७ वटा भन्सार नाकाको राजस्व संकलन गर्ने जिम्मा प्रभु बैंकलाई
काठमाडौं । सरकारले देशभरका विभिन्न ७ भन्सार नाकामा राजस्व संकलन गर्ने जिम्मा प्रभु बैंकलाई दिएको छ । राष्ट्र बैंक र भन्सार विभागको स्वीकृतिमा प्रभु बैंकले पूर्वदेखि पशिचमसम्मका स्तरोन्नति गरिएका भन्सार नाकाहरुबाट सरकारी राजस्व उठाउने भएको छ ।
त्यसका लागि बैंकले मंगलबार एकैपटक ७ वटा एक्सटेन्सन काउन्टर खोल्दैछ । उक्त एक्सटेन्सन काउन्टरहरुले भन्सार राजस्व संकलन गर्नेछन् ।
यी एक्सटेन्सन काउन्टर सञ्चालनमा आएपछि निक्षेप परिचालन गर्न थप सजिलो हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।
‘सरकारले हामीलाई विश्वास गरेर राजस्व उठाउने ठाउँमा एक्सटेन्सन काउन्टर खोल्ने अनुमति दिएको छ, यसले बैंकप्रति जनताको विश्वास पनि थपिने छ । र, भन्सार राजस्वको रकम बैंकमा आउने भएकाले निक्षेप परिचालनमा पनि थप सजिलो हुनेछ,’ सीइओ शेरचनले क्लिकमाण्डूसँग भने ।
बैंकले झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाँडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुनौली, र कैलालीको सति भन्सार नाकामा एक्सटेन्सन काउन्टर खोल्न लागेको उनले बताए ।
७ वटै भन्सार कार्यालयको उदघाटन भन्सार विभागका महानिर्देशक तोयम रायले महोत्तरीको जलेश्वरबाट गर्दैछन् ।
ती कार्यालयहरुले ३६५ दिन नै बैंकिङ सेवा प्रदान गर्नेछन् ।
यसअघि नै प्रभु बैंकले देशभर १६२ शाखा, १२१ वटा एटीएम र २ वटा एक्सटेन्सन काउन्टरमार्फत् साढे ११ लाख ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
स्थानीय तहमा धेरै शाखा खोल्ने बैंकमध्ये प्रभु दोस्रो हो । बैंकले ३० वटा स्थानीय तहमा शाखा खोल्नका लागि अनुमति पाएकोमध्ये २८ स्थानीय तहमा शाखा खोलिसकेको छ ।