अब विदेशी बैंकको एजेन्टको रुपमा वाणिज्य बैंकहरुले काम गर्न सक्ने



काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले अब विदेशी लगानीकर्ताको एजेन्ट भएर काम गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुले विदेशी बैंकको एजेन्ट भएर काम गर्न सक्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले ‘स्क्रो एकाउन्ट’ सञ्चालनसम्बन्धी निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरेको हो ।

‘नेपालका बैंकहरुले अब विदेशी लगानीकर्ताको एजेन्टको रुपमा काम गर्न पाउने भएका छन्,’ राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्माराज ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘स्क्रो एकाउन्ट’ सञ्चालनका लागि त्रिपक्षीय सम्झौताको आवश्यकता पर्छ ।’

सम्झौतामा विदेशी लगानीकर्ता, नेपाली बैंंक र नेपालको परियोजनाबीच सम्झौता हुन्छ । र, उक्त सम्झौतामा विदेशी लगानीकर्ताको लगानीको सावाँ र ब्याज कसले भुक्तानी गर्ने भन्ने ग्यारेन्टी हुन्छ ।

‘यो निर्देशिकासँगै विदेशी लगानीकर्ताको आत्मविश्वास बढ्छ । किनभने विदेशी लगानीकर्ताको लगानीको ग्यारेन्टी हुन्छ । नेपाली बैंक विदेशी लगानीकर्ताको एजेन्टको रुपमा काम गर्छ,’ ढुंगानाले भने, ‘भोलि आयोजनाले लगानीकर्ताको सावाँ र ब्याज तिरेन भने बैंकले आयोजनाको सम्पत्ति बिक्री वितरण गरी असूल गर्छ ।’

राष्ट्र बैंकको निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।


पुष्प दुलाल