बैंकिङ क्षेत्रबाट सातामै साढे ३८ अर्ब बाहिरियो, बैंकहरुलाई ऋण दिन झन् गाह्रो



काठमाडौं । ऋण दिनको लागि चाहिने पैसा (तरलता) पर्याप्त नहुँदा समस्यामा परिसहेका बैंकहरुलाई गत सातापछि झन पीडा थपिएको छ । एक साताको बीचमा नै बैंकिङ क्षेत्रबाट साढे ३८ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिए पछि अबस्था झन् कठिन बन्न पुगेको हो ।

यस्तो रकम बैंकहरुबाट झिकेर सरकारी ढुकुटीमा जम्मा पारिएको छ । चालु आर्थिक बर्षको आम्दानीमा लाग्ने करको ४० प्रतिशत र गत आर्थिक बर्षको बाँकी रहेको सम्पूर्ण कर पुस मसान्तभित्रमा तिरिसक्नु पर्ने कानुनी ब्यवस्थाको कारण एक सातामा नै यति धेरै रकम बैंकिङ क्षेत्रबाट बाहिरिएर सरकारी ढुकुढीमा जम्मा भएको हो ।

‘बित्तीय सचेतना जगाउन सर्बसाधारणलाई पैसा घ्याम्पोमा नराख्नुस्, बैंकमा राख्नुस् भनेर हामी भनिरहेका छौं, सरकारले नै उठाएको राजस्व खर्च नगरी ढुकुटीमा राखिदिदा तरलताको अभाब भएको छ, सरकारको पनि वित्तीय सचेतना जगाउनु पर्ने जरुरी देखियो,’

महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार गत पुस २५ गतेसम्ममा सरकारले २ खर्ब ४१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ राजस्व उठाएको थियो ।

यस्तै माघ २ गतेसम्म आइपुग्दा सरकारले २ खर्ब ८० अर्ब ३५ करोड ७८ लाख रुपैयाँ राजस्व उठाएको छ । यो सातदिनको अबधिमा सरकारी ढुकुटीमा ३८ अर्ब ६१ करोड रुपैयाँ राजस्व थपिएको छ ।

राजस्वको रुपमा सरकारी ढुकुटीमा रकम जम्मा हुने तर त्यस्तो रकम सरकारले खर्च गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलताको अभाब छ । पुस मसान्त अघि नै सरकारी ढुकुटीमा २ खर्ब रुपैयाँ रकम थियो । पछिल्लो सात दिनमा थप भएको राजस्व पनि सरकारी ढुकुटीमा नै जम्मा हुने हुँदा सो रकममा ३८ अर्ब ६१ करोड रुपैयाँ थपिएको छ ।

राजस्वको रुपमा सरकारले रकम ढुकुटीमा जम्मा पार्ने र विकास निर्माणको माध्यमबाट त्यस्तो रकम खर्च नगर्दा बजारमा तरलताको अभाब भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल शाहले बताए ।

‘बित्तीय सचेतना जगाउन सर्बसाधारणलाई पैसा घ्याम्पोमा नराख्नुस्, बैंकमा राख्नुस् भनेर हामी भनिरहेका छौं, सरकारले नै उठाएको राजस्व खर्च नगरी ढुकुटीमा राखिदिदा तरलताको अभाब भएको छ, सरकारको पनि वित्तीय सचेतना जगाउनु पर्ने जरुरी देखियो,’ आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका शाहले भने ।

राजस्वको रुपमा सरकारको ढुकुटीमा जम्मा भएको रकम विकास खर्चको माध्यमबाट बाहिर नआएसम्म बजारमा तरलताको सहजता नहुने सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको भनाइ छ ।

‘सरकारको विकास बजेट खर्च बढ्न थालेपछि तरलता सहज हुदै जाने अनुमान गरेका छौं, आगामी बैशाखसम्म यस्तै अभाब देखिने संकेत मिलेको छ,’ महर्जनले भने ।


क्लिकमान्डु