बैंकरलाई गभर्नरले झपारेः निक्षेप बढाउन नसक्ने अनि खुरुखुरु मागेजति ऋण दिने ? सीसीडी परिवर्तन हुँदैन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले बैंकरहरुलाई झपारेका छन् । निक्षेप बढाउन नसक्ने अनि मागेजति ऋण खुरुखुरश्र दिएर थप ऋण दिने पैसा छैन भन्ने बैंकरहरुले रोइलो गरेको भन्दै गभर्नर डा. नेपालले यस्तो नगर्न बैंकहरुलाई निर्देशन दिए ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ६६ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ७४ अर्ब ऋण दिएका छन् । जसकारण अधिकांस बैंकहरुको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ७८/७९ प्रतिशत छ । राष्ट्र बैंकको नियमअनुसार सीसीडी रेसियो ८० प्रतिशतभन्दा माथि लान पाइँदैन ।

निक्षेप संकलनको तुलनामा दोब्बर बढी कर्जा प्रवाह गरेपछि यतिखेर बैंकहरु थप ऋण दिनसक्ने अवस्थामा छैनन् । राष्ट्र बैंकले सीसीडी रेसियोलाई बढाइदिनु पर्ने बैंकरहरुको आग्रह छ ।

‘निक्षेप बढाउन नसक्ने अनि खुरुखुररु मागेजति कर्जा दिने ? अनि सुरक्षाका लागि भनेर राखिएको २० प्रतिशत रकममा आँखा लगाउने ? सीसीडी रेसियोको नियम हेर्नु पर्दैन, बिजनेश प्लानअनुसार काम गर्नु पर्दैन ?’ गभर्नर नेपालले भने, ‘जथाभावी कर्जा विस्तार गर्ने बैंकहरुलाई कारबाही हुन्छ ।’

चालु आर्थिक वर्षको शुरुमै राष्ट्र बैंकले बैंकहरुसँग यो वर्षको बिजनेश प्लान मागेको थियो । तर, धेरै बैंकहरुले राष्ट्र बैंकलाई बुझाएको बिजनेश प्लान भन्दा फरक तरिकाले प्रस्तुत भइरहेका छन् ।

निक्षेप नबढ्दा पनि बैंकहरुले आक्रमक बर्जा विस्तार गरेका कारण पछिल्लो दुई महिनादेखि वित्तीय प्रणालीमा कर्जा योग्य रकमको अभाव देखिएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघद्धारा आयोजित कार्यक्रममा बोल्दै नेपालले बैंकहरुले जथाभावी ऋण लगानी गर्दा बैंकिङ क्षेत्रमा समस्या आएको बताए ।

बैंकहरुले स्थानीय निकायमा शाखा विस्तार गरेर पनि ग्रामीण भेगका सर्बसाधारणको पैसा बैंकहरुले निक्षेपको रुपमा ल्याउन नसकेको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले वित्तीय प्रणालीमा अहिले देखिएको कर्जा योग्य रकमको समस्या समाधान गर्न राष्ट्र बैंकले सीसीडी रेसियोमा लचक नीति अपनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण ब्यवस्थापन विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले तरलता अभावको समस्या र यसको दिर्घकालाीन समाधानको उपायबारे प्रस्तुति दिएका थिए ।


पुष्प दुलाल