नेपालीलाई जागिरः ११ प्रतिशतलाई उद्योगले, १४ प्रतिशतलाई विदेशले




काठमाडौं । नेपालीले जागिरको लागि स्वदेशमाभन्दा बढी विदेशमा भर पर्नुपर्ने अबस्था सिर्जना भएको छ । स्वदेशी उद्योग प्रतिष्ठानमा काम गरेर जिविकोपार्जन गर्ने नेपालीकोभन्दा बैदेशिक रोजगारीबाट दैनिकी चलाउने नेपालीको संख्या बढी देखिएको छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नै यस्तो तथ्यांक सार्बजनिक गरेका हुन् । उनले सार्बजनिक गरेको तथ्यांक अनुसार देशभर कूल ९ लाख २२ हजार ४४५ उद्योग प्रतिष्ठानले हालसम्म ३४ लाख ८ हजार ७४६ जनालाई रोजगारी दिइएको पाइएको छ ।

नेपालमा भएका उद्योग प्रतिष्ठानहरुले नेपालीलाई दिएको जागिर कुल जनसंख्याको ११ प्रतिशतभन्दा केही बढी मात्रै हो । नेपालको जनसंख्या करिब ३ करोड पुगेको अनुमान गरिएको छ ।

यस्तै वैदेशिक रोजगारीमा ४३ लाख नेपाली संलग्न भएको मन्त्री विष्टले सार्बजनिक गरेको तथ्यांकमा उल्लेख छ । यो संख्या कुल जनसंख्याको १४ प्रतिशत हो । यी दुबै तथ्यांकले नेपालमा भएका उद्योग प्रतिष्ठानले ११ प्रतिशत नेपालीलाई रोजगारी र बैदेशिक रोजगारीले १४ प्रतिशत नेपालीलाई जागिर दिएको देखाउँछ ।

गत आर्थिक बर्षमा मात्रै ३ लाख ५२ हजार ८४ जना नेपाली बैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । वैदेशिक रोजगारीले कूल ग्राहस्थ उत्पादनमा २४.२५ प्रतिशत योगदान गरेको पाइएको छ ।

मन्त्रालयका अनुसार रोजगारीका लागि योग्य युवा मध्ये ३० प्रतिशत अर्ध बेरोजगार रहेका छन् । यस्तै २.३ प्रतिशत पूर्ण रुपमा बेरोजगार रहेका छन् भने ५७ प्रतिशत कृषि क्षेत्रमा आश्रित रहेका छन् ।

सरकारी सेवामा करिब १० नेपाली संलग्न भएको अनुमान गर्ने गरिएको छ । यो संख्या कुल जनसंख्याको ३.३३ प्रतिशत जति हुन आउँछ ।

यस्तै बहुआयमिक गरिबी २८.६ प्रतिशत रहेकोमा ग्रामीण क्षेत्रमा ७८.७ प्रतिशत गरिबी रहेको छ ।

रोजगारीको हक सम्बन्धी ऐनले बेरोजगार व्यक्ति तथा न्यूतम रोजगारलाई परिभाषित गरेको, बेरोजगार सेवा केन्द्रको व्यवस्था गरेको, रोजगार कार्यक्रम सञ्चालन गरेको, रोजगारी छनौट गर्न पाउने अधिकार दिएको, स्वरोजगारी प्रोत्साहित गरिएको र बेरोजगार सहायता, रोजगार सूचना, तोमिल, सहुलियतपूर्ण ऋण र निर्वाह भत्ताको समेत व्यवस्था गरेको छ ।


क्लिकमान्डु