राष्ट्र बैंकको निर्देशनः नेपाली भाषाको प्रयोग गरेर एटीएमबाट पैसा झिक्न पाउने व्यवस्था मिलाउनू



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली भाषा प्रयोग गरी एटीएमबाट पैसा निकाल्न पाउने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केही बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकाल्दा नेपाली भाषा प्रयोग गर्न सक्ने अप्सन नै नरहेको भन्ने व्यापक जनगुनासो आएपछि राष्ट्र बैंकले एक महिनाभित्र नेपाली भाषाको प्रयोग गरेर पैसा निकाल्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

‘यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र अनिवार्यरुपमा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न पाउने व्यवस्था मिलाएर राष्ट्र बैंकलाई लिखित जानकारी दिनू,’ राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले असार ५ गते जारी गरेको सूचनामा भनिएको छ ।

उक्त अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्था मिलाएको नपाईएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ उपदफा (२) बमोजिम कारवाही हुने राष्ट्र बैंकले जनाएको छ ।

एटीएम कारोबार गर्दा बैंकहरुले अंग्रेजी भाषामात्रै राखेका कारण राम्रोसँग अंग्रेजी बुझ्न नसक्नेहरुलाई कठिन हुँदै आएको थियो ।


पुष्प दुलाल