राष्ट्र बैंकले बैंकहरुमा ५८ करोड रुपैयाँ मुद्दति निक्षेप राख्ने



काठमाडौं । नेपाल राष्ट्र बैंंकले बैंक तथा वित्तीय संस्थामा ५८ करोड ५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आगामी साउन १ गतेदेखि लाग आगामी असार २२ गते सम्मको लागि ३६५ दिनको मुद्दति निक्षेपमा त्रैमासिक ब्याज भुक्तानी गर्ने गरी लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा ४६ करोड ४५ लाख, ‘ख’ वर्गका विकास बैंकमा ८ करोड ७० लाख र ‘ग’ वर्गका फाइनान्स कम्पनीहरूमा २ करोड ९० लाख रूपैयाँसहित ५८ करोड ५ लाख रूपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने जनाएको छ ।

मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले लिन चाहेको रकम र प्रस्तावित ब्याजदर उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्ने जनाएको छ । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले असार २२ गतेसम्म राष्ट्र बैंकको वित्तीय ब्यवस्थापन शाखामा आवेदन दिनुपर्ने जनाएको छ ।

यसका लागि राष्ट्र बैंकले केही शर्तहरु समेत राखेको छ । बैंक सञ्चालनमा आएको २ बर्ष पुरा भएको हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम गरेको, निष्कृय कर्जा ५ प्रतिशतभन्दा कम रहेका, खुद तरलता सम्पत्ती बिदेशी सम्पत्तिको २० प्रतिशतभन्दा बढी रहेका हुनुपर्ने लगायत रहेका छन् ।


पुष्प दुलाल