नेपालमा बढ्ने छ ई वेस्टेज



Electronic_Waste_1
सहरी फोहोरको गन्धको व्यथा भनिनसक्नु छ । घरआँगनको फोहोर उठाउने कार्य त समय–समयमा अवरोध हुने अवस्थामा सरकारले विद्युतीय फोहोर (ई वेस्टेज) बाट निस्कने गन्धजस्तो गहन विषयमा ध्यान देला भनी आशा कमैले गरेका होलान् । यसले मानव शरीरमा पुर्‍याउन सक्ने हानि अकल्पनीय छ । यसमा अहिलेदेखि विचार पुर्‍याउन सकिएन भने भयानक रूप लिनसक्छ । ‘जब पर्‍यो राती अनि बूढी ताँती’ भनेको जस्तै जब ई वेस्टेजले भयानक रूप लिन थाल्छ तब अनुदानको खोजी र त्यसमा पनि हिनामिना आरम्भ हुन्छ ।

विगत लामो समयदेखि प्रविधिको क्षेत्रमा चमत्कार भएको सबैले महसुस गरेकै छन् । मोबाइल फोनकै कुरा गर्दा पनि अचेल प्राय: मान्छेको हातमा २ वटा मोबाइल फोन देखिन्छ । एउटा ल्यापटप, कानमा लाउने ब्लुटुथ उपकरण र नयाँ–नयाँ इलेक्ट्रोनिक्स । अहिलेको समय र केहीअघिको अवस्था तुलना गर्दा चमत्कार जस्तो लाग्छ । संसार प्रविधिमय भएको महसुस हुन्छ । पहिले मोबाइल फोन बोक्नेहरू ठूला दर्जाका लाग्थे । अहिले हरेक वर्ग र उमेरका व्यक्तिसँग मोबाइल छ । अब त हातमा घडी लगाउनु पनि पर्दैन, घरको भित्तामा क्यालेन्डर झुण्ड्याउनु पनि पर्दैन । कुनै पनि कुराको जानकारी लिनु परेमा यताउता भौतारिइरहनु पनि पर्दैन । यस्ता काम मोबाइलले नै गरिदिन्छ । प्रकृतिले नै जीवको जन्म–मृत्यु निश्चित गरिदिएको हुन्छ भनेजस्तै कृत्रिम वस्तुको पनि जीवन सधै एकैनासको हुँदैन । यहाँ कृत्रिम वस्तुहरु भन्नाले प्राविधिक उपकरणलाई लिन खोजिएको हो ।

विशेष गरेर त्यसका ३ पक्ष छन् । बिग्रने–नबिग्रिने, पुरानो भर्जनलाई नयाँमा रूपान्तरित गर्ने वा त्यसको आवश्यकता नभएका खण्डमा कुनै अर्को प्रविधिसँग गाँसेर नयाँ आयाम दिने । दैनिक उपयोगमा आउने तर काम नलाग्ने अवस्थामा पुगेका विद्युतीय उपकरण थुप्रै हुन्छन् । इलेक्ट्रिकल उपकरणहरू र तिनमा रहेका कम्पोनेन्टलाई नचलाई राखेको वा अनावश्यकरूपमै चलाइराखेको अवस्थामा विद्युत् खपत भइरहेको हुन्छ । साथै, त्यसले फाल्ने रेडियो सिग्नलले अरु उपकरणलाई हानी गर्ने अवस्था नआउला भन्न सकिन्न । विद्युतीय उपकरण चलिरहेको तर प्रयोग नभइरहेको अवस्थामा त्यसमा खर्चेको इनर्जी खेर गइरहनुको अवस्थालाई ‘ई वेस्टेज’ भनिन्छ । सामान्य भाषामा यसलाई विद्युतीय फोहोर पनि भनिन्छ । यस्ता फोहोर बिजुली तथा विद्युतीय उपकरणको दुरूपयोग वा बेवास्ताबाट उत्पादन भएको देखिन्छ । पुन:प्रयोग, रिसाइक्लिङ वा अपडेट गर्न नमिल्ने विद्युतीय उपकरण नै ‘ई वेस्ट’ हो ।

जतिजति विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ त्यति नै मात्रामा यसको दुरूपयोग पनि बढेको छ । पुराना मोडलका उपकरण जसलाई कुनै पनि प्रकारले पुन: प्रयोग गर्ने मिल्दैन, तिनलाई त्यतिकै राखिएकै हुन्छ । त्यस्तो अवस्थामा पनि तिनले सिग्नल छोडी नै रहन्छन् । उपकरण निर्माताहरूको लापरबाहीले त ऊर्जा उपयोग झनै बढिरहेको हुन्छ । विद्युतीय कम्पोनेन्टहरूबाट वातावरणमा असर पर्नुका साथै विद्युतीय प्रदूषणसमेत भइरहेको हुन्छ । घरबाट निस्कने फोहोरको जिम्मा त नगरपालिकाले लिन्छ र व्यवस्थित तवरले रिसाइकल पनि गर्छ । तर ई वेस्टेजलाई कसरी व्यवस्थापन गर्ने र यसको जिम्मा कसले लिने ? यसबारे सरकार आजका मितिसम्म मौन छ । ई वेस्टेजलाई व्यवस्थित गर्नेबारे सरकारले कुनै नीतिनियम तयार पार्न सकेको छैन ।
अहिले नै ई वेस्टेजले नेपालमा जटिल समस्या निम्त्याएको छैन तर निकट भविष्यमा यस्तो समस्या पक्कै देखिने छ । त्यसकारण पनि यसबारे आजैदेखि सरकार गम्भीर बन्नु जरुरी छ । एउटा साधारण डेस्कटप कम्प्युटरका कतिपय कम्पोनेन्ट जथाभावी हातले चलाउँदा शरीरमा असर गर्नसक्छ ।

वैज्ञानिकहरूले त यसबाट क्यान्सरसमेत हुनसक्ने बताइसकेका छन् । कतिपय मुलुकमा ई वेस्टेजसम्बन्धी विभिन्न अनुसन्धान भइरहेका छन् । कतिपय ठूला कम्पनीले पुराना विद्युतीय उपकरणको पुन: प्रयोग, रिसाइकल वा अरु कुनै उपकरणसँग जोडेर प्रयोगमा ल्याउन जोड दिइरहेका छन् । नेपालमा ई वेस्टेज व्यवस्थापन गर्ने कुनै ठाउँ जुटाउन मुश्किल छ । अहिले नेपालमा मोबाइल तथा इन्टरनेटमा जनताको पहुँच तीव्र हुँदै गएको छ । त्यसकारण पनि यसबाट उत्पादन हुने फोहोर व्यवस्थापनसम्बन्धी नीतिनियम बनाउनु अपरिहार्य भइसकेको छ । यसका केही उपाय छन् । सबैभन्दा पहिले जति पनि संघसंस्था छन् तिनले प्रयोग गरिरहेको विद्युतीय उपकरणको सही तथ्यांक निकाल्नुपर्छ । त्यसपछि ती संघसंस्थालाई ई वेस्टेज व्यवस्थापन कसरी गर्ने भन्नेबारे जानकारी दिनुपर्छ । त्यसका निम्ति पनि सरकारी नीतिनियम बन्नु जरुरी छ ।

अन्य मुलुकले ई वेस्टेज व्यवस्थापन कसरी गरिरहेका छन् त्यसको विश्लेषण गर्नु जरुरी छ । त्यसपछि विभिन्न ‘स्टेकहोल्डर’ देखि लिएर विद्युतीय उपकरण निर्माता कम्पनी, उपभोक्ता, वितरक, बिक्रेता लगायतसँग छलफल गरी नीतिनियम कार्यान्वयन गर्न सुरु गरिहाल्नुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्ससम्बन्धी सामग्रीको वर्ग छुट्याउने काम गर्नुपर्छ । जसले गर्दा ई वेस्टेज मापदण्डअनुसार व्यवस्थापन गर्न मद्दत पुग्छ । संस्थागत नीति पनि बन्नुपर्छ । कतिपय पुराना सामग्री हटाएर नयाँ राख्न एउटा निश्चित समयावधि तोक्नुपर्छ । प्रयोग नहुने सामग्रीलाई सुरक्षित तवरले कस्तो ठाउँमा, कसरी राख्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । सरकार विद्युतीय उपकरणबाट निस्कने फोहोर व्यवस्थापनमा गम्भीर बन्दै नीतिनियम निर्माणमा अविलम्ब अग्रसर हुनु जरुरी छ ।


क्लिकमान्डु