बैंकर्स संघका अध्यक्ष भन्छन्- व्यवसायीहरु कालिदास जस्तै मूर्ख भए, भद्र सहमति तोड्दिउँ ?



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले व्यवसायीहरु कालिदास जस्तै मूर्ख भएको बताएका छन् । ब्याजदरको विषयलाई लिएर बैंकर र व्यवसायीबीच द्धन्द्ध भइरहेका बेला अध्यक्ष ढुंगानाले यस्तो बताए ।

‘व्यवसायी साथीहरु न रिसाउनु होला, यो प्रवृतिलाई मैले कालिदास भन्न चाहेँ, किनभने तपाईंहरु हाँगामा बसेर रुख काटन थाल्नु भयो,’ आइबिएन मिडिया एण्ड रिसर्चले मौद्रिक नीतिको सुझाबका लागि आयोजना गरेको कार्यक्रममा ढुंगानाले भने ।

उनले बैंकर्सहरुको सहमतिले बाधा हुने भएको भए आफूहरु आजै सहमति तोड्न तयार रहेको बताए ।

‘यसले के हुन्छ भने जसले कर्जाको ब्याज बढ्छ, उद्योग व्यवसायीले गरेको सहमितलाई नै कार्टेलिङ भन्ने हो भने राम्रो हुँदै,’ उनले भने ।
सहमतिले ब्याज घटाउन सहयोग गरेको विषयलाई पनि बिर्सन नहुने उनको बुझाई छ ।

‘व्यवसायीलाई नै कर्जाको ब्याजदर नबढोस् भनेर गरेको सहमतिलाई नै तपाईहरुले बढी भयो भन्नु भयो भनेर यो राम्रो हुँदैन,’ उनले भने ।

अध्यक्ष ढुंगानाले मौद्रिक नीतिमा सुझाव दिँदै ‘गोल्ड डिपोजिट’को विषय गम्भिर हुन राष्ट्र बैंकलाई दिए । बैंकले गोल्ड डिपोजिटलाई सिआरआरमा काउन्ट गरेको खण्डमा डिपोजट बढ्ने र त्यसलाई लोनेबल फण्डमा गणना गर्न मिल्ने बताए ।

बजेटमा नै गोल्ड डिपोजिटको विषय रहेको मौद्रिक नीतिमा यो विषय विस्तृत रुपमा आउनु आवश्यक रहेको तर्क गरे ।

तरलता सहज बनाउनको लागि डिजिटल बैंकिङलाई अबलम्बन गर्ने समय आएको उनको भनाई छ । बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार प्राथमिकता क्षेत्रमा गर्नुपर्ने लगानी मध्ये विगतमा कृषि र जलविद्युतमा १५ प्रतिशत रहेकोमा अहिले १० प्रतिशत आएकोले यसमा समय नपुगेकोले समय थप्न उनले माग गरे ।

त्यस्तै, घ वर्गाका वित्तीय संस्थामा पनि रिसोर्स नपुग भएकोले उनीहरुलाई दिएको पैसा कृषिमा दिएसरह गणना गर्नुपर्ने उनको माग छ ।

‘उद्योगीहरुले इन्ट्रस्ट स्प्रेड अझै घटाउनु पर्छ भनिरहेको भनिरहेका छन्,’ उनले भने, ‘घटाउँदै जाँदा अर्को वर्षबाट बैंकहरुले कमाउनु पर्दैन भन्नु होला कि भन्ने डर छ । क्रमिक रुपमा ५ बाट साढे ४ प्रतिशतमा आएको छ ।’

अध्यक्ष ढुंगानाले कर्जाको ब्याज महंगो नहोस् भनेर सदैब सचेत रहेको बताए । यसले कर्जाको लगात बढाउने भन्दै बैंकहरुले कर्पोरेट रेस्पन्सबिलीटी फिल गरेको पनि जानकारी गराए ।

बैंकहरुले कमाउने नाफा कारोबारमा आधारित हुने र १ खर्बको कारोबार गर्दै १ अर्ब पनि नाफा कमाउन नहुने हो भने कारोबार गर्नुको कुनै अर्थ नहुने उनको भनाई थियो । बैंकहरुले नाफा एक/डेढ प्रतिशत मात्रै नाफा कमाएको ढुंगानाको दाबी छ ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंक ब्याजदरको विषयमा छलफल गर्न आफू तयार रहेको र बैंकर्सहरुलाई पनि तयार रहन आग्रह गरेका थिए । बैंकहरुले निकै कार्टेलिङ गरेको र विगत ४/५ महिना यता बैंकहरु प्रतिको विश्वास पनि घट्दै गएको बताए ।
उनले बैंकहरुले ठूला १४-१५ जना व्यवसायीलाई मात्रै ऋण दिन र साना उद्योगी/व्यवसायीले ऋण पाउन नसकेको तर्क अघि सारे ।

‘यस्तै हो भने आगामी दिनमा साना उद्योगीको लागि कालो दिन नआउला भन्न सकिँदैन, ठूलाले आंतक सृजना गर्न लागेका छन्, साना उद्योगी ऋण लिन कहाँ जाने, बैंकले ऋण नदिएर फाइनान्समा गएर बढी ब्याजमा ऋण लिन बाध्यछन्,’ प्रधानले भने, ‘यस विषयमा राष्ट्र बैंकले तत्काल ध्यान दिनुपर्छ ।’

सुझाव कार्यक्रममा चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले दुई वटा एलसी खोल्ने नीतिले आयातमा समस्या भएको भन्दै यसलाई मौद्रिक नीतिले समाधान गर्न आग्रह गरे । उनले बैंकहरुले स्प्रेडदर ३.५ प्रतिशत कायम गर्न आग्रह गरेका छन् ।


पुष्प दुलाल