बैंकर्स संघको बैठकमा भद्र सहमति तोडिएको उजुरी, कस्ले तोड्यो ?
काठमाडौं । सोमबार बिहान साढे ९ बजेका लागि बैंकर्स संघले पूर्ण बैठक बोलाएको थियो । बैठकमा २८ वटै वाणिज्य बैंकका सीइओहरु उपस्थित थिए ।
एजेण्डा थियो– समसामयिक विषय ।
केही दिन अघि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले मौद्रिक नीति आउनु अघि मर्जरको प्रस्ता राष्ट्र बैंकमा पेश गर्न बैंकका अध्यक्ष र सीइओलाई निर्देशन दिएका थिए ।
खासगरी यही विषयमा छलफल गर्न बैंकर्स संघले पूर्ण बैठक बोलाएको थियो । बिग मर्जरको विषयमा छलफल भइरहेको थियो । एक बैंकका सीइओले केही बैंकले अझै पनि नयाँ मुमति निक्षेपमा ९.६० प्रतिशत ब्याज दिएर संघको भद्र सहमति तोडेको भन्दै गुनासो गरे ।
‘सहमति गरेपछि त पालना गर्नु पर्यो नि,’ ती सीइओले भने, ‘यस्तो गर्नु भएन ।’
ती सीइओले यसो भनिरहँदा बैठकमा उपस्थित सीइओहरु मुखामुख गरे ।
कुन बैंकले भद्र सहमतिभन्दा बढी दियो भन्ने बारे त्यहाँ कसैले पनि नाम उच्चाहरण गरेनन् । तर, बुझ्न भने सबैले बुझे ।
बैंकर्स संघले गरेको भद्र सहमति अनुसार मुद्दति निक्षेप नवीकरण गर्दा ९.६० र नयाँ मुद्दति निक्षेप लिँदा ९.५० प्रतिशत मात्रै ब्याजदर दिन पाइन्छ ।