भारु खर्चेर किनमेल गर्ने सीमा तोकियो
काठमाडौं । भारतीय रुपैयाँ (भारु) खर्च गरेर सामान किनमेल गर्ने सीमा तोकिएको छ । भारतीय मुद्राको बचत गर्ने उदेश्यले राष्ट्र बैंकले यस्तो ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै भारतीय बजारमा किनमेल गरी कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको हो ।
यसअघि भारतमा क्रेडिट, डेबिट र प्रिपेड कार्डलगायत इलेक्ट्रोनिक कार्डको माध्यमबाट पस वा अन्य विद्युतीय प्रणालीमार्फत बस्तु तथा सेवा खरीद गर्दा हुने भुक्तानीमा सीमा थिएन।
तर, अब मासिक १ लाख भारुभन्दा बढि भुक्तानी गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।
तर होटल, हस्पिटल र औषधि पसलमा गरिने भुक्तानीमा भने सीमा तोकिएको छैन।
भुक्तानी सन्तुलन र चालू खाता ऋणात्मक भएपछि सरकारले विदेशी मुद्रा खर्चमा कडाइ गर्ने नीति अबलम्बन गरेको हो ।
यसअघि विदेश जाँदा लैजान पाइने रकमको सीमा झारिएको थियो। २५०० डलरसम्म लैजान पाइनेमा झारेर १५०० डलर पारिएको थियो।