सुन आयातको कोटा बढाइदै, अब दैनिक २५ केजी ल्याउन पाइने




काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा बढाउने भएको छ । माग अनुसार सुन नपाइएको भन्दै ब्यवसायीले गुनासो गरेपछि राष्ट्र बैंकले अहिलेको दैनिक २० केजीको कोटा बढाएर २५ केजी बनाउन लागेको हो ।

दैनिक ५ केजीको दरले कोटा बढाएर सुन ब्यवसायीको माग पूरा गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक छ । कोटा बढाउने प्रश्ताव राष्ट्र बैंक संचालक समितिमा पुगिसकेको छ ।

ब्यवसायीले दैनिक ४० केजी सुनको माग रहेको भन्दै दैनिक कोटा नै ४० केजी बनाइ दिन राष्ट्र बैंकसँग आग्रह गरेका छन् । तर, राष्ट्र बैंकले भने दैनिक कोटा ५ केजी मात्रै बढाउन लागेको हो ।

‘सुन आयातको कोटा बढाउन लागिएको छ, अहिलेसम्म दैनिक २० केजी ल्याउन पाइने ब्यवस्था पुनराबलोकन गरी दैनिक २५ केजी बनाउन लागिएको छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

तिजदेखि सुरु भएर मंसिरको विवाह लगनसम्म सुनको माग बढी हुने ब्यवसायीले बताउँदै आएका छन् । राष्ट्र बैंकले पनि दैनिक कोटा आगामी मंसिर महिनासम्मको लागि मात्रै बढाउन लागेको हो । मंसिरपछि फेरि दैनिक २० केजी कायम रहने गरी तत्कालको लागि २५ केजीको कोटा कायम गर्न लागिएको स्रोतको भनाइ छ ।

दैनिक २० किलो सुनको कमी
मागको आधारमा सुन नपाएपछि देशभरको सुन व्यवसाय चौपट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । बजारमा दैनिक करिब २० किलो सुन कमी भएको उनको भनाई छ ।

‘अहिले ४० किलोभन्दा बढी सुनको माग छ, बैंकबाट २० किलोमात्र सुन बजारमा जान्छ, माग अनुसारको सुन पाइएकै छैन’ शाक्यले भने ।

सुनको अभाब सुल्झाउनको लागि ब्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवसँग पनि आग्रह गरेका थिए । यस्तै नेपाल राष्ट्र बैंकलाई पनि सुनको कोटा बढाइ दिन पटकपटक आग्रह गरिएको ब्यवसायीको भनाइ छ ।

केही बर्ष पहिला सुन आयात अत्याधिक बढेर राष्ट्रिय अर्थतन्त्र नै संकटमा पर्न सक्ने संकेत मिलेपछि राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेर सुन आयातमा परिमाणत्मक बन्देज लगाइरहेको छ ।

२२ वटा वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले सुन आयात गरेर बजारमा बिक्री गर्न अनुमति दिएको छ । ती बैंकले बजारमा दैनिक बिक्री गर्ने २० किलो सुनले बजारको माग धान्न सकेको छैन ।

नेपालमा वार्षिक ५० अर्ब रुपैयाँको सुन कारोबार हुन्छ । आर्थिक वर्ष ०७४÷७५मा सात हजार दुई सय ६० किलो सुन बैंकिङ प्रणालीबाट आयात भएको थियो ।

किन भयो त अभाव ?
गत बर्ष पनि राष्ट्र बैंकले बैंकहरुमार्फत दैनिक २० किलो सुन मात्रै ल्याउन पाइने नियम बनाएको थियो । तर, गत बर्ष यसबर्षको जति अभाव भएको ब्यवसायीले बताएका थिएनन् ।

केही बर्षअगाडिदेखि नै ब्यवसायीहरुले आवश्यक मात्रामा सुन नपाएको गुनासो गर्दै आएका थिए । तर, यसबर्ष भने विक्री गर्ने सुन नभएको कारण पसलै बन्द गर्नुपरेको ब्यवसायीले बताएका छन् । अघिल्ला बर्षहरुमा सुन नपाएको कारण देखाउँदै पसल बन्द भने गरिएको थिएन ।

सरकारले केही महिना अगाडि सुन तस्करीको मुख्य नाइके भन्दै चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरेको छ । सो सम्बन्धि अनुसन्धान गर्दा पछिल्ला केही बर्षयता नेपालमा ३८ क्विन्टल सुन तस्करीबाट भित्रिएको सरकारी अधिकारीको भनाइ छ ।

सरकारको सो भनाइ तथा बैधानिक माध्यमबाट गत बर्षकै जति सुनको आपूर्ति हुदा पनि सुनको हाहाकार हुनले नेपाली बजारको सुनको आपूर्तिको एक प्रमुख माध्यम तस्करी रहेको संकेत मिलेको छ ।

बजारमा सुनको हाहाकार गराउन अर्थमन्त्रालयको निर्णय पनि सहयोगी बनेको छ ।

गत आर्थिक बर्षसम्म सरकारले विदेशबाट आउने नेपालीलाई प्रतिब्यक्ति ५० ग्रामसम्म सुन ल्याउदा भन्सार तिर्नु नपर्ने नियम बनाएको थियो ।

तर, चालु आर्थिक बर्षको लागि ल्याइएको बजेटले यसरी विदेशबाट ल्याउन पाइने सुनको कोटा बढाएर प्रतिब्यक्ति १०० ग्रामसम्म पुर्याइयो । सुन ल्याउन पाइने मात्रा बढाइए पनि भन्सार तिर्नु नपर्ने नियम भने हटाइएको छ ।

चालु आर्थिक बर्षदेखि विदेशबाट आउने नेपालीले प्रतिब्यक्ति १०० ग्रामसम्म सुन ल्याउन पाउँछन् । तर पहिलो ५० ग्राम सुन ल्याउने प्रति १० ग्राम ५२ सय र बाँकी ५० ग्राममा प्रति १० ग्राम ६२ सय रुपैयाँको दरले भन्सार तिर्नुपर्छ ।

यो भन्सार दर बैंकिङ प्रणालीबाट आउने सुनले तिर्नेभन्दा बढी छ । बैंकिङ प्रणालीबाट आउने सुनमा प्रति १० ग्राम ४२ सय रुपैयाँका दरले भन्सार तिर्नुपर्छ ।


क्लिकमान्डु