प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुलाई भने- नेपालमा लगानी गर्नोस्



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन् ।

इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्श (आईएफवाईसीसी) द्वारा आज आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाई गर्दैनौं भने ।

लामो संक्रमणपछि देशले राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।” उनले–भारतीय उद्योगीहरुलाई नेपालमा लगानी गर्न आग्रह समेत गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालको विकासका लागि भारतीय व्यवसायीबाट भएको लगानीको प्रतिबद्धता घोषणामा मात्र सिमित नहोस् भने । उनले भने, “मुलुकको आर्थिक र समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य छ, सरकारले लगानीका लागि उपयुक्त वातावरण बनारहेको छ ।”

सम्मेलनका समन्वयकर्ता डा शिवजी यादवले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई लगानी प्रवद्र्धनको माध्यमबाट कसरी सफल तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।

राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रप्रसाद यादवले नेपाल र भारतबीचमा रही आएको पारिवारिक र संस्कृतिक सम्वन्धलाई आर्थिक समृद्धिका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । उनले सम्मेलन मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग परिघका अध्यक्ष हरिभक्त शर्माले भारतीय उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि निकै सहज वातावरण रहेको जानकारी दिए ।

सो अवसरमा इन्टरनेशनल फेडरेशन अफ यादव च्यामर्श अफ कमर्श (आईएफवाईसीसी) का अध्यक्ष सुदेश यादवले रोजगारी र व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले स्थापना भएकाले सरकारको आर्थिक समृद्धि नारा कार्यान्वयनका लागि हरसम्भव सहयोग पु¥याउने बचनबद्धता प्रकट गरे ।

उद्योगबीच समन्वय गर्ने, बाणिज्य र व्यापार सुधारका लागि वातावरण निर्माण गर्ने लक्ष्यका साथ गठन भएको इन्टरनेशनल फेडरेशन अफ यादव च्यामर्श अफ कमर्श नेपालसहित विश्वका १३ मुलुक विस्तार भइसकेको छ ।

नेपाल र भारतबीच खुल्ला सीमाना र जनस्तरको सम्वन्ध आफैमा अनुपम रहेको जनाउँदै सो अवसरमा विभिन्न भारतीय उद्योगी व्यवसायीले नेपालको आर्थिक विकासका लागि कृषि प्रशोधन, स्वास्थ्य, शिक्षा, ऊर्जा विकास र सिमेन्टलगायत क्षेत्रमा लगानी गर्ने घोषणा गरेका थिए ।

नेपाल–भारत ब्यापार मेला आयोजना गरिने
आईएफवाईसीसीका अध्यक्ष यादवले नेपाल–भारत बीच हुने व्यापारलाई लक्ष्य गर्दै चाँडै व्यापार मेला आयोजना गर्ने पनि बताए । यस्तै नेपालमा हुने व्यवसायका लागि विभिन्न क्षेत्रका विशेषज्ञबाट उचित सल्लाह प्रदान गर्न आफुले सहयोग पुर्याउनेपनि बताए ।

भारतमा ९.२ प्रतिशत कच्चा पदार्थ निर्यात
नेपालबाट भारतमा कच्चा पदार्थ ९.२ प्रतिशत निर्यात हुने गर्छ । बिउहरु ८.९ प्रतिशत निर्यात हुने गरेको छ । कपडा ८.६ प्रतिशत निर्यात हुँदै आएको छ ।
जुत्ता चप्पल १० प्रतिशत निर्यात हुने गरेको छ । जुस, ५.४ प्रतिशत निर्यात हुन्छ । तार ३.७ प्रतिशत निर्यात हुने गरेको छ ।

यस्तै, नेपालमा भारतबाट २८.६ प्रतिशत आयात हुने गरेको छ । गाडीमोटर ७.८ प्रतिशत आयात हुने गरेको छ । औषधीहरु ३.७ प्रतिशत आयात हुने गरेको छ । मेसिनेरी सामानहरु ३.४ प्रतिशत आउने गरेको छ । विद्युतीय सामाग्री २.७ प्रतिशत लगायत विभिन्न सामानहरु प्रायः नेपालमा भारतबाट नै आयात हुने गरेको छ ।


क्लिकमान्डु