संसदभित्रै कुर्सी भाँच्चिएर सांसद घनश्याम भुसाल लडेपछि…



काठमाडौं । सोमबार बिहान ११ बजे । संघीय संसद अन्तर्गतको अर्थसमितिको बैठक सुरु हुँदै थियो ।

गणपुरक सांसद उपस्थित नभएपछि बैठक सुरु हुने समय केही बेर लम्बियो । र, ११ बजे सुरु हुने भनिएको बैठक ४० मिनेट ढिलो सुरु भयो ।

विषय थियो, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ लाई संशोधन गर्न बनेको विद्येयकमाथिको छलफल । विधेयकमा छलफल गर्न अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित थिए ।

यति गम्भीर विषयमा संसदमा छलफल भइरहेका बेला विद्येयकको संशोधनका लागि प्रस्ताव गरेका सांसदहरु दिव्यमणि राजभण्डारी, राजन केसी, प्रेम सुवाल लगायतका सांसदहरु उपस्थित भइसकेका थिए ।

बैठक सुरु हुनासाथ अर्थमन्त्री डा. युवराज खतिवडाले छलफलको विषयमा प्रष्ट पार्न थाले ।

त्यसपछि क्रमैसँग अर्थ सचिव प्रधानमन्त्री कार्यालयका सचिव, राजश्व अनुसन्धान विभागका महानिर्देशकले बोल्ने क्रम लगभग १९ मिनेटमा सकियो ।

त्यसपछि संशोधन प्रस्ताव राख्ने सांसदहरुको बोल्ने पालो आयो । त्यो समयमा सभापति कृष्ण दाहालले सांसदहरुलाई बोल्नको लागि समय दिन लागेका थिए ।

बैठकमा अचानक ‘कर्याक्क’ आवाज आयो । सबैभन्दा पहिला सभापति दाहाल हत्तारिँदै जुरुक्क उठे ।

सहभागी सबैले सभापति किन उठे ? भन्नेमा मात्रै ध्यान दिए । यतिबेलासम्म घनश्याम भुसाल बसेको कुर्सी भाँच्चिएर जमिनमा लडिसकेका थिए ।

तुरुन्तै भुसालको दायाँपट्टी बसेका सांसद मेटमणी चौधरी जुरुक्क उठे । र, एउटा हातमा सभापति दाहाल र अर्को हातमा चौधरीले समातेर भुसाललाई उठाए ।

भुसाल उठिसक्दासम्म पनि अर्थमन्त्रीको मुहार भयले अताल्लिएको प्रष्ट झल्कन्थ्यो ।

यतिबेलासम्म समितिका कर्मचारी, समितिका सचिव पनि जर्याक जुरुक उठिसकेका थिए ।

भुसाल बसेको कुर्सी भाँचिएर दुई टुक्रा भएको थियो । दुई टुक्रा भएको कुर्सीलाई कर्मचारीले हत्तपत्त बैठक कक्षको दक्षिणतर्फ पन्छाए ।

कुर्सीमा बस्न नसक्ने भएपछि सांसद चौधरी आफ्नो कुर्सी छोडेर अर्को छेउमा गएर बसे ।

त्यो समयमा केही सांसदहरुले भुसालप्रति चासो जनाए । भने केहीले कुर्सी परिवर्तन गर्न सुझाव दिन भ्याइसकेका थिए ।

यतिभइसकेपछि माहोल शान्त भइसकेको थियो । सबैको मुहारमा चिन्ता प्रष्ट देखिन्थ्यो ।

एक सांसदले भनिहाले, ‘अघिल्लो पटक समितिको सचिव बसेको कुर्सी भाँचियो, अहिले माननिय घनश्यास भुसाल लड्नु भयो होइन किन यस्तो भयो ?’

त्यहीक्रममा समितिको बैठक कक्षको उत्तरतर्फ रहेका सञ्चारकर्मीले समितिको गत बैठकमा क्यामरापर्सन बसेको कुर्सी भाँच्चिएको बताउन भ्याइसकेका थिए ।

केही मिनेट वैठक अवरुद्ध भएपछि लगत्तै बैठकले पुरानै गति लियो ।

कुर्सी लडेर भूँइमा लडेका भुसाल त्यसपछि बैठक अवधिभर चुइक्क समेत बोलेनन् । कुर्सी लडेर भुँइमा पछारिएको अपमान ठानेका भुसाल चुपचाप हुँदा त्यसपछि बैठकमा कसैले कुरा उठाएनन् ।

जब १ बजेर ४ मिनेट भयो, बैठक सकिएको उदघोष सभापति दाहालले गरे ।

बैठकपछि बाहिर निस्कने क्रममा केही सञ्चारकर्मीले कुर्सीको प्रसंग निकाल्दै कानेखुसी गर्न थाले ।

सभापति दाहालले अघिल्लो पटक पनि यसैगरी कुर्सी भाँचिएको प्रसंग उठाए ।

पछि सांसद रामकुमारी झाँक्रीसँग भुसालको कुर्सीको विषयमा केही अनौपचारीक कुरा गरिन् । झाँक्रीले माननिय भुसाललाई कुर्सीले साथ नदिएको भन्दै ‘मेटाफोर’ प्रयोग गरिन् ।

झाँक्रीले भनेजस्तै भुसालका लागि कुर्सी त्यति लाभदायक भने देखिएको छ्रैनन् ।

झाँक्रीको संकेत भुसालको राजनीतिक करिअरतर्फ इंकित रहेको बुझ्न पत्रकारलाई गाह्रो परेन ।

त्यो क्रम विद्यार्थी राजनीतिदेखि अहिलेसम्म पनि देखिएको छ । पार्टीभित्रका अध्ययनशिल, बौद्दिक नेताको उपमा पाएपनि त्यो व्यवहारिक रुपमा भने देखिएको छैन् ।

भुसालको कुर्सी नफापेको अहिले मात्रै होइन । विद्यार्थीकालदेखि नै विभिन्न समयमा हण्डर खाँदै आएका थिए । उनलाई त्यो समयदेखि नै माथिल्लो तहमा पुग्ने वातावरण पनि बनेन् ।

भुसाल विद्यार्थी राजनीति गरिरहेको समयमा अखिलको अध्यक्ष बनाउने विषयमा अन्तिम टुंगो लाग्न बाँकी थियो ।

तर उनी महासचिवबाट नै बिदा भए ।

त्योबेला उनी अध्यक्षमा नपुग्नुको कारण भने पार्टीको संस्थापन पक्षमा नहुनुलाई पनि मानियो ।

त्यो समयमा उनी सिपी मैनाली पक्षधर थिए । विद्यार्थी राजनीतिदेखि सुरु भएको धक्का अहिलेसम्म ५÷६ पटक भुसालले अनुभव गरिसकेका छन् ।

अध्ययनशिल भएपनि राम्रो स्थान नपाउने समस्याले ग्रसित भुसालले झलनाथ खनाल पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भएको समयमा त केही पाउने सबैले अपेक्षा गरेका थिए ।

त्यो अपेक्षा केवल अपेक्षा मात्रै भयो । त्यो समयमा भुसालले मात्रै बिना विभागीय मन्त्रीमा चित्त बुझाउनु पर्यो ।

त्यसअघि उनी हरेक पटक संस्थापन पक्ष भन्दा बाहिर रहे ।

खनाल अध्यक्ष भएको समयमा भने पार्टीको संस्थापन पक्षको रुपमा देखिए । तै पनि राम्रो स्थान पाउन भाग्यले साथ दिएन् ।

नवौं महाधिवेशनमा केपी शर्मा ओली पार्टी अध्यक्ष भए । त्यो समयमा उनले नेपाली समाज पुँजीवादमा प्रवेश गर्यो भन्ने बिचार राख्दै आएका थिए ।

तर त्यही समयमा एमालेले अर्ध सामान्ती, अर्ध औपनिवेशीक समाज हो भन्दै आएको थियो ।

आफ्नो विचारमा अडिग भुसालले समाज पुँजीबादमा प्रवेश गर्यो भन्ने भनाइबाट पछि हटेनन् ।

पछि उनको यही बिचार पास पनि भयो ।

आफ्नो बिचार पास भएको भन्दै पार्टीसँग स्कुल विभागको जिम्मेवारी माग गरे । तर अन्तिम समयमा स्कुल विभाग पनि उनको पोल्टामा परेन ।

एमालेले विधानमा नलेखे पनि मौखिक रुपमा भने पार्टीको २ जना उप–महासचिवमध्ये १ जनाले राज्य व्यवस्था र १ जनाले स्कुल विभाग हेर्ने भन्ने थियो ।

जब कार्य विभाजन भयो भूसाल हेरेको हेर्यै भए । भुसाल एमालेको नवौं महाधिवेशनमा उप–महासचिवमा निर्वाचित भएका थिए ।


सोभित थपलिया