बैंकसँग बार्गेनिङ गर्नुहोस्, व्यक्तिगत मुद्दतिमा चाहिएजति ब्याज लिनुहोस्



काठमाडौं । के तपाईं बैंकमा मुद्दति निक्षेप राख्ने सोचमा हुनुहुन्छ ? तपाई व्यक्तिगत मुद्दति राख्दै हुनुहुन्छ भने ब्याजदरका विषयमा मज्जाले बार्गेनिङ गर्नुहोस्, बैंकले तपाईंलाई बढी ब्याज दिन्छन् ।

बैंकहरुबीच ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा हुँदा अर्थतन्त्रलाई नै समस्या पर्ने भन्दै लामो समयदेखि बैंकर्स संघले भद्र सहमति गरेर ब्याजदर तोकेको थियो ।

तर, मंगलबारको संघको बैठकले व्यक्तिगत मुद्दति निक्षेपमा विगतमा भएको सहमति खारेज गरेर बैंकले आफूलाई मन लागेजति ब्याज दिनसक्ने ब्यवस्था गरेको छ ।

बैंकर्स संघको यो निर्णयसँगै व्यक्तिगत मुद्दति निक्षेप राख्ने निक्षेपकर्ताहरुलाई मालामाल भएको छ । बैंकसँग बार्गेनिङ गरेर बढीभन्दा बढी ब्याज लिन पाउने भएका छन् ।

यसअघि व्यक्तिगत मुद्दति निक्षेपमा साढे १० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति थियो ।

‘अब बैंकहरु व्यक्तिगत मुद्दति निक्षेपतर्फ आकर्षित हुन्छ, त्यसका लागि ब्याज बढाउनै पर्ने हुन्छ,’ एक बैंकरले भने, ‘निक्षेपकर्ताले मोलमोलाइ गरेर बढी ब्याज दिने बैंकमा निक्षेप राख्न पाउने भएका छन् ।’

बैंकर्स संघको मगंलबारको निर्णयले फेरि एकपटक बैंकहरुबीच ब्याजदर बढाउने प्रतिस्पर्धा हुने देखिएको छ । विगतमा संस्थागत निक्षेप तान्न बढी ब्यजा दिने बैंकहरुले अब भने ब्यक्तिगन निक्षेपमा ब्याज बढाउने भएका छन् ।

संस्थागत निक्षेपका लागि भने बैंकर्स संघले अवधि तोकेको छ । १० वर्षका लागि ११ प्रतिशत भन्दा बढी ब्याज दिन नपाइने र १० वर्षभन्दा माथि भए निक्षेपकर्ता र बैंकको आपसी सहमतिमा जतिपनि ब्याज दिन सक्नेछन् ।

तर, तपाईंले बचतमा राख्नुभयो भने निकै कम ब्याज पाउनुहुने छ । विगतमा भएको न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याज दिनुपर्ने भन्ने सहमतिलाई संसोधन गर्दै बैकर्स संघले बचतको ब्याजदरको न्यूनतम सीमा हटाएको छ ।


पुष्प दुलाल