तरकारी खेतीले परिर्वतन भएको नाला, टनेल निर्माणमा सहयोग माग्दै ५ हजार आबेदन



काभ्रे । उग्रचण्डी नाला गाविस-४ बुल्ले गाउँका ४० वर्षीय हरि सञ्जेल अहिले आर्थिक रुपमा निकै सवल भएका छन् ।

विगत दुई वर्षदेखि करिब तीन रोपनी जग्गामा टनेल राखेर तरकारी उत्पादन गर्न थालेपछि उनी आर्थिक रुपमा सवल भएका हुन् । टनेल राखेर तरकारीखेती गर्न थालेपछि नसोचेको आम्दानी गर्न सकेको सञ्जेल बताउँछन् ।

‘विदेशको भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छु,’ उनी भन्छन् ।

टनेल खेतीबाट एक वर्षमै एक रोपनी जग्गाबाट दुई लाख ५० हजार रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।

विगत पाँच वर्षदेखि १३ वटा टनेल राखेर सञ्जेलले बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । टनेलभित्र उत्पादन गर्दा बेमौसमी तरकारी खेतीबाट किसानले मौसमी खेतीभन्दा दोब्बर उत्पादन लिनसक्छन् । ‘तरकारीको आम्दानीले पाँच जनाको परिवार धान्न सजिलोे भएको छ,’ उनि सुनाउँछन् ।

सुरुमा आफूले ६ वटा टनेलमा तरकारी उत्पादन गर्दै आएकोमा त्यसबाट मनग्य आम्दानी भएपछि थप सातवटा टनेल राखेको अर्का किसान नवराज सञ्जेल बताउँछन् ।

केही वर्ष रोजगारका लागि मलेसिया पुग्नुभएका उनी स्वदेश फर्किएपछि पर्याप्त आम्दानी हुने देखेर तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । खुल्ला ठाउँमा तरकारीखेती गर्दा चाँडै बिग्रने थाहा पाएर उनी टनेल बनाएर तरकारीखेती गर्दै आएका छन् । ‘विदेशको भन्दा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको छु,’ उनी भन्छन् ।

स्वदेशमै बसेर मेहनत गरे पढाइ र खेती दुबै हुने र पर्याप्त आम्दानी समेत गन सकिने स्थानीय २३ वर्षीय साजन श्रेष्ठ बताउँछन् । स्नातकोत्तर तहमा अध्यनरत श्रेष्ठले विगत पाँच वर्षदेखि पढाइ र टनेलखेती दुवैलाई निरन्तरता दिँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालयमा बर्सेनि पाँच हजारभन्दा बढी किसानले टनेल खेतीका लागि निवेदन दिने गरेका छन् । ‘वर्षमा ५०० जनालाई मात्र टनेलका लागि रकम उपलब्ध गराउने गरेका छौँ,’ बाली विकास अधिकृत थर्क जिसीले भन्छन् ।

जिल्लामा करिब एक हजार किसानले टनेल बनाएर तरकारीखेती गर्दै आएका छन् । टनेलमा गोडभेँंडा, काउली, लसुन, बन्दागोभी, बोडी, काँक्रालगायत तरकारी उत्पादन गर्न सकिन्छ । टनेल निर्माणका लागि जिल्ला कृषि विकास कार्यालयले किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु