिब ४ बजेतिर प्रभु बैंकका एक कर्मचारीको फोनले प्रहरी झस्कियो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोली दरबारमार्गमा रहेको एटिएम बुथतिर लाग्यो।

यसरी पत्ता लाग्यो

दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम बुथमा विदेशी जस्तै देखिने व्यक्तिको गतिविधि संकास्पद लागेपछि बैंकका कर्मचारीले प्रहरीलाई खबर गरिहाले । सिभिल ड्रेसमा तत्कालै प्रहरी उक्त एटीएम बुथमा पुग्दा एक चिनियाँ नागरिक पैसा झिकेर निस्कँदै थिए ।

प्रहरीलाई शंका लाग्यो । र, ती चिनियाँलाई सिभिल प्रहरीले नियन्त्रणमा लिए ।

प्रहरीले उनलाई अंग्रेजीमा केही सोधे । तर, चिनियाँले भाषा बुझेनन् । अत्तालिएका चिनियाँ केही बोल्न सकेनन् ।

याक एन्ड यति होटेलबाट निस्किएका एक कर्मचारीले चिनियाँ भाषा बोल्न जानेका रहेछन् । उनले प्रहरीलाई सहयोग गरे । ती चिनियासँग चिनिया भाषमै कुरा गरे ।

प्रहरीले उनको शरिर खानतलासी गर्यो । र, ४५ हजार रुपैयाँ नगद, २० वटा एटीएम कार्ड र माया मनोर होटेलको कोठा नम्बर ६०२ र ६०४ को चाबी फेला पर्यो ।

त्यसपछि प्रहरी होटेलतिर लाग्यो । होटेलमा गएर खानतलासी गर्दा करोडौं रुपैयाँ ब्रिफकेशमा कोचिएको अवस्थामा फेला पर्यो । र, त्यहाँ रहेका ५ जना चिनियाँलाई प्रहरीले पक्राउ गर्यो ।

होटेलको तल्लो तलामा रहेका ३ जनाभने प्रहरीले माथिल्लो तलाका साथीलाई पक्राउ गरेको थापा पाएर भागिहाले ।

बैंक लुट्ने ५ जनालाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजानिक गरेकोछ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।


पुष्प दुलाल