एनएमबि बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति ?



काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एनएमबिलाई सो बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको हो ।

राष्ट्र बैंकको अनुमति पछि बैंकले नेपाल धितोपत्र बोर्डमा अनुमतिका लागि आवेदन दिइसकेको छ ।

‘हामीले ३ अर्बको ऋणपत्र निष्काशनका लागि राष्ट्र बैंकबाट अनुमति पाइसकेका छौं । र, धितोपत्र बोर्डमा आवेदन दिएका छौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केशीले क्लिकमाण्डूसँग भने ।

बैंकिङ प्रणालीमा कर्जायोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले ऋणपत्रलाई पुँजी जुटाउने माध्यम बनाएका छन् । करिब आधा दर्जन बैंकले ऋणपत्र जारी गर्ने घोषणा गरिसकेका छन् भने केही बैंकले ऋणपत्र बिक्री पनि गरिसकेका छन् ।

विगतमा बैंकहरुले एक/डेढ वर्षे अर्थात् छोटो समयको निक्षेप उठाएर १०/१५ वर्षका लागि ऋण दिँदै आएका थिए ।

‘दीर्घकालीन स्रोत नहुँदा बैंकलाई थप ऋण लगानी गर्न स्रोतको अभाव हुने देखेपछि हामीले ऋणपत्र र विदेशी ऋणलाई प्राथमिकतामा राखेका हौं,’ सीइओ केसीले भने ।


बैंकले विदेशी संस्थाबाट डेढ अर्ब रुपैयाँ ऋण ल्याइसकेको छ भने थप डेढ अर्ब रुपैयाँ ल्याउनका लागि अनुमति पाइसकेको छ । र, अझै केही संस्थासँग कुरा भइरहेको केसीले जानकारी दिए ।

७ वर्षका लागि ल्याउन लागिएको उक्त ऋणपत्रको ब्याजदर भने फिक्स्ड भइनसकेको केसीले जानकारी दिए ।

‘ऋणपत्र निष्कानको अनुमति लिएर बसेका छौं, अहिले हामी बजारलाई हेरिरहेका छौं, त्यसैले ब्याजदर फिक्स्ड गरेका छैनौं,’ उनले भने, ‘यसै वर्ष वा आउने वर्षमा ऋणपत्र निष्काशन गर्छौं ।’

निष्काशन गर्नु अघि मात्रै ब्याजदरको निर्धारण गर्ने उनले जानकारी दिए ।


पुष्प दुलाल