डाटा ह्याक गरी एटीएमबाट पैसा चोर्ने ह्याकर लिफ्टबाट भाग्दै गर्दा प्रहरीको फन्दामा




काठमाडौं । विभिन्न बैंकहरुको एटिएम मेसिन ह्याक गरेर पैसा चोरी गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

शनिबार राजधानीका एटिएममा विदेशी मूलका जस्ता देखिने व्यक्तिहरुले शंकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा महानगरिय प्रहरी परिसर टेकुको टोलीले ह्याकरलाई पक्राउ गरेको थियो ।

प्रहरी नायव उपरिक्षक होबिन्द्र बोगटीको टोलीले दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाली रहेको अवस्थामा चिनीयाँ नागरिक च्यू ल्याङयाङलाई पक्राउ गरेको थियो । चिउलाई पक्राउ गरेपछि सोधपुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिषा कार्ड फेला परेको थियो ।

च्यूले आफु बस्ने होटलको चाँबी देखाएपछि प्रहरीले तत्कालै हात्तिसारस्थित माया मनोेहर होटलको कोठा नम्बर १०१, ६०२ र ६०४ मा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा ह्याकरहरु होटलको लिफ्ट प्रयोग गरी भाग्ने खोजेको थिए । बोगटीका अनुसार उनीहरु भाग्न खोज्दा खोज्दै प्रहरीले पक्राउ गरेको हो ।

ह्याकरहरु गत शुक्रबार नेपाल आएका थिए भने सोमबार चीन फर्कने क्रममा रहेको प्रहरीको भनाइ छ । ह्याकरको साथबाट प्रहरीले १३२ थान नक्कली भिषा कार्ड प्रयोग गरी विभिन्न बैंकको डाटा ह्याक गरेर एटिएमबाट पैसा निकाल्ने गरेको प्रहरीको भनाइ छ ।  उनीहरुले नेपाली बैंकको एटिएम चीनमा नै बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

पक्राउ पर्नेमा ल्यो चाईलि, चौ ल्याङयाङ,लिन च्यानमङ, छिउ युनछिङ र छन, पिन पिन  छन् ।

ह्याकरको साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, ९ हजार १ सय अमेरिकी डलर, ११ सय ९१ चिनियाँ यान, २५० यूरो, ५ हजार कम्बोडियन र हङकङ डलर ८० बरामद गरेको छ ।

१३२ नक्कली भिषा कार्यसँगै १७ थान सक्कली भिषा कार्ड, १ थान कार्ड प्रिन्टर मेसिन, ६ थान मोबाइल, १ थान ल्यापटप र १ थान डाटा कार्ड रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र नेपाल राष्ट्र बैंकले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुुर मिश्रका अनुसार १ करोड ६८ लाख ५४ हजार ७२० रुपैयाँ निकालिएको छ ।

एटिएमको स्वीचमध्ये एउटामा मानवयर सफ्टवेयर ह्याक भएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘४/५ वटा बैंकका दरबारमार्ग र ठमेलमा रहेको एटिएम प्रयोग गरेको देखिन्छ । विदेशबाट पनि हुनसक्छ,’ ढुंगानाले भने ।

राष्ट्र बैंकका आईटी प्रमुख शिवराम दवाडीका अनुसार भिजा कार्डका नेपालमा ४ वटा स्वीचहरु छन् । जसमध्ये नविल बैंक, एनआईबिएल, हिमालयन र एनईपीएस स्वीच छन् । उनका अनुसार यी चार वटा स्वीचमध्ये नविल र एनईपीएस स्वीचबाट बढी कारोबार भएका देखिन्छ ।

यनिक तथ्यांकका लागि भिजालाई पत्र पठाइसकिएको छ । भिजाले दिउँसो ४ बजेपछि मात्रै विवरण पठाउनेछ र बल्ल जानकारी हात पर्नेछ । साथै, एटीएमबारे विस्तृत जानकारी लिनका लागि फरेन्सिक एनालाइसिस आवश्यक पर्छ । फरेन्सिक एनालाइसिसपछि मात्रै सम्पूर्ण विवरण थाहा हुन्छ ।


क्लिकमान्डु