खुद्रा र किराना पसललाई पनि कर लगाइँदै, होटेल र गेस्ट हाउसप्रति कठोर बने अर्थमन्त्री



काठमाडौं । सरकारले आगामी बजेटदेखि करको दायराभन्दा बाहिर रहेका खुद्रा र किराना पसललाई पनि करको दायरामा ल्याउने भएको छ ।

निश्चित रकमभन्दा माथिको कारोबार गर्ने किराना र खुद्रा पसललाई पनि अनिवार्य बिलिङ प्रणाली लागू गर्दै सरकारले यो क्षेत्रलाई करको दायरामा ल्याउने भएको हो ।

अर्थमन्त्री खतिवडाले यी क्षेत्रमा बढाउँदै छन् कर, जनतालाई पर्दैछ थप भार

केन्द्रिय तथ्यांक विभागका अनुसार देशभर ९ लाख किराना तथा खुद्रा पसल सञ्चालनमा छन् । जसमध्ये अधिकांश करको दायरामा आएका छैनन् ।

‘यो बजेटको नीति करको दर होइन, दायरा बढाउनेमा केन्द्रित छ,’ बजेट निर्माण प्रक्रियामा सहभागी अर्थ मन्त्रालयका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अब किराना र खुद्रा पसलहरु पनि करको दायरामा आउने छन् ।’

यसअघि पनि किराना तथा खुद्रा पसल करको दायरामा नआएका भने होइनन् । वाणिज्य विभागबाट अनुमति लिएर यस्ता पसलहरु सञ्चालनमा छन् । तर, किराना पसलमा सामान किन्दा बिल पाइँदैन ।

सरकारले आगामी वर्षदेखि वार्षिक निश्चित रकमभन्दा बढी कारोबार गर्ने किराना तथा खुद्रा पसलले अनिवार्य बिल दिनुपर्ने नयाँ व्यवस्था गर्दैछ ।

‘किराना र खुद्रा पसललाई करको दायरामा ल्याउँदा अर्बौं राजस्व उठ्ने हाम्रो अनुमान छ,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने ।

त्यसैगरी, अर्थ मन्त्रालयले बजेमार्फत् होटेल तथा गेस्ट हाउसलाई कडाइ गर्ने भएको छ ।

‘पर्यटकको संख्या बढ्दा पनि होटेल तथा गेस्टहाउसहरुले आम्दानी बढेको नदेखाएपछि अर्थमन्त्रीको आँखा यसमा परेको हो,’ स्रोतले भन्यो, ‘पर्यटन क्षेत्रले राजस्वमा खासै योगदान गरेको छैन, यति ठूलो रकमको कारोबार हुने क्षेत्रलाई कडाइका साथ करको दायरामा ल्याउँदैछौं ।’

यसको अर्थ अब गेस्ट होटेल तथा हाउसमा बस्दा तपाईंहामीले भ्याटबिल पाउने भएका छौं । जसकारण होटेल तथा गेस्टहाउसको बसाइ थप महंगो हुने देखिएको छ ।

होटेलहरुले प्रदान गर्ने मुद्रा सटहीको सुविधामा पनि अर्थमन्त्रीको नजर परेको स्रोतको दाबी छ ।


पुष्प दुलाल