निक्षेपकर्ताको निक्षेप सुरक्षित छ, व्यक्तिको खाताबाट ह्याकरले पैसा झिक्न पाएनन्: राष्ट्र बैंक



काठमाडौं । ह्याकरहरुले विभिन्न बैंकका एटीएम ह्याक गरेर रकम निकालेपनि व्यक्तिको खाताबाट भने पैसा ननिकालेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार एक जना पनि व्यक्तिको खाताबाट रकम झिकेको देखिएको छैन ।

‘ह्याकरले एटीएम मेसिनबाट केही रकम निकालेको देखिएको छ, तर व्यक्तिको खाताबाट निकालेको देखिएन,’ मिश्रले क्लिकमाण्डूसँग भने ।

ह्याकरहरु बैंकको एटीएममा भएको तरल सम्पत्ति निकाल्न भने सफल भएको हुन् । यद्यपि अहिलेसम्म कति रकम निकाले भन्ने यकिन विवरण आइसकेको छैन ।

‘हामी बैंकहरुबाट विवरण संलकन गरिरहेका छौं,’ मिश्रले भने, ‘कुनैपनि व्यक्तिको खाताबाट रकम निकालेको भए राष्ट्र बैंकमा तत्काल जानकारी गराउन भनिसकेका छौं ।’

त्यसैगरी, मिश्रले बैंकका एटीएमहरु सञ्चालन भइरहेको जानकारी दिए ।

‘इन्टरबैंक एटीएम सेवा मात्रै बन्द भएको हो, ग्राहकले जुन बैंकको एटीएम हो त्यही बैंकबाट आफ्नो खातामा रहेको पैसा निकाल्न सक्छन्,’ उनले भने, ‘त्यसरी निकाल्दा कुनै असुरक्षा छैन ।’

शनिबार साँझ प्रहरीले ५ जना ह्याकरलाई पक्राउ गरिसकेका छ । आज दिउसो प्रहरीले अपराध महाशाखा टेकुबाट ह्याकरहरुलाई सार्वजानिक गर्ने जनाएको छ । ह्याकरले बैंकको एटीएमबाट निकालेको रकमसमेत प्रहरीले बरामद गरिसकेको छ ।

‘ह्याकरहरु पत्ता लागिसकेका छन्, कानूनी कारबाही हुन्छ, कसैलाई पनि क्षति हुँदैन,’ मिश्रले भने ।


क्लिकमान्डु