सर्वाधिक नाफा कमाउने बैंक बन्यो पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक



काठमाडौं । पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा कमाएको छ । यो अवधिमा बैंकले १ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी बढेपछि नाफा बढेको हो । एक वर्षको अवधिमा बैंकले खुद व्याज आम्दानी ४८ प्रतिशतले बढाएर २ अर्ब ६१ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी, ३ महिनामा १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २३ अर्ब पैयाँ ऋण लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ९ अर्ब पुगेको छ भने जगेडा कोष १४१.६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड पुगेको छ। पूँजी कोष अनुपात १३.७५ प्रतिशत छ भने खराब कर्जा ३.८३ प्रतिशत पुगेको छ । आधार व्याजदर पनि केही बढेर ६.३३ प्रतिशत पुगेको छ ।

त्यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६७.८७ प्रतिशत छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ४ रुपैयाले बढेर १२.४४ रुपैंया पुगेको छ ।


पुष्प दुलाल